मालागिरीको पहिचानपछि स्थानीय दंग
(दोलखा) — शैलुङ क्षेत्रमा पर्ने भैंसेको जंगलभित्र पहिल्यैदेखि मगमग बास्ना आइरहन्थ्यो । स्थानीय बासिन्दाले बास्ना आउने उक्त रूखको घाँस गाईवस्तुलाई खुवाउँथे । ‘ओहो कस्तो मीठो बसायो भन्दै ल्याउँथ्यौ, दाउरा पनि बाल्थ्यौं,’ सिताकोथान भष्मेपाखा सामुदायिक वनका अध्यक्ष विष्णु भुजेल भन्छन्, ‘खोजी गर्दै जाँदा मूल्यवान् काठ पो रहेछ ।’
स्थानीयहरूले हालै मात्र उक्त वनस्पति मालागिरी रहेको थाहा पाए । ‘मालागिरी पाइएको हल्लापछि फोन गरेर यसबारे बुझ्नेहरू बढेका बढ्यै छन्,’ भुजेलले भने ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातोसूचीको जोखिम निकट श्रेणीमा परेको मालागिरीको काठ, बोक्रा, पात, डाँठ वा फल अन्य मुलुकमा निर्यात गर्न पाइँदैन । सुगन्धकोकिला पनि भनेर चिनिने यसको महत्त्व थाहा पाउनेबित्तिकै दोलखामा संरक्षण थालिएको छ । अत्तर र बास्नादार वस्तुमा प्रयोग गर्न प्रशोधन गर्नेबारे पनि बहस सुरु भएको छ ।
कहिलेकाहीँ दूध, दही बिग्रिएमा यसको बोक्रा हाल्दा मीठो स्वाद आउने भएकाले त्यसमा पनि प्रयोग गर्ने गरिएको भुजेलले बताए । यस क्षेत्रको अध्ययन गरी सुगन्धकोकिला/मालागिरी नामक पुस्तक लेखेका जिल्ला वन कार्यालयका पूर्वसहायक वन अधिकृत सुजितकुमार झाले ठूला रूखमा टाँचा लगाउन र साना रूख संरक्षण गर्न थालिएको बताए । भारतीय बजारमा उक्त काठको धुलोलाई प्रतिकिलो एक हजारसम्म पर्छ ।
झाको पुस्तकमा दोलखाको भैंसे क्षेत्रमा ३० वटामात्रै रूख भेटिएको उल्लेख छ । हाल घरेलु कार्यालयमा सरुवा भएका उनले भने, ‘जब पुस्तक बाहिर आयो, जिल्लाका अन्य क्षेत्रमा पनि यस्ता रूख भेटिएको खबर पाएको छु ।’
रूखप्रति चासो बढेपछि जिल्ला वन कार्यालयले उपभोक्ता समूहलाई जंगल सफाइ गर्न ४२ हजार रुपैयाँ पठाएको छ । समूहले रकम थपेर १२ हेक्टर जंगल क्षेत्रको झाडी सफाइ गरेको अध्यक्ष भुजेलले जानकारी दिए । ‘जंगल सफा गर्दा थप १५ वटा मालागिरीको बिरुवा भटियो,’ उनले भने । २० वटा पुराना रूख काट्दा आउने कच्चा पदार्थ प्रयोगबारे छलफल चलिरहेको उनको भनाइ छ ।