त्रिशूली ३ ‘बी’को ४० प्रतिशत काम पूरा

कान्तिपुर संवाददाता

नुवाकोट — २०७७ फागुन मसान्तभित्रमा बिजुली उत्पादन गर्ने लक्ष्य राखेको माथिल्लो त्रिशूली ३ बीको निर्माण कार्य ४० प्रतिशत सकिएको छ । विद्युत् गृहसहित अधिकांश भाग किस्पाङ गाउँपालिका–५ मा रहेको आयोजनाको सुरुङ खन्ने, विद्युत्गृह, सर्च ट्यांक, पेनस्टकको प्रारम्भिक निर्माण कार्य भइरहेको छ । अहिलेसम्म १२ सय मिटर सुरुङ खनिएको आयोजनाले जनाएको छ ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङसँग ठेक्का सम्झौता भएको थियो ।

यो आयोजना नुवाकोट र रसुवामा निर्माण भइरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री एको क्यास्केड आयोजना हो । क्यास्केड भएकाले माथिल्लो त्रिशूली थ्री बीले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) लगायत संरचना बनाउन पर्दैन ।

३७ मेगावाट क्षमताको उक्त आयोजना नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनीको मुख्य लगानीमा त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गर्न लागेको हो । ‘मुख्य सुरुङ निर्माण भइहेको छ,’ कम्पनीका प्रबन्ध सञ्चालक मोहन गौतमले भने, ‘अहिले ४० प्रतिशत कामको प्रगति भएको छ ।’ प्राधिकरण र नेपाल टेलिकमले ३०/३० प्रतिशत सेयर हालेका छन् । कम्पनीमा रसुवा र नुवाकोटका स्थानीय तहहरूको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत तथा प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहनेछ ।

सुक्खायाममा (मंसिर १६ देखि जेठ १५) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मंसिर १५) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद–बिक्रीका लागि प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको छ । आयोजनाको विद्युत्गृहबाट ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली थ्रीबी सबस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ ।

प्रकाशित : मंसिर २, २०७६ ०८:२२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जोखिममा घर बनाउँदै विस्थापित

परकम्पको पीडा
कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — माथिल्लो भागको जमिन भास्सिएको छ । बस्तीभन्दा तल्लो भाग बिस्तारै बग्दै गइरहेको छ । इन्द्रावती गाउँपालिकाको नयाँ बस्तीमा फाटेको जमिनमै चन्द्रमान तामाङले घर बनाए । ‘जोखिममै घर बनाइछ । त्यसैले बारम्बार मन दुख्छ,’ सिम्पालकाभ्रेका उनले भने, ‘कतिखेर यो बस्ती बग्छ, थाहा छैन ।’ उनले घर बनाउन ६ लाख खर्च गरे । एक लाख ऋण तिर्न मुस्किल बनेपछि उनी दिक्क छन् ।

बस्ती जोखिममा भएपछि नयाँ बस्तीमा बसेको २५ परिवार अन्योलमा परेको सानो बसेरीकी सुकुमाया बम्जनले सुनाइन् । ‘अघिल्लो बर्खामा आँगन पूरै फाट्यो, त्यसपछि यो घरमा निद्रा नै लाग्दैन,’ उनी सुनाउँछिन्, ‘बर्खामा छिमेकी घरमा गएर बास बस्यौं ।’ उनले पनि ६ लाख ऋण जुटाएर घर बनाएकी थिइन् । दुई लाख तिर्न बाँकी छ ।

जताततै धाँजा फाटेकाले थोरै पानी पर्दा पनि यहाँका विस्थापित परिवारको होसहवास उड्ने गरेको छ । भूकम्पको परकम्पनले सिम्पालकाभ्रेको सानो बसेरी, ठूलो कल्सा, सानो कल्साजस्ता दर्जनौं बस्ती पहिरोले लगेपछि ६२ परिवार विस्थापित भए । भौतारिँदै बुद्ध सामुदायिक वनमा पाल हालेर दुई वर्ष आश्रय लिएका उनीहरूले धेरै पटक सदरमुकाम धाए । भूकम्पको तीन वर्षपछि बल्ल विस्थापित अनुदान दुई लाख पाएपछि सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सीएसआरसी) को सहजीकरणमा विभिन्न स्थानमा जग्गा किनेर घर बनाए ।

‘अन्यत्र त एकदमै सुरक्षित स्थानमा बसेका छन्, हामी जोखिममै घर बनाइरहेका छौं,’ सुनमाया तामाङले भनिन् । आर्थिक स्रोतको अभावमा बसिरहेका यहाँका विस्थापित पुनः विस्थापित हुने अवस्था छ । केहीले भने बगिरहेको जमिनमुनि ऋण लिएर घर बनाइरहेको उनले बताइन् । ‘काम गरेर खान आफ्नै खेतबारी छैन, अरूको मजदुरी गरेर ऋण तिर्नु कि परिवार पाल्नु ?’ उनले प्रश्न गरिन् ।

इन्द्रावती गाउँपालिका–४ का अध्यक्ष जगतमान ताल्चाभडेलले जग्गाको जोखिमबारे जानकारी लिएको बताए । ‘माटो परीक्षण गरेर मात्रै बस्ती बसाउने र जग्गा किन्ने प्रक्रिया हुनुपर्थ्यो, त्यहाँ केही समस्या देखिएको छ,’ उनले भने ।

प्रकाशित : मंसिर २, २०७६ ०८:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT