कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजमार्गमा दिनहुँजसो दुर्घटना 

नगेन्द्र अधिकारी

(काभ्रे) — सवारी चाप, सडकको दुरवस्था, चालकको लापरबाहीका कारण काभ्रे भएर जाने बीपी र अरनिको राजमार्गमा दुर्घटना बढेका बढ्यै छन्

राजमार्गमा दिनहुँजसो दुर्घटना 

घटना १ : कात्तिक १७ गते दोलखाको शैलुङ गाउँपालिकाको मागादेउरालीबाट काठमाडौंका लागि छुटेको बस अरनिको राजमार्गअन्तर्गत सुनकोसी नदीमा खस्दा १८ जनाले ज्यान गुमाए । ५० जनाभन्दा बढी घाइते भए ।


घटना २ : असोज २४ गते सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भयो । एक सयभन्दा बढी घाइते भए ।


घटना ३ : कात्तिक २५ गते बीपी राजमार्गअन्तर्गत नमोबुद्ध–२, पात्लेगाउँमा बस दुर्घटना हुँदा नमोबुद्ध ६ का ६५ वर्षीय रामकृष्ण कार्कीले ज्यान गुमाए । २४ जना घाइते भएकामा दुईजनाको अवस्था गम्भीर छ ।


घटना ४ : कात्तिक २६ गते काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको दुईजना सवार अनटेस्ट मोटरसाइकलबाट लडेका भक्तपुरका २० वर्षीय विमल कोटुजुलाई टिपरले किच्दा उनको मृत्यु भयो ।


माथिका घटनाक्रमले राजमार्ग र ग्रामीण भेगका सडकमा दैनिकजसो दुर्घटना भइरहेको जनाउँछ । सवारीको चाप, सडकको दुरवस्था, चालकहरूको लापरबाहीका कारण काभ्रे भएर जाने बीपी र अरनिको राजमार्गमा साना–ठूला दुर्घटना भइरहेका छन् । ती दुर्घटनामा ज्यान गुमाउने, अंगभंग हुनेको संख्या पनि बर्सेनि बढ्दो छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार, आर्थिक वर्ष २०७५/७६ मा भएका ७० वटा सवारी दुर्घटनामा ३७ जनाले ज्यान गुमाएका थिए । चालू आवको तीन महिनाको अवधिमा १८ वटा सवारी दुर्घटना भए । सातजनाले ज्यान गुमाइसकेका छन् । यही तथ्यांकका आधारमा विश्लेषण गर्ने हो भने अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष दुर्घटना बढ्ने देखिन्छ । तीन महिनामा काभ्रे जिल्लामा मात्रै २३ जना सख्त घाइते भएका छन् भने ९१ जना सामान्य घाइते भएका छन् ।


थोत्रा बस र कच्ची सडक

दोलखाको शैलुङ गाउँपालिका मागादेउरालीबाट छुटेको पूर्व अरनिको यातायात प्रालिको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुकुटे आइनपुग्दै बिग्रियो । सुनकोसीमा बस खसेपछि १८ जनाले ज्यान गुमाए, केही अझै भेटिएका छैनन् । ५० भन्दा बढी घाइते भए । २४ वर्षीय सरिता तामाङका अनुसार धेरै ठाउँमा बस रोक्दै/बनाउँदै आए पनि सुकुटे आएपछि पुन: ब्रेक लागेन र सुनकोसी नदीमा खस्यो । उनकी दुई महिनाकी छोरीसमेत सोही दुर्घटनामा हराइरहेकी छन् ।


दुर्घटना आफैंमा भवितव्य हो भनिए पनि यहीमात्र कारण होइन । चालकको लापरबाही, सडकको अवस्था र गाडीको नियमित मर्मत नहुँदा दुर्घटना भइरहेका छन् । सिन्धु हेलम्बु यातायात सेवा प्रालिका कम्पनी निर्देशकसमेत रहेका यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठ पछिल्लो समय गाडीको अवस्थाका कारण दुर्घटना भइरहेको स्विकार्छन् ।


‘नियमति मर्मत नभएका गाडीका कारण दुर्घटना हुन्छ, चालक/सहचालकले नियमित रेखदेख र मर्मत नगर्नु कमजोरी हो,’ उनले भने । स्थानीय सरकारले टोलटोलमा धुलेसडक खनेका छन् । बाटो खन्नेबित्तिकै गाडी चलाउने माग हुन्छ । स्थानीयको मागअनुसार जोखिम मोलेरै सेवा दिन बाध्य भएको श्रेष्ठको भनाइ छ । सातवटै प्रदेशमा ड्राइभिङ स्कुल चलाएर चालक र सहचालकलाई प्रशिक्षण दिन उनले सुझाएका छन् ।


जिल्लाका १३ वटै स्थानीय तहमा ट्र्याक मात्रै खोलिएका सडकमा गुड्ने गाडी वर्षायाममा ठप्प हुन्छन् । दाप्चा, तेमाल, भुम्लु, चौंरीददेउराली गाउँपालिकाका विभिन्न वडा, बेथानचोकको च्याम्राङबेँसी र मण्डनदेउपुरका विभिन्न क्षेत्रमा सडकको अवस्था दयनीय छ । नगरपालिका घोषणा भएका नमोबुद्ध, पाँचखाल, धुलिखेल, बनेपा, पनौती, मण्डनदेउपुरका भित्री र ग्रामीण सडकसमेत उत्तिकै जोखिमपूर्ण छन् । तत्कालीन जिल्ला विकास समितिले ०७० सालमा तयार पारेको जिल्ला सडक गुरुयोजनाको तथ्यांकअनुसार जिल्लाको मुख्य सडक सञ्जालमा पर्ने ६ सय ३६ किमि सडकमध्ये १२ दशमलव २ किमिमात्रै कालोपत्रे गरिएको छ भने १ सय ७० दशमलव ६ किमि गाभ्रेल छ । ४ सय ५३ किमि सडक धुले छन् । १ सय ८२ किमि सडक सबै मौसममा यातायात चल्ने खालका छन् भने ४ सय ५३ किमि सडकमा प्रतिकूल मौसममा यातायात चल्दैनन् ।


जनशक्ति अभाव

दुईवटा राजमार्ग भएको काभ्रेमा यातायात व्यस्थापन गर्न २१ जना मात्रै ट्राफिक प्रहरी कार्यरत छन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख रहेका प्रहरी निरीक्षक दामोदर सिलवाल जनशक्ति कम हुँदा निगरानी कमजोर भएको स्विकार्छन् । ‘जिल्ला प्रवेश गर्ने नाका साँगामा नै ट्राफिक प्रहरी राख्न सकिएको छैन,’ उनी स्विकार्छन्, ‘जनशक्ति कम भएका कारण निगरानी पनि केही कम भएको पक्कै हो ।’ उनले चालक सचेत नभएसम्म दुर्घटना कम हुन नसक्ने तर्क गर्छन् । ‘निगरानी बढाइरहेका छौं, जरिवाना पनि गत वर्षभन्दा बढी नै उठिरहेको छ । तर, पछिल्लो समय दुर्घटना बढ्यो,’ उनले भने, ‘भदौमा कुनै घटना भएनन्, असोजमा पनि दुईवटा भए तर कात्तिक लागेपछि दुर्घटनामा वृद्धि भयो ।’ जनशक्ति अभाव र सचेतनालगायतका कार्यक्रम कम भएको उनको भनाइ छ ।


निर्माण सामग्री ओसार्ने टिपर दैनिक तीन हजारको संख्यामा दुवै राजमार्ग हुँदै काठमाडौं जान्छन् । अरनिको र बीपी राजमार्ग भएर दैनिक दुई हजारदेखि दुई हजार पाँच सयभन्दा बढी सवारीसाधन गुड्ने गरेका छन् । यसकारण पनि काभ्रेमा सवारीको चाप छ ।


टिपरका कारण ५० प्रतिशत दुर्घटना

जिल्लामा हुने सवारी दुर्घटनामा ५० प्रतिशत टिपरको संलग्नता हुने तथ्यांकले देखाएको छ । आव ०७५/७६ मा भएका ७० मध्ये ३४ सवारी दुर्घटनामा टिपरको संलग्नता छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेका अनुसार सो आवमा ३७ जनाले ज्यान गुमाएकोमा टिपरकै कारण ११ जनाको मृत्यु भएको थियो ।


चालू आर्थिक वर्षको असोजसम्म भएका १८ सवारी दुर्घटनामा संलग्न २४ सवारीसाधनमध्ये ११ वटा मोटरसाइकल, ७ वटा टिपर, ५ वटा जिप वा कार र एक बस छन् । वाग्मती टिपर व्यवसायी संघका अध्यक्ष प्रेम लामा भने साना सवारीसाधनका कारण हुने दुर्घटनामा पनि टिपरलाई नै दोष दिने प्रवृत्ति रहेको तर्क गर्छन् । ‘रोकिराखेको टिपरमा बाइक आएर छिर्छ र पनि टिपरलाई नै दोष दिने गरिन्छ,’ लामाले भने ।


दुर्घटना न्यूनीकरणका लागि भन्दै जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको समन्वयमा वाग्मती टिपर व्यवसायी संघले प्रत्येक वर्ष चालक र सहचालकलाई अनुशिक्षण दिने गरेको भए पनि दुर्घटनामा कमी आउन सकेको छैन । ‘धेरै वर्षदेखि तालिम चलाउँदै आएका छौं, केहीमा असर राम्रो पनि देखिएको छ, तर दुर्घटना घटेन,’ संघका पूर्वअध्यक्ष शेरबहादुर कुँवरले भने, ‘अघिल्लो वर्ष तालिम लिएर हतारमा कुदाएको टिपर खोल्सामा खसाल्यो, तालिमले मात्रै सुधार हुने होइन, चालकको प्रतिबद्धता नै मुख्य कुरा हो ।’





प्रकाशित : कार्तिक २९, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?