कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकता दिँदा सीडीओको 'शंका'

अनिश तिवारी

(सिन्धुपाल्चोक) — उचाइ साढे तीन फिट । चिटिक्क देखिने १८ र २१ वर्षका पुड्का दिदीबहिनी । क्रमशः १९ र २६ केजीका मनीषा र रिना श्रेष्ठलाई देख्ने जोकोही पनि सुरुमा एकछिन अडिन्छन् । ‘सानी’ दिदीबहिनी भन्नेबित्तिकै सबैले चिन्ने इन्द्रावती गाउँपालिका–८ सिपापोखरेका उनीहरूलाई अरूसरह उचाइ र तौल भइदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ । 

नागरिकता दिँदा सीडीओको 'शंका'

सामान्य काम गर्न पनि कठिन हुँदा केही व्यक्तिबाट अपमान र गिज्याइ सहनुपरेको उनीहरूको पीडा छ । नागरिकताका लागि पहिलोपटक जिल्ला प्रशासन कार्यालय चौतारा आइपुगेका दिदीबहिनीले होचो भएकाले खुबै समस्या बेहोर्नुपर्‍यो ।


ठूलोबुबा गणेशबहादुरले दुवैको नागरिकता लिनका लागि प्रशासकीय अधिकृतलाई सिफारिस बुझाए । नागरिकता लिनेवालाको खोजी भएसँगै दिदीबहिनी देखेर सबै अचम्ममा परे । साना उमेरका लाग्ने उनीहरूलाई अन्य सेवाग्राहीले पनि घेर्न थाले । एकैछिनमा फोटो, सेल्फी, भिडियो खिचेर सामाजिक सञ्जालनमा हाल्नेको भीडै लाग्न थाल्यो ।


प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारीसहित सबै चकित परेर सोध्न थाले, ‘नागरिकता लिने उमेर पुग्यो त, कति वर्ष भयौ नानीहरू ?’ नागरिकतासहित सनाखत गर्न आएका ठूलोबुबा गणेशबहादुरले सबै कागजात र प्रमाण देखाए । १८ र २१ वर्ष उमेर पुग्ने देखिएपछि नागरिकता लिनका लागि आवश्यक प्रक्रिया थालियो ।


‘अरूझैं सामान्य रूपमा जन्मिएपनि हुर्कंदा अन्य साथीको तुलनामा बढ्न नसकेकाले यस्तो भयो,’ गणेशबहादुरले भने, ‘उमेर, तौल र उचाइ कम देखिएपछि स्वास्थ्य परीक्षण गराए पनि दुवैमा केही समस्या देखिएन ।’ बुबा हस्तबहादुर र आमा मनकुमारीका तीन सन्तानमध्ये उनीहरूका दाजु भने सामान्य छन् । होचा भएका कारण दुवै दिदीबहिनीले अप्ठेरो बेहोर्नुपरेको छ । घरायसी कामकाज आफैंले गरूभन्दा उचाइले साथ नदिएको अनुभव छ । ‘खाना पकाउने बेलामा माथिल्लो दराज र र्‍याकमा राखिएका सामान झिक्न गाह्रो हुन्छ,’ रिनाले भनिन्, ‘ग्यास सिलिन्डर उचाल्ने, कपडा धुनेजस्ता काम गर्न गाह्रो हुन्छ ।’


होचा बेन्चमा पढाइ

यी दिदीबहिनीले ०७३ सालमा इन्द्रावतीको सिपापोखरेस्थित राजेश्वरी माविबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे । नागरिकता बनाउन ल्याएको सिफारिसमा राखिएको लब्धांकपत्रमा दिदी रिनाको जीपीए २.२५ छ भने बहिनी मनीषाको २.०५ छ । विद्यालयले उचाइअनुसारको छुट्टै होचा बेन्च र टेबुल बनाइदिएकाले सहज भएको उनीहरूको भनाइ छ ।


उनीहरूले पाटनढोकास्थित पाटन माध्यमिक विद्यालयबाट यसै वर्ष कक्षा १२ को परीक्षासमेत दिइसकेका छन् । ‘अहिले परीक्षा दिएर बसेका छौं, यहाँ पनि छुट्टै बेन्चमा सजिलो गरी पढ्न पायौं,’ रिना भन्छिन् । होचा र कम तौल भए पनि उनीहरू अरू सामान्य व्यक्तिको भन्दा निकै ठूलो र अग्लो रहर छ । उनीहरू भन्छन्, ‘पाएदेखि हामी हास्यव्यंग्य कलाकारिता गर्छौं, यो हाम्रो ठूलो रहर हो ।’


रुचि नै कलाकारिता गर्ने रहर बोकेका दिदीबहिनीका लागि अवसर आए पनि आर्थिक स्रोत बाधक बनेको दुवैले बताए । ‘मोडलिङको लागि अफर आयो, तर भिडियो सुटिङमा लगानी आफैंले गर्नुपर्छ भनेपछि सकेनौं,’ बहिनी मनीषाले सुनाइन् ।


इन्द्रावती गाउँपालिका प्रमुख र गाउँपालिका महासंघका महासचिव वंशलाल तामाङले होचा पुड्का संघ या अन्य कुनै प्रक्रियाबाट पाउने सुविधा, सहयोग दिलाउनेबारे पहलकदमी लिने बताए ।


प्रकाशित : मंसिर २३, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?