१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

बाङ्गो पुलमा सवारी

आठ वर्ष लगाएर बनाएको पुलमा ‘प्राविधिक त्रुटि’ रहेको निष्कर्ष निकालेपछि ठेकेदार भागेको स्थानीयको गुनासो
आश गुरुङ

(लमजुङ) — सुन्दरबजार नगरपालिकाको भोटेओडार र दोर्दी गाउँपालिकाको बेलघारी जोड्न मर्स्याङदी नदीमाथि मोटरेवल पुल (स्टिल ट्रष्ट ब्रिज) निर्माण गरिँदै थियो ।

बाङ्गो पुलमा सवारी

पुल निर्माण अन्तिम चरणमा पुग्दै गर्दा ठेकेदार भागे । केही कमसल खालका सामान प्रयोग गरेको र एउटामा राख्नुपर्ने फलामे मेम्बर अर्कोमा राखेपछि स्थानीयले विरोध गरे । पुल बांगो देखियो । ठेकेदारले निर्माण सकेको भन्दै छोडेर हिँडेपछि स्थानीयले उक्त पुलमा मोटर गुडाउन थाले । निर्माण नसकिएकै पुलमा ४ वर्षयता सवारी साधन गुडिरहेका छन् ।


निर्माणाधीन अवस्थामा खसेको उक्त पुललाई उठाएर निर्माण गरिएको र ठेकेदार हिँडेपछि स्थानीयले ‘प्राविधिक’ समस्या रहेको भनी पटक–पटक मन्त्री, सांसद, नेता, प्रशासक, कर्मचारी, इन्जिनियर सबैलाई हेर्न लगाए । आठ वर्ष लगाएर बनाएको पुलमा सबैले ‘प्राविधिक त्रुटि’ रहेको निष्कर्ष निकाले । पुल राम्रो नबनेको भनी स्थानीयले तत्कालीन पश्चिमाञ्चल डिभिजन सडक कार्यालय दमौली (हाल डिभिजन सडक कार्यालय) मा गएर जानकारी गराए । तर, उक्त पुलमा मोटर गुडिरहे । स्थानीयको आवाज कसैले सुनेनन् ।


डिभिजन सडक कार्यालयका ५ प्रमुख फेरिएका छन् । ती प्रमुखले उक्त पुल निर्माण पूरा गर्नेतर्फ ध्यान नदिएको स्थानीयले आरोप लगाए । स्थानीयवासी समेत रहेका नेकपा सुन्दरबजार नगर कमिटीका अध्यक्ष भीम गुरुङले पुलमा समस्या छ, सकिएको छैन भन्दा कसैले नसुनेको बताए । पुल निर्माण नसकेको भन्दै सडक कार्यालय र जिल्ला प्रशासन कार्यालयले रोक लगाएको थियो । पुलमा सवारी गुडाउन मिल्ने भएपछि ठूला–ठूला ट्रक पनि उक्त पुल हुँदै वारपार गरिरहेका छन् ।


जिल्लाको पूर्वी क्षेत्र जोड्न मर्स्याङ्दी नदीमाथि बनाइएको पूल २ वर्षमा सक्ने गरी २०६४ फागुन २ गते ठेकेदारले सडक कार्यालयसँग सम्झौता गरेका थिए । तर १२ वर्षमा पनि नसकिएको तत्कालीन निर्माण समितिका अध्यक्ष शंकरप्रसाद अधिकारीले बताए । ६० मिटर लम्बाइको उक्त पुल भ्याटबाहेक कुल ५ करोड ५४ लाख ९६ हजार ९ सय २४ रुपैयाँ ५० पैसामा महालक्ष्मी, आशिष, प्यासिफिक, माछापुच्छ्रे र उत्तम जेभीले निर्माणको जिम्मा लिएको थियो । करिब ८० प्रतिशत सकिएको दाबी गरिरहेका बेला २०६८ असार १ गते पुल भाँचिएर मर्स्याङ्दीमा खसेको थियो । त्यतिबेला १ जना मजदुरले ज्यान गुमाए, ३ घाइते भए ।


ठेकेदारले २०७२ बाट काम छोडेको हो । टेकामाथिको प्लेट फेर्नुपर्ने भन्दै ठेकेदारलाई आग्रह गरिए पनि पछि फेर्ने भन्दै टारेको स्थानीयले बताए । ५ वटा जेभीमार्फत प्यासिफिकका ठेकेदार ठाकुर कँडेललाई काम सक्न जिम्मेवारी दिइए पनि उनले फलाम निर्माण ढिलाइ, लोडसेडिङ, बन्द, हड्ताल, पेट्रोलियम पदार्थको आभावले पूल निर्माणमा ढिलाइ भएको बताएका थिए ।


तत्कालीन पश्चिमाञ्चल डिभिजन सडक कार्यालय दमौलीले ठेकेदारलाई ताकेता गरेको थियो । प्लेट फेर्ने कुनै छाँटकाँट नदेखिएपछि पछिल्ला प्रमुखहरूले ‘फलो’ गरेनन् । तत्कालीन कार्यालय प्रमुख बेलबहादुर भुजेलले मेम्बरको ‘मिस प्लेस’ भएको बताएका थिए । उनले त्यतिबेला डिजाइन ‘रिभ्यु’ गरिएको समेत बताएका थिए । बाक्लो हाल्नुपर्ने ठाउँमा ठेकेदारले पातालो हालेको निष्कर्ष निकालिएको थियो । तर, ठेकेदारलाई कारबाही नगरी पुललाई यतिकै छाडिएको थियो ।


डिभिजन सडक कार्यालयका डिभिजन इन्जिनियर विष्णुप्रसाद काफ्लेका अनुसार डिजाइन अनुसार काम नमिल्दा अहिले समस्या आएको बताए । ‘पुलको फलामे मेम्बर बाँगिएको देखिएको छ । सानो हाल्नुपर्ने ठाउँमा ठूलो र ठुलो राख्नुपर्ने ठाउँमा सानो राखिएको छ । यसलाई मिलाउनुपर्नेछ,’ उनले भने, ‘डिजाइन निमिल्दा पुलमा समस्या देखिन थालेको छ ।’


उनका अनुसार करीब ३ करोड रुपैयाँ रकम ठेकेदारलाई भुक्तानी गर्न बाँकी छ । ठेकेदार कम्पनीलाई १० प्रतिशत हर्जना तिराउने गरी शर्त राखेर पुलको काम सक्ने मंसिर १ गतेदेखि ३ महिना (माघ मसान्त) सम्मको जिम्मा दिएको काफ्लेले बताए । पुल सक्ने सम्बन्धमा तिनै प्यासिफिकका ठेकेदार ठाकुर कँडेलसंग सम्झौता गरिएको उनले बताए । पुलका विषयमा अख्तियारमा समेत उजुरी परेको थियो । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले मंसिर १ बाट पुलको काम हुने भएकाले सवारी साधनलाई बैकल्पिक बाटो प्रयोग गर्ने लगाएको बताए ।


प्रकाशित : कार्तिक ३०, २०७६ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?