जापानी गीत बजेपछि फोहोर लिएर सडकमा

कान्तिपुर संवाददाता

(भक्तपुर) — घरबाहिर कसैले सिटी बजाउनेबित्तिकै फोहोरको गाडी आयो भन्ने संकेत गर्छ । सिटी बजेपछि हतारिँदै केहीले फोहोर लगेर बाहिर थुपार्छन्, केहीले आफैं गाडीमा फ्याँक्छन् । मध्यपुर थिमि नगरपालिकाको भित्री बस्तीमा भने फोहोर लिन जाँदा न गाडीको हर्न बजाइन्छ न त फोहोर उठाउनेले सिटी नै फुक्छन् ।

हरेक मंगलबार बिहान जापानी गीत घन्काउँदै दुईवटा गाडी बस्ती छिर्छन् । सानो गाडी अघि, टिपर पछिपछि । अघिल्लो गाडीमा राखेको साउन्ड बक्सबाट जापानी गीत बज्नेबित्तिकै टोलवासी सबै काम छाडेर बाल्टीको फोहोर बोकेर सडकमा निस्कन्छन् । हरियो रङको सानो गाडीमा बाल्टीको कुहिने फोहर फ्याँक्छन् अनि बोरा र कार्टुनमा राखिएको नकुहिने फोहोर पछिल्लो टिपरमा हाल्छन् ।

मध्यपुर थिमि ४ की कमला श्रेष्ठ डेढ वर्षदेखि घरबाट निस्कने फोहोर व्यवस्थापन गर्दै आइरहेकी छिन् । ‘कुहिने फोहोर नगरपालिकाले दिएको बाल्टीमा र नकुहिने फोहोर अर्को गाडीमा हाल्छौं,’ उनले भनिन् । घरको फोहोर लगेबापत मासिक शुल्क तिर्नुपर्ने झन्झट पनि छैन । कुहिने फोहोर हाल्ने बाल्टी लिन सुरुमा हरेक घरधनीले पाँच सय ५० रुपैयाँ तिरे । ‘त्यसयता कुनै महिना फोहोर उठाएबापतको भन्दै छुट्टै शुल्क तिर्नुपरेको छैन,’ कमलाले भनिन् ।

नगरपालिकाले प्रत्येक साता कुहिने फोहोर उठाउने गरेको छ । नकुहिने फोहोर भने दुई सातामा एकपटक उठाइन्छ । कुहिने फोहोर उठाउँदा घरधनीलाई धानको भुस, ढुटो, पत्कर, रातो माटो मिसाएर बोरामा दिइन्छ । यसलाई जापानी भाषामा ‘तोकाजाई’ भनिन्छ । यी सबै वस्तु मिसाएर दुई सातासम्म बाक्लो कार्पेटले छोपेर गुम्स्याउँछन् । १० देखि १४ दिनसम्म तापक्रम मिलाएर बोरामा राखेपछि मात्रै नगरवासीको घरमा पठाउने गरिन्छ । प्राविधिकका अनुसार भुसमा कार्बन, ढुटोमा नाइट्रोजन, पातपतिंगर ब्याक्टेरिया र रातो माटोमा मिनरल पाइन्छ ।
‘बाल्टीमा फोहर फ्याँक्नुअघि यसलाई राख्नुपर्ने हुन्छ,’ हरेक घरबाट निस्कने फोहोरको रेकर्ड राख्दै हिँडेकी सन्तलक्ष्मी श्रेष्ठले भनिन्, ‘सातामा एकपटक फोहर लिन जाँदा एक बाल्टी कुहिने फोहोर हुने घर थोरैमात्रै छन् ।’

दुर्गन्ध नआओस् भनेर फोहोर राख्नुअघि र राखेपछि ढुटो, भुस, पत्कर मिसाएको तोकोजाई राख्ने गरेको उनले बताइन् । ‘कुहिने फोहोर विगतमा भाँडामा राखेको भोलिपल्टै गन्हाउँथ्यो,’ आठ सय ३१ बाल्टी नम्बरको थिमिकी विष्णुकेशरी श्रेष्ठले भनिन्, ‘अहिले त फोहोर राखेपछि पानी छर्कंदा पनि गन्हाउँदैन ।’ मध्यपुर थिमिका दुई हजार घरका गृहिणीलाई पछिल्लो समय कुहिने र नकुहिने फोहोर छुट्याउने बानी नै परिसक्यो । कुहिने फोहर फ्याँक्ने बाल्टीमा उब्रिएको खाना, तरकारी केलाएको टुक्रालगायत हाल्ने गरेको विष्णुकेशरीले बताइन् ।

नगरबाट उठाएको कुहिने फोहोर नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नजिकै विष्णु कुण्ड छेउमा लैजान्छन् । जापानको रिकियो हासिमोतोले अपनाएको विधिबाट जैविक मल बनाउँछन् । नकुहिने फोहोर डम्पिङ साइटमा पठाउने गर्छन् । नगरबाट ल्याएको फोहर खसाल्नेबित्तिकै मल बनाउने विधि अपनाउन कर्मचारीहरू जुटिहाल्छन् ।

मंगलबार बिहान नगरबाट उठाएको फोहोरलाई मल बनाउन खटिने कर्मचारीसमेत मास्क नलगाई काम गरिरहेका थिए । ‘घरमै दुर्गन्ध नआउने विधि अपनाएकाले यहाँ त फोहोरको दुर्गन्ध थाहै हुँदैन,’ फोहोरबाट मल बनाउने रिकिसी कम्पोस्ट कम्पनीकी प्रबन्धक उषा गिरीले भनिन् ।

मल बनाउन आवश्यक जग्गा र पूर्वाधार नगपालिकाले व्यवस्थापन गरिदिएको छ । नगरबाट संकलित फोहोरलाई मल बनाएर कम्पनीले बिक्री गर्ने गरेको छ । मल तयार हुन तीन महिना लाग्ने गरेको गिरीले बताइन् । ‘दुर्गन्ध शून्य बनाएर माटोजस्तै बनाएपछि मात्रै प्याकिङ गर्छौं,’ उनले भनिन्, ‘हामी यसलाई मल भन्दैनौं । घरबाट निस्क्ने फोहरबाट माटो राम्रो बनाउने र बिरुवा सपार्ने औषधि वा खुराक भनाइरहेका छ्रौ ।’

नगरवासीले समेत यहाँ तयार गरिएको मलले खेती राम्रो भएको बताएका छन् । कम्पनीले तयार गरेको मल ८ सय ५० ग्रामलाई ३५ रुपैयाँमा बिक्री गर्ने गरेको छ । ‘एउटा घरमा तोकोजाई मात्रै मासिक दुई हजार पाँच सय रुपैयाँ खर्च हुन्छ,’ उनले भनिन्, ‘कर्मचारी व्यवस्थापन, फोहोर उठाउने खर्च उत्तिकै छ । यो व्यवस्थापन गर्न पनि मल बिक्रीबाट आएको आम्दानीले पुग्दैन ।’

हरेक महिना ८ हजार किलो जैविक मल उत्पादन हुने गरेको गिरीले बताइन् । डेढ महिनामा ५९ लाख रुपैयाँको मल बिक्री भइसकेको छ । मध्यपुर थिमि नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठले बिक्री भएको मूल्यको १५ प्रतिशत नगरपालिकाले अनुदान दिने छ । ‘कम्पनीले नगरवासीसँग शुल्क नलिई फोहोर व्यवस्थापन गरिदिएकाले जति मल बिक्री हुन्छ, त्यसको १५ प्रतिशत अनुदान नगरपालिकाले दिने गरेका छौं,’ उनले भने, ‘घरबाट निस्केको फोहोरबाट बनाइएको जैविक मलसमेत नगरवासीले प्रयोग गर्न पाएका छन् ।’

अहिले वडा नम्बर ४ का दुई हजार घरबाट निस्कने फोहोरको मात्रै मल बनाउने गरे पनि अन्य वडामा समेत विस्तार गर्ने योजना रहेको उनले बताए । अन्य वडाको खुला ठाउँमा टहरा बनाएर भए पनि यो विधिबाट मल बनाउने नगरपालिकाको योजना छ ।

प्रकाशित : मंसिर ६, २०७६ ०८:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बालिकालाई आफन्तबाटै डर

कान्तिपुर संवाददाता

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१५ का २८ वर्षीय जयराम रुम्बाले छिमेकीको घरमा आश्रय लिएर बसेकी ८ वर्षीया बालिकालाई कात्तिक १७ गते बलात्कार गरे । ती बालिका रुम्बाकी छोरीसँग खेल्न आएकी थिइन् । भोगटे खान दिन्छु भनेर फकाएर कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उपचारका लागि पीडित बालिकालाई हेटौंडा अस्पताल हुँदै भरतपुर पुर्‍याइयो ।

‘अहिले उनी पुरुष देख्नेबितिक्कै डराउँछिन्,’ माइती नेपाल हेटौंडा शाखाकी प्रमुख माया लामाले भनिन्, ‘उनी अझै विक्षिप्त अवस्थामै छिन् ।’ बलात्कारमा संलग्न रुम्बालाई पक्राउ गरी प्रहरीले कानुनी कारबाही अगाडि बढाएको छ ।

भीमफेदी गाउँपालिकास्थित इपापञ्चकन्याकी १४ वर्षीया बालिकालाई २८ वर्षका प्रेम थिङले बलात्कार गरे । थिङ नाताले बालिकाका फुपाजु हुन् । यस्तै, वाग्मती गाउँपालिका राईगाउँ—१ का २२ वर्षीय रामबहादुर विकले रक्सीको उन्मादमा साढे ८ वर्षर्यीा बालिकालाई बलात्कार गरे । त्यति मात्र होइन, आफ्नै बाबुले समेत चार वर्षकी बालिकालाई पटकपटक बलात्कार गरेको घटना बाहिरिएको छ । बालिकाले शिक्षकलाई भनेपछि बाबु पक्राउ परिसकेका छन् ।

यी घटनाले देखाउँछ, बलात्कारका अधिकांश घटनामा नातेदार र छिमेकी नै संलग्न छन् । ‘सहरमा कुसंगत र अपराधी मनोवृत्तिका कारण बालिका बलात्कृत भएका छन् भने गाउँमा अभिभावकको हेरविचारमा कमी, चेतनाको अभाव तथा गरिबीले अन्जान बालिका बलात्कारको सिकार हुन पुगेका हुन्,’ जिल्ला प्रहरी कार्यालय महिला सेलका प्रहरी नायव निरीक्षक ताराचन्द भट्टराईले भने । मकवानपुरमा चार महिनाको अवधिमा भएका १२ वटा बलात्कारका घटनामा नौ बालिका बलात्कृत भएका छन् । चार वर्षदेखि १६ वर्षसम्मका अधिकांश बालिका छिमेकी र आफन्तबाट पीडित बनेको पाइएको छ ।

मादक पदार्थ सेवन, मोबाइलको दुरुपयोग, सहरिया शैलीका कारण बालिकाहरू बलात्कारमा पर्ने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरीक्षक मुकेशकुमार सिंहले बताए । ‘आपराधिक मनोवृत्ति, मादक पदार्थ सेवन र उनीहरूमा चढेको यौनउन्मादको सिकार बालिकाहरू हुने गरेका छन्,’ उनले भने, ‘छिमेकी र आफन्तले नै विभिन्न प्रलोभनमा पारेर बलात्कार गर्ने गरेको देखिएको छ ।’

गत आवमा मकवानपुरमा ३५ वटा बलात्कारका घटना भएका थिए । तीमध्ये १९ जना बालिका छन् । घटनामा संलग्न अधिकांशलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : मंसिर ६, २०७६ ०८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×