कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी मेमोरियलमा विस्तारित सेवा

चितवन — भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आइतबारदेखि विस्तारित सेवा (ईएचएस) सुरु गरेको छ । चिकित्सकले अस्पतालमा भन्दा बाहिरका निजी अस्पतालमा बिरामी जाँच्ने र उपचार गर्ने क्रम बढेपछि ईएचएस सुरु गर्न वर्षौंदेखि माग हुँदै आएको थियो । यो अस्पताल क्यान्सरको उपचार हुने देशकै मुख्य अस्पताल हो । 

‘अहिले हामीले अस्पतालको नियमित समयबाहेक तीन घण्टा समय बढाएर ईएचएस सञ्चालन गरेका छौं,’ आइतबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले भने । ईएचएस सेवा दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ । जाडो समयमा एक घण्टा पहिले सेवा सुरु हुने उनले बताए । सेवा लिनेले ओपीडीका लागि पाँच सय रुपैयाँको टिकट लिनुपर्नेछ । नियमित सेवामा २५ रुपैयाँ लाग्ने आचार्यले जनाकारी गराए । ‘टिकटबाहेक सेवाका हकमा रेडिएसन सेवामा सवा गुणा र शल्यक्रिया सेवामा डेढ गुणा रकम बढी लाग्नेछ,’ आचार्यले भने । सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड, मेमोग्राम, गामको सेवामा भने शुल्क वृद्धि गरिएको छैन । प्याथोलोजिकल सेवामा पनि पहिलेकै शुल्क कायम गरिएको छ । शय्या र ईसीजी, इडोस्कोपी, एनपीएल, कोलोनेस्कोपी, सेवामा पनि शुल्क यथावत् राखेको उनले जानकारी दिए ।


क्यान्सर अस्पतालका चिकित्सक र प्राविधिकलाई अस्पतालभित्रै आवासीय सुविधा र भत्ताको व्यवस्था छ । त्यसैले अस्पताल नियमावलीअनुसार उनीहरूले बाहिरका निजी अस्पतालमा काम गर्न पाउँदैनन् । तर सञ्चालक समितिको निर्णयले छुट दिएपछि बाहिर नै बढी व्यस्त हुन थालेका थिए ।


तीन वर्षअघि चिकित्सकलाई बाहिर काम गर्न जान रोक लगाएपछि अस्पतालले ईएचएस सुरु गर्ने योजना बनाएको थियो । तर अहिले ईएचएस सुरु भए पनि अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्न भने बन्देज नलागेको कार्यकारी निर्देशक डा. आचार्यले बताए । अस्पतालमा कार्यरत रेडियसन अंकोलोजी विभागबाहेक अन्य विभागका प्रायः चिकित्सक र प्राविधिकले निजी अस्पतालमा काम गर्छन् ।


अस्पताल सञ्चालक समितिको पदेन सदस्यसमेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ईएचएस सुरु भएपछि बाहिरका निजी अस्पतालमा बिरामी बोलाउने परिपाटी रोकिने आशा राखिन् । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सेवा सुरु गर्ने तर डाक्टर, प्राविधिकहरू नबस्ने परिपाटी अन्त्य हुनुपर्ने सुझाव राखे ।


तत्कालीन कार्यकारी निर्देशक डा. सीबी पुनले तीन वर्षअघि ईएचएस सुरु गर्न डा. आचार्यको संयोजकत्वमा कार्यदल बनाएका थिए । उनै आचार्य पछि कार्यकारी निर्देशक भए । आचार्यको कार्यकाल सकिन ६ महिना बाँकी हुँदा बल्ल ईएचएस सुरु भएको हो ।

प्रकाशित : मंसिर २, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?