कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नदीजन्य उत्खनन्‌का लागि सीमाविवाद

कान्तिपुर संवाददाता

हेटौंडा — मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने दुई गाउँपालिका मनहरी र राक्सिराङबीच नदीजन्य उत्खनन्का लागि सीमाविवाद चुलिएको छ । मनहरी–८ र राक्सिराङ–५ मा पर्ने मनहरी खोलामा सीमाविवाद भएको हो । विवाद सामधान गर्न समिति गठन गरिएको छ । 

डिभिजन वन कार्यालय राप्तीका प्रमुख दीर्घनारायण कोइरालाको संयोजकत्वमा ७ सदस्यीय समिति गरेको हो । सदस्यहरूमा सम्बन्धित वडाका वडाअध्यक्षहरू, जिल्ला समन्वय समितिका प्राविधिक, नापी कार्यालयका नापी अधिकृत, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि र मालपोत कार्यालयका प्रतिनिधि रहेका छन् । समितिलाई पुस १५ गतेसम्मको समयावधि दिइएको छ ।


पुस १५ गतेसम्म दुवै गाउँपालिका अध्यक्षसँग समन्वयमा आवश्यक विधि प्रयोग गरी सीमासम्बन्धी प्रतिवेदन तयार पारेर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालसमक्ष पेस गर्ने गरी समितिलाई जिम्मेवारी दिइएको छ । अघिल्लो वर्ष दुई पालिकाको सिमानामा पर्ने मनहरी खोलामा आपसी सहमतिका आधारमा मनहरीले राजस्व संकलन गर्ने र राक्सिराङलाई उत्खनन्को सेफ्टीको ३ रुपैयाँ दिने र ६ रुपैयाँ आफू राख्ने सहमति गरिएको थियो । तर, यो वर्ष उक्त खोलामा राक्सिराङले वातावरणीय परीक्षण आइई गरी टेन्डर लगाउने भएपछि दुई पालिकाबीचमा विवाद भएको हो ।


प्रकाशित : मंसिर २४, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौँमा आज बिजोर नम्बरका सवारी सञ्चालनमा रोक

रासस

काठमाडौँ — १३ औं दक्षिण एशियाली खेलकूद (साग) को समापनको दिन आज (मंगलबार) काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ । यसअघि साग उद्घाटनका दिन जोर नम्बर प्लेटका गाडी चलाउन रोक लगाइएको थियो ।

सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीले बाहेक अन्यले आज सकेसम्म सवारी नचलाई प्रहरीलाई सहयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । महाशाखाले एक सूचना जारी गरी सागको ट्राफिक व्यवस्थापनलाई चुस्त र सुरक्षित बनाउन ठूला मालवाहक सवारी साधन रिङ्रोडभित्र प्रवेश नगरिदिन चालकलाई अनुरोधसमेत गरेको छ ।

महाशाखाले दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न, पुराना सवारीसाधन नचलाउन, तोकिएको ठाउँमा पार्किङ गर्न, ट्राफिकसम्बन्धी समस्या भएमा प्रहरीको हटलाइन नं १०३ मा सम्पर्क गर्न र ट्राफिक नियम पालना गर्न सूचनामार्फत सर्वसाधारणलाई अपिल गरेको छ । सूचनामा गाडीको हर्न नबजाउन तथा जथाभावी बाटो नकाट्नसमेत अनुरोध गरिएको छ ।

प्रकाशित : मंसिर २४, २०७६ ११:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×