कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरतपुरले तय गर्‍यो सात गन्तव्य

चितवन — नेपाल भ्रमण वर्ष २०२० का लागि भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सात पर्यटकीय गन्तव्य तय गरेको छ । वर्ष दिनभरि गर्ने ३२ पर्यटकीय क्रियाकलापको विवरण पनि महानगरले सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्र विश्वप्रसिद्ध चितवन राष्ट्रिय निकुञ्जका साथै नारायणी र राप्ती नदी रहेका छन् । धार्मिक पर्यटकीय स्थल पनि प्रशस्तै छन् । 

महानगरपालिकाका पर्यटन विज्ञ विश्वराज सुवेदीका अनुसार छनोटमा परेका सात गन्तव्यमा मेघौली, पटिहानी, बिसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वर ब्लक, चौकी डाँडा र नारायणी नदी किनार क्षेत्र छन् । वन्यजन्तु अवलोकन, धार्मिक पर्यटन र पहाडी क्षेत्रको प्राकृतिक दृश्यावलोकनजस्ता विषय समेटेर पर्यटकीय गन्तव्य तय गरेको उनले बताए ।


मेघौली पटिहानी क्षेत्र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्यटकीय स्थल हो । बिसहाजरी ताल रामसार सूचीमा परेको अन्तर्राष्ट्रिय महत्त्वको सीमसार क्षेत्र हो । जहाँ चरा, जलचर र गैंडा देखिन्छन् । देवघाटधाम हिन्दुहरूको प्रख्यात पवित्र धार्मिक स्थल हो । त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटमा माघे संक्रान्ति नुहाउन लाखौं मानिस आउने गर्छन् । ज्ञानेश्वर ब्लक १० वटा सामुदायिक वनको समूह हो । भरतपुरदेखि सात किलोमिटर पश्चिम मंगलपुरदेखि सुरु हुने ज्ञानेश्वर ब्लकका सामुदायिक वन नारायणी नदीको किनारमा रहेका छन् । जहाँ दुर्लभ वन्यजन्तु गैंडा प्रशस्तै छन् । बाघ पनि ओहोरदोहोर गर्ने गर्छन् । भरतपुर महानगरपालिकाको पहाडी क्षेत्र कविलासमा चौकी डाँडा रहेको छ, जहाँबाट प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ ।


नारायणी नदी किनारमा पनि चहलपहल बढ्दो छ । नारायणगढ पुल आसपासमा देखिएको भीडभाडलाई व्यवस्थित गर्दै सामुद्रिक किनार (सी बिच) शैलीमा यसको विकास गर्ने महानगरको योजना रहेको छ । ‘पर्यापर्यटन र संरक्षित क्षेत्रको अवलोकनका लागि एकदेखि दुई दिनको पर्यटकीय प्याकेज तय भएको छ,’ भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भने । त्योभन्दा धेरै बस्ने पर्यटकका लागि सात दिनसम्मको प्याकेज निर्माण गरेको उनले जानकारी दिए ।


‘पर्यटकका रुचिअनुसार पर्यटकीय स्थल यहाँ छन् । त्यहीअनुरूप प्रचारप्रसार गरेर उनीहरूले चाहेको ठाउँसम्म जाने घुम्ने अवसर दिन सक्नुपर्छ,’ चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल भन्छन् । पर्यटकीय गन्तव्य र प्याकेज लगभग तय भए पनि शुल्क निर्क्यौल हुन बाँकी नै छ । निजी क्षेत्रलाई समेटेर योजना बनाए भ्रमण वर्ष थप प्रभावकारी हुने भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतोले बताए ।




प्रकाशित : मंसिर २२, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?