कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै कन्दमूलले प्राण धान्छन् चेपाङ

प्रताप विष्ट

(काँकडा, मकवानपुर) — मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ गाउँपालिका–७ धिराङस्थित भीमबहादुर चेपाङको परिवार वर्ष दिनमा नौ महिना जंगली कन्दमूलको भर पर्छ । उनको घरमा हिजोआज मकै, कोदो, चामललगायत खाद्यान्न छैन । ‘तिहार पर्व सकेलगत्तै खानेकुरा सकिएकाले जंगली कन्दमूलले प्राण धानिरहेका छौं,’ भीमबहादुरले भने, ‘तल्लो गाउँतिर कहिलेकाहीँ ज्यालामा काम गर्न पाइन्छ, काम पाएका बेलामा पिठो किनेर ल्याइन्छ ।’ 

अझै कन्दमूलले प्राण धान्छन् चेपाङ

यस क्षेत्रमा दिनभर काम गरेबापत चेपाङहरू सय रुपैयाँदेखि दुई सय रुपैयाँसम्म मात्र पाउँछन् । बिहानदेखि पसिना चुहाएर काम गरे पनि निकै कम ज्याला पाउने गरेको भीमबहादुरका २० वर्षीय छोरा श्यामले भने । ‘पाएको काम नगरे मुख फेर्न पाइँदैन, गर्‍यो त्यति ज्यालाले के गर्नु ? उनले निराशा पोखे । खाद्यान्न अभावले जंगली कन्दमूल खान बाध्य चेपाङहरू साहुले जति भन्यो त्यतिमै काम गर्न बाध्य छन् ।


ज्याला–मजदुरी नगरेका बेलामा बिहान–बेलुका उनीहरू गिठ्ठाभ्यागुर उसिनेर खाने गर्छन् । भीमबहादुरकी पत्नी विनुमायाले ११ सन्तान जन्माएकी थिइन् । तीमध्ये नौजना अझै छन् । दुई छोरा अलग बसेका छन् भने छोरीको बिहे भइसकेको छ । ६ जना छोराबुहारी, नातिनातिना गरेर भीमबहादुरको फुसको छाप्रोमा १८ जना बस्छन् । जाडो महिनामा आगो बालेर अँगेनाको चारैतिर उनीहरू सुत्छन् । ‘चेपाङको घरमा कोठा हुँदैन,’ भीमवहादुरले भने, ‘जाडोमा मुढा बालेर सुत्यो, गर्मीमा त जता लडे पनि भइगयो ।’

विनुमायाको १२ वर्षमा विवाह भएको हो । १४ वर्षको उमेरमा पहिलो छोरी जन्माइन् । तर, पाँच महिनामै झाडावान्ता भएर उनको मृत्यु भयो । जिल्लाको अत्यन्त विकट उक्त बस्तीमा सबैभन्दा ठूलो परिवार भीमबहादुरकै हो । यो परिवारको नाममा एक धुर जमिन छैन । गिठ्ठा तास्दै विनुमायाले चेपाङ भाषामा भनिन्, ‘ङि गरिब लेह’ (हामी गरिब छौं) ।


रामकुमार चेपाङ परिवारको हालत पनि उस्तै छ । भूकम्पले घर भत्काएपछि उनको परिवार गाउँकै शंखरे ओडारमा बसेको थियो । पछि सञ्चारकर्मीहरूको सहयोगमा छाप्रो बनाएर उनी ओडारबाट सरे । सात जनाको परिवार रहेको रामकुमारको घरभित्रको एउटा कुनामा गिठ्ठा र भ्यागुर थुपारेर राखिएको छ । ‘हाम्रो खानेकुरा नै यही हो,’ उनले भने, ‘जंगलमा गिठ्ठा भ्यागुर पाउन छोड्यो भने हामी भोकभोकै मर्छौं । भगवान्ले हाम्रै लागि गिठ्ठा फलाइदिनुभएको छ ।’


पूर्वपश्चिम राजमार्गको लोथर बजारबाट ९ घन्टा हिँडेर पुगिने धिराङका अधिकांश बासिन्दाको बाँच्ने आधार नै जंगली कन्दमूल हो । हिउँदमा गर्लिङसम्म हलुका सवारीसाधन चल्छन् । त्यहाँबाट धिराङ पुग्न साढे २ घन्टा हिँड्नुपर्छ । उनीहरूको खोरियामा कोदो र मकै त फल्छ तर मुस्किलले तीन महिना पनि खान पुग्दैन । धिराङ आधारभूत विद्यालयका प्रधानाध्यापक बाबुलाल तामाङ भन्छन्, ‘६ महिना पनि आफ्नो उत्पादनले खान पुग्ने एक परिवार पनि यहाँ छैन ।’


खाद्यान्न अभावले पहिले यस क्षेत्रका बालबालिका पढ्न जाँदैनथे । गाउँका अगुवा र शिक्षकको करबलले चेपाङ समुदायका बालबालिका भर्ना हुने गरे पनि उनीहरू बीचमै छाडिदिन्थे । अहिले भने सुधार देखिएको छ । गिठ्ठा खोज्न अभिभावकमात्र जान्छन्, छोराछारीलाई स्कुल पठाउँछन् । स्कुलमा दिवाखाजाको व्यवस्था गरिएपछि उनीहरूमा स्कुलप्रतिको आकर्षण बढेको प्रधानाध्यापक तामाङले बताए । दिगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी संस्थाले ६ वर्षदेखि उक्त स्कुलमा दिवाखाजाको व्यवस्था गरेको छ ।


धिराङ क्षेत्रमा सय घरधुरीभन्दा बढी चेपाङ समुदायको बसोबास छ । उक्त गाउँपालिकामा करिब एक हजार पाँच सय चेपाङ समुदायको घरधुरी छ । ‘अधिकांश चेपाङहरूमा खाद्यान्नको समस्या छ,’ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने, ‘भिरालो जमिनमा बसोबास छ, खोरियामा खेती गर्छन्,’ उनले भने, ‘त्यही कारण दुरदराजका चेपाङलाई विकासको मूलधारमा ल्याउन समस्या परेको हो ।’ गाउँपालिकाले उनीहरूको जीवनस्तर उकास्न दुर्गममा मोटरबाटो पुर्‍याउने, छोराछोरीलाई पढ्ने वातावरण सिर्जना गर्ने र सीपमूलक तालिम दिएर आयआर्जन गर्न लगाउनेतर्फ गाउँपालिकाको ध्यान केन्द्रित रहेको अध्यक्ष मल्लले बताए । कैलाश गाउँपालिकामा बस्ने चेपाङहरूको अवस्था पनि राक्सिराङ, धिराङका चेपाङको भन्दा भिन्न छैन । उनीहरू कुनै पनि राजनीतिक परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । ‘चेपाङ समुदायको उत्थानका लागि हामीले केही योजना बनाएका छौं,’ कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मोक्तानले भने ।


०६८ को जनगणनाअनुसार मुलुकभर चेपाङको संख्या ६८ हजार ३ सय ९९ छ । चेपाङ अगुवाका अनुसार कुल जनसंख्याको ८० प्रतिशतसँग लालपुर्जा छैन । ६ पुस्तादेखि पुर्जा नपाउनेहरू छन् । चेपाङको बढी बसोबास चितवन, मकवानपुर, धादिङ, गोरखा र तनहुँमा छ । पूर्व संविधानसभा सदस्य गोविन्दराम चेपाङका अनुसार कुल जनसंख्यामा वर्ष दिनसम्म खान पुग्ने चेपाङ सात प्रतिशत छन् । नौ महिना पुग्ने २५ प्रतिशत, ६ महिना पुग्ने ४० र तीन महिना मात्र खान पुग्ने चेपाङ २८ प्रतिशत छन् ।


प्रकाशित : मंसिर २८, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?