कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंहदरबारका बहुमूल्य सामग्री : लगत राख्न सुरु

प्रशान्त माली

काठमाडौँ — चार वर्षअघिको भूकम्पपछि लथालिंग अवस्थामा रहेका सिंहदरबारका बहुमूल्य सामग्रीको लागत राख्न थालिएको छ । 

सिंहदरबारका बहुमूल्य सामग्री : लगत राख्न सुरु

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत गठित एक कार्य टोलीले जनावरहरूको टाउकोसहितका छाला, पुरानो पोसाक, खाट, क्रिस्टल र चाँदीको मोलम्बा लगाएका बुट्टेदार भाँडाकुँडालगायतका बहुमूल्य सामानको सरसफाइ गरी फोटोसहित लगत राख्न सुरु गरेको हो । तीमध्ये कपितय सामग्री राणा प्रधानमन्त्री चन्द्रशमशेरले सिकार गरेका जनावरका अंग छन् । भूकम्प गएको लामो समयसम्म पनि बेवास्था गरिएका कारण केही ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सामान फुटेका छन् ।


मुख्य भवनको दोस्रो तलाको एक कोठामा बाघ, गोही, न्याउरी मुसा, चितुवालगायत ८ वटा जीवजन्तुका टाउ र छालासहितको आकृति छन् ।


त्यसैगरी, सिंहदरबारको पहिलो तलामा रहेको स्टेट हलमा युरोपबाट झिकाइका सामान छन् । उक्त हल बेलायतको बकिङ्घम राजदरबारको एक कक्षसँग मिल्दोजुल्दो गरी बनाइएको थियो । लगत राख्ने क्रममा कोठाका झुमर, बत्ती, सुनको मोलम्बा लगाइएका बुट्टेदार युरोपियन शैलीका भित्ता सफा गरिएका छन् ।


धुलोले छपम्क छोपेका शाहवंशीय राजा तथा राणाकालीन प्रधानमन्त्रीका लाइफ साइज पेट्रेट तथा युरोपेली शैलीका चित्रकला, बहुमूल्य पत्थर, टेबुल कुर्सी, टीभी, टेलिफोन, घडी, फ्यान र हिटर चिटिक्क बनाइएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वय इकाई (भवन) का पुरातत्त्व अधिकृत काजीमान प्याकुरेलले सरसफाइ गरी विवरण तयार गर्ने काम भइरहेको बताए । ‘दुर्लभ ऐतिहासिक सामानको महत्त्वलाई ध्यानमा राखेर उच्च प्राथमिकताका साथ कोडिङ गरी प्याकेजिङ गरिरहेका छौं,’ उनले भने, ‘समयमा चासो दिन नसक्दा कतिपय किचेनका सामान फुटेका छन् ।’


प्याकुरेलका अनुसार स्टेट हलको जादूगर ऐना, घडी, गैंडाको खुट्टालगायत केही महत्त्वपूर्ण सामान छाउनी संग्रहालयमा प्रदर्शनमा राखिएको छ । ‘युरोपबाट मगाइएको त्यस्तो आकृतिको घडी विश्वमै दुइटा मात्र भएको विश्वास गरिन्छ,’ उनले भने । युरोपेली शैलीमा बनेको दरबारको भुइँ, पहिलो र दोस्रो तलामा गरेर २४ वटा कोठा छन् । कोठाका सामानहरू अभिलेखकीरण गर्नुअघि प्रत्येक कोठाको नम्बरिङ गरेर तत्कालीन अवस्थाको फोटोग्राफी रेकर्ड पनि राखिएको छ ।


टोलीले हालसम्म ३ सयवटा सामानको सूची तयार पारिसकेको छ । जसमा पुराना शैलीका ताला, टाइपराइटर, फिल्टर प्लान्ट, कप, विभिन्न देवीदेवताका मूर्ति, बल्ब, हीरामोती, पन्ना, रत्न आकारका दुर्लभ सिसाका सामान, छाता, सजावटका सामानलगायत छन् । कोठा नम्बर १३ देखि १७, १९ र २० मा भएका फर्निचरका सामान, बेलायतबाट झिकाइएका झारभुमर, बत्ती, होल्डर, घडी सरसफाइ गरेर प्याकेजिङ गर्ने काम भइरहेको छ । बाँकी कोठामा गलैँचा, राणा प्रधानमन्त्रीका सिरक– डस्ना, जीवजन्तुका छालालगायत सामान छन् । शाहकालीन राजा महेन्द्र, वीरेन्द्र, रानी ऐश्वर्य, चन्द्रशम्शेरलगायतका तस्बिर क्रमशः सरसफाइ गरेर सुरक्षित राखिने पुरातत्त्व अधिकृत प्याकुरेलले बताए ।


लगत राख्न गठित ८ सदस्यीय कार्य टोलीमा केन्द्रीय आयोजना कार्यान्वय इकाई (भवन), पुरातत्त्व विभाग, गृह मन्त्रालय, चण्डोदल गण सिंहदरबार, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र परामर्शदाताका प्रतिनिधि छन् ।

प्रकाशित : मंसिर ३, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?