डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

रासस

काठमाडौँ — मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ ।

वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष जगतमान घिसिङ परिवारसहित अमेरिका गएको थियो । अध्यक्ष घिसिङको राजीनामा समयमा नआएकाले उपनिर्वाचनका लागि समस्या भएको निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले बताए ।

निर्वाचन कार्यालयका प्रमुख पौडेललले राजीनामा जुनसुकै माध्यमबाट आए पनि त्यो हस्तलिखित हुनुपर्ने र हस्तलिखित नहुँदा मान्य नहुने प्रावधान रहेको बताए । उक्त वडामा उपनिर्वाचन हुन शुरूदेखिकै कुनै पनि प्रकिया नभएको प्रमुख पौडेलको भनाइ छ । अध्यक्ष घिसिङ निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका थिए । उडेको पाँच महिनापछि मात्र घिसिङले गाउँपालिकामा इमेलमार्फत राजीनामा दिएका गाउँपालिका प्रमुख हिदम लामाले जानकारी दिए। सुरुमा अमेरिका गएको भन्दै तीन महिनाका लागि बिदा लिएका वडाध्यक्ष घिसिङ पाँच महिनासम्म पनि अमेरिकामै रहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि राजीनामा दिन बाध्य भएर इमेलमा राजीनामा पठाएको उनको भनाइ छ । उनले भने, “घिसिङले इमेलमार्फत त राजीनामा पठाउनुभयो, तर हस्तलिखित राजीनामा पठाउन पनि आलटाल नै गर्नुभयो ।”

भदौमा इमेलमार्फत राजीनामा दिएका घिसिङको असोजको आधाआधीमा पनि लिखित राजीनामा नआएको जनाइएको छ । असोजमा उम्मेदवार छनोटको तीव्र तयारी भइरहेको तर राजीनामा नआउँदा उपनिर्वाचन गराउन समस्या रहेको बताइएको छ । देशमा उपनिर्वाचन गराउने तयारी भइरहेको अवस्थामा समेत घिसिङले हस्तलिखित राजीनामा नपठाएका कारण उक्त वडामा उपनिर्वाचन नहुने भएको छ ।

उक्त वडामा विसं २०७४ भएको वडाध्यक्षको निर्वाचनमा नेकपाका जगतमान घिसिङको ५४१ मत थियो भने दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राउतले २२३ मत प्राप्त गरेका थिए । त्यस्तै नेपाली काङ्ग्रेसका दिपेशकुमार विश्वकर्माले १९१ मत प्राप्त गरेका थिए ।

प्रकाशित : कार्तिक २८, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हार्वर्ड विश्वविद्यालयको पूर्व विद्यार्थी समूहले गर्‍यो रुप ज्योतीको रिहाइको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका नेपाली पूर्व विद्यार्थीहरुको समूहले त्यहाँबाट पीएचडी गरेका व्यापारी रुप ज्योतीलाई छिटो रिहाई गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

त्यहाँ पढेका ३८ विद्यार्थीको समर्थनमा जारी विज्ञप्तीमा वार्ता र छलफलको माध्यमबाट टुंगिन सक्ने आर्थिक लेनदेनको मुद्दालाई आपराधिक क्रियाकलाप झैं बनाएर प्रतिष्ठित व्यापारीको परिवारलाई नै प्रताडित गर्ने कार्य बन्द हुनुपर्ने बताइएको छ । नेपालमा कानुनी राज्य रहेको स्थापित गर्न पनि ज्योती परिवारलाई छिटोभन्दा छिटो रिहा गर्नुपर्ने माग विद्यार्थी समूहको छ ।

विज्ञप्तीमा उल्लेख भएअनुसार सरकारले उनलाई तत्काल रिहा नगरे नेपालमा जो कोहीलाई कुनैपनि मुद्दामा थुन्नसक्ने र इज्जत माथि आक्रमण गर्नसक्ने अवस्था रहेको छ भनि सन्देश जानेछ ।

प्रकाशित : कार्तिक २८, २०७६ ११:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×