कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोखिममा घर बनाउँदै विस्थापित

परकम्पको पीडा

सिन्धुपाल्चोक — माथिल्लो भागको जमिन भास्सिएको छ । बस्तीभन्दा तल्लो भाग बिस्तारै बग्दै गइरहेको छ । इन्द्रावती गाउँपालिकाको नयाँ बस्तीमा फाटेको जमिनमै चन्द्रमान तामाङले घर बनाए । ‘जोखिममै घर बनाइछ । त्यसैले बारम्बार मन दुख्छ,’ सिम्पालकाभ्रेका उनले भने, ‘कतिखेर यो बस्ती बग्छ, थाहा छैन ।’ उनले घर बनाउन ६ लाख खर्च गरे । एक लाख ऋण तिर्न मुस्किल बनेपछि उनी दिक्क छन् ।

बस्ती जोखिममा भएपछि नयाँ बस्तीमा बसेको २५ परिवार अन्योलमा परेको सानो बसेरीकी सुकुमाया बम्जनले सुनाइन् । ‘अघिल्लो बर्खामा आँगन पूरै फाट्यो, त्यसपछि यो घरमा निद्रा नै लाग्दैन,’ उनी सुनाउँछिन्, ‘बर्खामा छिमेकी घरमा गएर बास बस्यौं ।’ उनले पनि ६ लाख ऋण जुटाएर घर बनाएकी थिइन् । दुई लाख तिर्न बाँकी छ ।


जताततै धाँजा फाटेकाले थोरै पानी पर्दा पनि यहाँका विस्थापित परिवारको होसहवास उड्ने गरेको छ । भूकम्पको परकम्पनले सिम्पालकाभ्रेको सानो बसेरी, ठूलो कल्सा, सानो कल्साजस्ता दर्जनौं बस्ती पहिरोले लगेपछि ६२ परिवार विस्थापित भए । भौतारिँदै बुद्ध सामुदायिक वनमा पाल हालेर दुई वर्ष आश्रय लिएका उनीहरूले धेरै पटक सदरमुकाम धाए । भूकम्पको तीन वर्षपछि बल्ल विस्थापित अनुदान दुई लाख पाएपछि सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सीएसआरसी) को सहजीकरणमा विभिन्न स्थानमा जग्गा किनेर घर बनाए ।


‘अन्यत्र त एकदमै सुरक्षित स्थानमा बसेका छन्, हामी जोखिममै घर बनाइरहेका छौं,’ सुनमाया तामाङले भनिन् । आर्थिक स्रोतको अभावमा बसिरहेका यहाँका विस्थापित पुनः विस्थापित हुने अवस्था छ । केहीले भने बगिरहेको जमिनमुनि ऋण लिएर घर बनाइरहेको उनले बताइन् । ‘काम गरेर खान आफ्नै खेतबारी छैन, अरूको मजदुरी गरेर ऋण तिर्नु कि परिवार पाल्नु ?’ उनले प्रश्न गरिन् ।


इन्द्रावती गाउँपालिका–४ का अध्यक्ष जगतमान ताल्चाभडेलले जग्गाको जोखिमबारे जानकारी लिएको बताए । ‘माटो परीक्षण गरेर मात्रै बस्ती बसाउने र जग्गा किन्ने प्रक्रिया हुनुपर्थ्यो, त्यहाँ केही समस्या देखिएको छ,’ उनले भने ।

प्रकाशित : मंसिर २, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?