कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकमा माग्न नपाइने

काठमाडौँ — काठमाडौंका सडकमा अब भिक्षा माग्न नपाइने भएको छ । काठमाडौं महानगरपालिको मंगलबार सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो । सार्वजनिक स्थानमा हातखुट्टा भाँचिएका, बेसहारा, मिर्गौलापीडित, दृष्टिविहीनलगायतले पैदलयात्रुसँग पैसा मागेर दु:ख दिने गरेका थिए । 

बाध्यता तथा पेसा बनाई भिक्षा माग्न बस्नेहरूलाई हट्न लगाउने र अटेर गरे कारबाही गर्ने महानगरपालिकाले जनाएको छ । तीनदिने सूचनाको म्याद सकिएपछि पहिलो चरणमा सडकमा रहेका बेवारिसे, मनोरोगी तथा असहायको उद्धार गरी बालाजुस्थित स्क्रिनिङ सेन्टरमा लैजाने र तथ्यांक सकंलन गर्ने महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले बताए ।


‘सेन्टरमा लागि त्यस्ता व्यक्तिहरूको पालनपोषण, औषधोपचार गर्ने र घर पहिचान भएकालाई परिवारमा पुनर्मिलन गराइनेछ,’ उनले भने, ‘त्यसपश्चात् आर्थिक अवस्था कमजोर भएका तर विभिन्न रोगबाट पीडितको उपचारसहित आधारभूत आवश्यकता पूरा गरिनेछ ।’ सडकमा बेसहारा अवस्थामा बालबालिका भेटिएमा उनीहरूलाई नि:शुल्क खानाबस्न तथा शिक्षाको व्यवस्था गर्ने महानगरपालिकाले जनाएको छ । मुलुकी अपराध संहिता २०७४ ले सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालय परिसर र सार्वजनिक सवारीसाधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने व्यवस्था गरेको छ ।


यसरी माग्नेलाई दुई महिनासम्म कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान छ । महानगरपालिकाले २५औं महानगर दिवसको अवसरमा मंसिर २९ गते ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा गर्ने तयारी गरेको छ ।


प्रकाशित : मंसिर २५, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?