कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होटल आडैमा गैंडा

रमेशकुमार पौडेल

(चितवन) — साताअघि साथीहरूसँग सौराहा घुम्न गएका नारायणगढका राजेन्द्र पिया होटलमा बसेर खाजा खाँदै थिए । होटलबाहिर हल्लाखल्ला सुनियो । ‘गैंडा आडैमा रहेछ । मान्छेहरू नजिकै गएर फोटो खिच्दै थिए । हामी पनि धित मरुन्जेल गैंडा हेरेर फर्कियौं,’ पियाले भने । सौराहा जाने मुख्य कारण हात्ती चढेर गैंडा हेर्नु नै हो तर अचेल हात्ती चढेर जंगल नगए पनि होटल आडैमा गैंडा देख्न सकिन्छ ।

होटल आडैमा गैंडा

नवराज आचार्य मंसिर १७ मा तालिमका क्रममा सौराहामा थिए । दिउँसो तालिमबाट फुर्सद भएर होटलको कोठाबाहिर निस्कँदा उनले पनि हो हल्ला सुने । ‘गैंडा त हाम्रै होटलको आडमा रहेछ । मान्छेहरू फोटो खिच्न झुम्मिएका थिए ।’ धेरैजनाले गैंडा नजिकै गएर फोटो खिचिरहेका थिए । नवराजलाई त्यसो गर्न अलि डर लाग्यो । डराउनु स्वाभाविक पनि हो किनकि गैंडा रिसायो र आक्रमण गर्‍यो भने ज्यानै जान्छ ।


क्षेत्रीय होटल संघ सौराहाको कार्यालय आडैमा छ हरिहर सैंजुको एक बिघा जमिन । अघिल्ला वर्षमा उनको खेतमा यो बेला पहेंलपुर भएर तोरी फुलेको हुन्थ्यो तर यो वर्ष खेत बाँझै छ । जंगलमा भन्दा सौराहाको सडक र खेत डुल्न रुचाउने एउटा गैंडा उनको खेतमै आएर बस्छ । ‘खेतमा गैंडा देखेपछि फोटो खिचाउन मान्छे ओइरिने भए । गैंडाले नखाएको खेती मान्छेले माडेर नोक्सान गर्छन्,’ सैंजुले भने । सौराहा क्षेत्रमा एउटा ठूलो र एउटा सानो गैंडा बस्ती र खेतमा डुलिरहेका भेटिन्छन् ।


एक डेढ वर्षयता ती गैंडा जंगलमा भन्दा गाउँ र बजारमै बस्न थालेका छन् । सौराहा घुम्न आउने नौला मान्छेहरू जंगल नजाँदै बजारमै गैंडा देख्दा रमाउने नै भए तर स्थानीयलाई खेती नोक्सान भएर हैरानी बेहोर्नुपरेको छ । संरक्षणकर्मीहरू कुनै दुर्घटना भएर मान्छे वा गैंडालाई केही पो हुने हो कि भनेर चिन्तित छन् । बजार, बस्ती वा खेत डुले पनि यी जंगली नै हुन् ।


‘मान्छेहरूले होटल आडमा देखेपछि घरपालुवा झैं मानेर नजिक जाने, जिस्कने गरेका छन् । यो चिन्ताको विषय हो’ वन्यजन्तुको उद्धार र अनुसन्धानमा सक्रिय संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका प्रमुख रामकुमार अर्यालले भने । गत वर्ष केही युवा गैंडामाथि नै चढेर खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल भयो । निकुञ्जले उनीहरूलाई कारबाही गर्‍यो ।


बजार डुल्ने दुवै गैंडा भाले हुन् । एउटा सात आठ वर्ष जतिको छ । अर्को चार पाँच वर्षको हो । सानो गैंडा बाढीमा बगेर त्रिवेणी पुगेको थियो । तीन वर्षअघि उद्धार गरेर निकुञ्जले सौराहा नजिक जंगलमा छाडेको थियो । ‘सायद अर्को कुनै ठूलो भाले गैंडाले त्यसलाई जंगलमा बस्न दिएन । शरीरमा चोट पनि छ । त्यो अर्को गैंडाले हानेर भएको चोट हो । त्यसपछि बस्ती आएको हो,’ राष्ट्रिय प्रकृति संरक्षण कोषका अर्यालले भने ।


त्यस्तै बस्तीमा देखिने अर्को गैंडा पहिला जंगल जंगल डुल्थ्यो । अहिले बस्तीमा कलिलो र मीठो घाँस गहुँ, आलु खान पाउने भएका कारण जंगल नगएर गाउँ डुल्न थालेको अर्यालको अनुमान छ ।

प्रकाशित : मंसिर ३०, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?