कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डाँडापारिका ‘दु:ख’ घट्दै

सबै वडामा सडक सञ्जाल
गाउँमा नै नागरिकता 
सञ्चार सुविधा विस्तार हुँदै
नगेन्द्र अधिकारी

(महाभारत, काभ्रे) — डाँडापारि क्षेत्रको महाभारत–८ घर्तीछापका रत्नबहादुर रानालाई नुन लिन तीन/चार दिन लगाएर बनेपा र दाप्चा पुगेको हिजोअस्ति जस्तो लाग्छ । दाउरासहित खानेकुरासमेत बोकेर एकरात बीचमै बास बसेका ती दिन उनी अझै सम्झन्छन् । अहिले दिन फेरिए । उनको घरआँगनबाटै बस चल्छ ।

डाँडापारिका ‘दु:ख’ घट्दै

चार घन्टामा बनेपा पुगेर काम सकीवरी फर्कन भ्याउँछन् । ‘दु:खका दिन सपनाजस्तै लाग्छ । अहिले निकै सजिलो भयो, एकैदिनमा बनेपा–काठमाडौं पुगिने भइयो,’ विगत सम्झँदै रत्नबहादुर भन्छन्, ‘बनेपापछिको ठूलो बजार दाप्चा थियो । तीन/चार दिन लगाएर जान्थ्यौं ।’


विकट मानिने डाँडापारिका बासिन्दा घर्तीछापबाट महादेवटार र पल्लो महादेवटारको पैदल बाटो हिँड्दै दाप्चा र बनेपा पुगेर नुन, तेल र लत्ताकपडाको जोहो गर्थे । डेढ वर्षअघि डाँडालाई सडकले जोडेपछि उनीहरूको दिनचर्या सहज भएको हो । महाभारतका सबै वडामा सडक सञ्जाल जोडिएपछि बनेपाबाट दैनिक बस ओहोरदोहोर गर्छन् । मंगलटार च्युरीबास हुँदै वाल्टिङ डाँडाखर्कबाट चारकिल्ला हुँदै फोक्सिङटार, चौकीडाँडा–सिसाखानी–सिपाली र बूढाखानी हुँदै फोक्सिङार–घर्तीछाप–गोकुले र मंगलटार–जुगेपानीबाट सिन्धुलीको रामपुर हुँदै बनखु–घर्तीछाप गोकुले रुटमा दैनिक यातायात सञ्चालन भइरहेको छ । फोक्सिङटारका वीरमान लामा धुलेसडक नै भए पनि बस चल्न थालेपछि जीवनयापन सहज भएको बताउँछन् । ‘निकै सुविस्ता भएको छ, पहिला माइकलले गाउँमा स्कुल बनाउँदा दाप्चादेखि तीन/चार दिन लगाएर सामान बोकेर ल्याएका थियौं,’ उनले भने, ‘अहिले बाटोले हाम्रो जुनी फेरिदियो । हुनसम्म सजिलो भएको छ ।’


गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा सबै वडामा सडक पुगेपछि अब स्तरोन्नतिलाई प्राथमिकता दिने बताउँछन् । ‘अब जुनसुकै मौसममा पनि अवरुद्ध नहुने सडक बनाउने हाम्रो अभियान हो,’ उनले भने, ‘मंगलटार–चारकिल्ला–खोलाघारी–बनखु–घर्तीछाप–गोकुले हुँदै मकवानपुरको भोर्लेनी जोड्ने सडक कालोपत्रे गर्ने गरी डीपीआर भइरहेको छ ।’ विकट भएकै कारण गत आर्थिक वर्षमा प्रदेश ३ सरकारबाट विशेष अनुदान पाँच करोड पाएको महाभारतले गाउँपालिकाका आन्तरिक सडक स्तरोन्नतिका लागि बजेट छुट्याएको छ । सबै वडा सडक सञ्जालमा जोडिए पनि २ नम्बर वडाबाट सिधै गाउँपालिका केन्द्र आउने सडक नै सय मिटर चट्टानका कारण दुईतर्फी हुन पाएको छैन । सडक विस्तार भए पनि गाडी हिउँदमा मात्रै चल्छन् । भीमखोरी, बूढाखानी, सिपाली र ताराखसे लेक हुँदै जाने बाटो पहिरो र बाढीले अवरुद्ध हुने गरेका छन् । ट्र्याक मात्र खोलेर यातायात सञ्चालन गरिएका ती सडकमा यात्रा गर्न अरू मौसममा पनि जोखिमपूर्ण छ ।


जिल्लाको अर्को विकट मानिने खानीखोला गाउँपालिकामा पनि हालैबाट सिधा बस सञ्चालन भएको छ । ०५४ सालदेखि निर्माण सुरु भएको खोपासी–कामीडाँडाबाट स्याउरेथली हुँदै डाँडागाउँबाट जोड्ने तालढुंगा सडक पटक–पटकको बजेटबाट स्तरोन्नति भएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा ०५४ सालबाट सञ्चालित ग्रामीण पूर्वाधार विकास कार्यक्रमले ०६४ सम्ममा २२ किमि सडक बनाएपछि तत्कालीन जिल्ला विकास समितिलाई हस्तान्तरण गरिएको भए पनि कोत्रेभीरको पहरा फुटाउन कठिन भएकाले सडक दुईतर्फी हुन सकेको थिएन । जिल्ला हुँदै नियमित बस सेवा सञ्चालन हुने अवस्था नभएपछि यहाँका स्थानीय ललितपुर, काठमाडौं, भक्तपुर जिल्ला फन्को लगाएर मात्रै धुलिखेल पुग्न सक्थे । खानी खोलाको तालढुंगाबाट ललितपुरको ग्रामीण बस्ती वाग्मती र महांकाल गाउँपालिकाबाट कान्ति लोकपथ हुँदै चापागाउँ निस्केर भक्तपुर हुँदै काभ्रे आउनुपर्ने बाध्यता थियो ।


खानीखोलाको वडा नं ६ साल्धाराको केन्द्रसम्म मात्रै नपुगे पनि बाँकी ६ वटा वडामा सडक सञ्जाल पुगिसकेको छ । ७ नं वडा मिल्चको केन्द्रमा मोटरबाटो पुगे पनि महांकाल गाउँपालिका हुँदै खानीखोला गाउँपालिकाको केन्द्र पुग्नुपर्ने अवस्था छ । अध्यक्ष कृष्णबहादुर खुलाल गाउँपालिका छिट्टै सबै वडा सडक सञ्जालमा जोडिने बताउँछन् । ‘वडा र गाउँपालिकाका केन्द्र जोड्ने सडक केही समयमा नै सम्पन्न हुन्छन्,’ उनले भने, ‘जिल्ला सदरमुकाम जोड्ने खोपासी–तालढुंगा सडक स्तरोन्नति गरी १२ महिना नै चल्ने बनाउँछौं ।’ उनका अनुसार सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट चार करोड विनियोजन भएको छ । ‘अप्ठ्यारो रहेको कोप्रेभीरमा आवश्यक संरचना निर्माण गरेर सबै मौससमा गाडी चल्ने बनाउँछौं,’ उनले भने ।


सडकको दुरवस्थाका कारण भक्तपुर, काठमाडौं, ललितपुर हुँदै तीन जिल्लाको फन्को लगाएर १२ घन्टामा गाउँपालिकाको केन्द्र तालढुंगा पुग्ने गरेको भए पनि बर्सातमा त्यो पनि सम्भव छैन । कान्ति लोकपथअन्तर्गत भट्टेडाँडा क्षेत्रमा पहिरो खसेसँगै पटकपटक यातायात अवरुद्ध हुने गरेको छ । ललितपुरको ठूलादुर्लुङ खोलामा आउने बाढीका कारण यातायात चल्दैनन् । नियमित ओहोरदोहोर गर्नेहरू काठमाडौं–कुलेखानी हुँदै हेटौंडा पुगेर भोर्लेनीबाट पनि तालढुंगा आउने गरेका छन् ।


बाटो पुगेपछि विद्यालय पुनर्निर्माण

महाभारत गाउँपालिकाका सबै वडामा मोटरबाटो पुगेपछि विद्यालय पुनर्निर्माणले गति लिएको छ । यातायातको पहुँचले पुनर्निर्माणलाई तीव्रता दिन मद्दत मिलेको हो । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इन्जिनियर शोभित श्रेष्ठका अनुसार महाभारतका ४९ मध्ये पुनर्निर्माण भइरहेका ३६ विद्यालयका ४८ भवनमध्ये ३२ वटा सम्पन्न भइसकेका छन । पाँचवटा तयार हुने अवस्थामा छन् । ‘भूकम्प गएको सुरुको वर्षदेखि नै महाभारतमा विद्यालय पुनर्निर्माण सुरु गरेका हौं, त्यो बेला ८ घन्टासम्म सामान बोकाएर निर्माण गर्‍यौं,’ इन्जिनियर श्रेष्ठले भने, ‘अहिले सबै वडामा मोटरबाटो पुगेपछि सहज भएको छ ।’


४४ विद्यालय भवन व्यवस्थापन समितिमार्फत र ग्रामोन्नति मावि एसियाली विकास बैंकको ऋण अनुदानमा नेपाल सरकारमार्फत निर्माण भइरहेका छन् । गोकुलेस्थित भैरव मावि भारतीय दूतावासको सहयोगमा निर्माण सम्झौता भई कम्पनी छनोटको चरणमा छ । तीबाहेक कम क्षति भएका विद्यालयमा मर्मत गरी शिक्षण सिकाइ क्रियाकलाप सुरु भएको इकाइले जनाएको छ । इकाइमार्फत महाभारतमा विद्यालय पुनर्निर्माणका लागि १७ करोड ६४ लाख रुपैयाँ विनियोजन भएकामा १२ करोड ३७ लाख खर्च भइसकेको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बाटो नभएका कारण केही विद्यालय बनाउन नसकिएको स्विकार्दै ती समस्या विस्तारै समाधान भएको तर्क गरे । ‘सबै वडामा मोटरबाटो नपुग्दा विद्यालय पुनर्निर्माण हुन सकेका थिएनन्, भए पनि ढिला भए,’ उनले भने, ‘अब ढुवानी गर्न सहज भएको छ ।’


गाउँमै नागरिकता

नागरिकता लिनकै लागि कम्तीमा तीन दिन खर्च गर्नुपर्ने डाँडापारिवासी गाउँमै सेवा सुरु भएपछि लाभान्वित भएका छन् । बनखुचौरमा ०७५ जेठ ९ बाट इलाका प्रशासन कार्यालय स्थापना भएपछि स्थानीयले सहज महसुस गरेका हुन् । बूढाखानीका खिल ठाडामगरले मगरले गाउँमा नै सेवा पाएपछि सहज भएको बताए । इलाका प्रशासन कार्यालय प्रमुख राममणि काफ्ले दैनिक १०–१५ जना सेवाग्राही नागरिकताका लागि आउने गरेको बताउँछन् । उक्त कार्यालयबाट नागरिकता जारी, राहदानी सिफारिस, प्रमाणित र नाबालिक प्रमाणपत्र जारी हुन्छ ।


प्रमुख काफ्लेले नागरिकता जारी भए पनि फोटोसहितको मतदाता परिचयपत्र बनाउने सेवा भने अझै सुरु नभएको बताए । काफ्लेका अनुसार महाभारतका आठमध्ये सातवटा वडामा सचिव छैनन् । गाउँपालिकामा कार्यरत अधिकृत रेवती निरौलाले नै आवश्यक कागजपत्र तयार गरिदिने गरेका छन् । इलाका प्रशासन कार्यालयमा पनि स्थायी कर्मचारी एकजना मात्रै कार्यरत छन् । तीनजना करारमा छन् ।


०६९ मंसिर ९ को मन्त्रिपरिषद् बैठकले डाँडापारिको घर्तीछापमा साबिक घर्तीछाप, बनखुचौर, फोक्सिङटार, गोकुले, बूढाखानी, साल्मेचाकल, साल्धारा, फलामेटार, डाँडागाउँ र मिल्चे कार्यक्षेत्र तोकेर इलाका प्रशासन कार्यालय स्थापनाको निर्णय गरेको थियो । दरबन्दी कायम भएर बजेट छुटिए पनि कर्मचारी नगएका कारण सञ्चालनमा आउन सकेको थिएन । अपायक भएको भन्दै ०७५ वैशाख २४ मा मन्त्रिपरिषद्ले महाभारतका लागि बनखुमा इलाका प्रशासन कार्यालय राख्ने निर्णय गरेको थियो । खानीखोला र महाभारत गाउँपालिकामा सञ्चारको सुविधा पनि विस्तार भएको छ । दुवै गाउँपालिकाका विभिन्न स्थानमा मोबाइल टावर राखेपछि डाँडापारिमा मोबाइल फोन सेवा सुरु भएको छ ।

प्रकाशित : मंसिर २९, २०७६ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?