कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धर्मले बचाउँछ भन्दै औषधि खाँदैनन् संक्रमित

प्रमिता ढकाल

भरतपुर — एचआईभी एड्सको संक्रमण धार्मिक भक्तिबाट निर्मूल हुन्छ भन्दै संक्रमितले औषधि छोड्न थालेपछि जिल्लामा नयाँ चुनौती थपिएको छ । भरतपुर अस्पतालबाट नियमित एन्टिरेट्रो भाइरल थेरापी (एआरभी) रेजिमेन लिइरहेका संक्रमितहरूले औषधि छोड्न थालेपछि चुनौती बढेको हो । 

पछिल्लो तीन महिनामा नौ जनाले धर्मको आडमा औषधि छुटाएको भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसन (एएचएफ) चितवनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए । ‘नियमित औषधि खान आउनेले छुटाउन थालेपछि हामीले फलोअप गर्‍यौं,’ सापकोटाले भने, ‘अब हामीलाई धर्मले नै बचाउँछ खाँदैनौं भन्नेको संख्या बढेको पाइयो ।’ एआरभी छोड्नेहरू माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका हुन् । उनीहरू संगतिमा जाने गरेको र ध्यान गरे एचआईभी संक्रमण नाश हुन्छ भन्ने भ्रम फैलाइएको सापकोटा बताउँछन् ।


यस्तै, आयुर्वेदिक औषधिबाट एचआईभी एड्सको संक्रमण निको हुन्छ भन्दै तीन जनाले एआरभी थेरापी छोडेका छन् । अर्का एकजनाले रक्सी खाएपछि सबै दुःख भुल्ने भन्दै औषधि लिन आनाकानी गरेको सापकोटा बताउँछन् ।


सेन्टरबाट कुल नौ सय नौजनाले एआरभी लिइरहेकोमा धर्म र फरक औषधिको नाममा एआरभी छोड्नेको संख्या १३ पुगिसकेको छ । सन् २०१९ मा एआरभी रेजिमेन सुरु गर्नेको संख्या एक सय १६ रहेको छ । तीमध्ये ६४ जना पुरुष, ४७ जना महिला र पाँच बालबालिका हुन् । अस्पतालको एआरटी सेन्टरमा यस वर्ष ८० जना नयाँ संक्रमित दर्ता भएका छन् । तीमध्ये ४३ पुरुष, ३५ महिला र दुईजना बालबालिका छन् ।


पछिल्लो तथ्यांकअनुसार पुरुषमा बढी संक्रमण देखिएको छ । यद्यपि यसमा समलिंगी बढी संक्रमित भएको सापकोटा बताउँछन् । ‘समलिंगीहरूमा यसको जोखिम बढेको हामीले अध्ययन गरेका हौं,’ सापकोटाले भने, ‘तर खुलेर पहिचान नदिने हुँदा पुरुष संक्रमितको संख्या बढेको हो ।’ दुई महिनायता मात्र ११ जना समलिंगीमा एचआईभी संक्रमण प्रमाणित भएको छ । जिल्लामा चार हजार पाँच सय समलिंगी रहेको मानव सचेतना समाजको तथ्यांक छ । समलिंगी यौनकर्मी खुलेर आउन नचाहनु र औषधि खानसमेत बेवास्ता गर्नु चुनौती रहेको सापकोटाले बताए ।


जिल्लामा एचआईभी संक्रमणको फरक समूहमा देखिाएको सापकोटाको बुझाइ छ । ‘१० वर्षअघि सेन्टरको सुरुवात हुँदा युवापुस्तामा एचआईभी संक्रमण बढी थियो,’ उनले भने, ‘अहिले ४० कटेकाहरूमा जोखिम बढी देखिएको छ ।’ परिवारमा आएको विचलन, अधिकांश परिवार सदस्य विदेशमा हुनु, एक्लोपनाजस्ता कारणले मनोरञ्जनका लागि यौन रोज्नेहरूले जोखिम बढाएको उनको तर्क छ । जिल्लामा अझै पनि आठदेखि १० प्रतिशतले असुरक्षित यौनसम्पर्क गर्ने गरेको तथ्यांक छ । सन् २००७ मा स्थापना भएको केन्द्रमा हालसम्म एक हजार सात सय ९३ जना संक्रमित सम्पर्कमा आएका छन् ।

प्रकाशित : मंसिर २०, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?