कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अख्तियारले आतंक फैलाएको मुख्यमन्त्रीको आरोप

सुवास विडारी

मकवानपुर — प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियारका कारण अहिले देशव्यापी रुपमा आतंक मच्चिएको बताएका छन् ।

अख्तियारले आतंक फैलाएको मुख्यमन्त्रीको आरोप

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा हेटौंडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले अख्तियारले कर्मचारीलाई अनावश्यक दुःख दिएको कारण देशव्यापीरुपमा आतंक फैलिएको बताए । ‘कर्मचारीले अख्तियारका कारण कुनै पनि किसिमको जोखिम वहन गर्नै खोज्दैनन् । जसको प्रत्यक्ष असर विकास निर्माणदेखि सरकारी काममा समेत परेको छ ।’, पौडेलले भने, ‘जनताको आशा एउटा र अख्तियारको काम अर्को भइरहेको छ । समाज रुपान्तरण र समृद्धि मुलुक निर्माणमा यस्तो कामले बाधा पुग्छ ।’


अख्तियारमा आधारहिन उजुरी धेरै हुने गरेको बताउँदै उनले कसैले नाम नराखी उजुरी हालेकै भरमा आयोजना नै प्रभावित हुने गरी आदेश दिन नहुने धारणा राखे । मुख्यमन्त्री पौडेलले भ्रष्टाचारमा शून्य सहनशीलता प्रदेश सरकारको लक्ष्य रहेको बतए । सार्वजनिक पदमा रहेका व्यक्तिहरुले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्पलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने बताए ।


कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख शिवकुमार कार्कीले नेपालमा उजुरी कर्तालाई संरक्षण गर्ने कानुनी व्यवस्था नभएकाले उजुरीमा नाम उल्लेख गराउनुपर्ने बाध्यकारी व्यवस्था नरहेको बताए । जसको कारण बेनामे उजुरी पनि आउने गरेको स्वीकार्दै फर्जी उजुरीहरुलाई तुरुन्तै खारेज गर्ने गरेको प्रस्ट्याए ।


हेटौंडास्थित आयोगको कार्यालयको कार्यक्षेत्र ११ जिल्लामा रहेको छ । आयोगको हेटौंडा कार्यालयका अनुसार ११ जिल्लामध्ये सबैभन्दा बढी बारा जिल्लाबाट दुईसय ५५ ओटा, दोस्रोमा पर्सा जिल्लाबाट एकसय ६५ र तेस्रोमा मकवानपुरबाट एकसय ३६ वटा उजुरी आएको बताएको छ । प्रत्येक वर्षको अंग्रेजी महिनाको डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको छ ।

प्रकाशित : मंसिर २३, २०७६ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?