कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस महाधिवेशन प्रतिनिधिको भेला : ‘उपनिर्वाचन प्रतिष्ठाको विषय’

कान्तिपुर संवाददाता

मकवानपुर — नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले मंसिर १४ गते हुने उपनिर्वाचनलाई पार्टीले प्रतिष्ठा र परीक्षाको रूपमा लिएर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रदेश ३ को मुकाम हेटौंडामा भएको महाधिवेशन प्रतिनिधिको भेला तथा प्रशिक्षणमा सहभागीले वर्तमान सरकार आलोचित भइरहेका कारण उपनिर्वाचनलाई प्रतिष्ठाको रूपमा लिएर प्रचारप्रसारमा जुट्न प्रतिनिधिहरूले जोड दिए ।

‘पार्टीको शीर्ष नेतृत्वलाई एक ढिक्का भएर गुट अन्त्य भएको सन्देश दिँदै उपनिर्वाचनमा सशक्त रूपमा प्रस्तुत हुने गरी रणनीति बनाउन आग्रह गरिएको छ,’ महाधिवेशन प्रतिनिधि टेकनाथ शिवाकोटीले भने । भेलामा सहभागीले वर्तमान नेकपा नेतृत्वको सरकार क्रमश: अलोकप्रिय भइरहेको र जनमत गुमाइरहेको निष्कर्ष निकालेको उनले बताए ।


समापन समारोहमा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक प्रणालीअनुसार काम नगरेको आरोप लगाएका थिए । संवैधानिक प्रणालीलाई कमजोर पार्ने, राज्यका अंगमाथि नियन्त्रण गर्न खोज्ने, सी विचारधाराबारे प्रशिक्षण चलाउने लगायतका गतिविधिले देशलाई अधिनायकवादतर्फ उन्मुख गराउन खोजेको उनको भनाइ थियो । ‘यस्ता अधिनायकवादी चरित्रबारे जनतालाई बेलैमा सूचित गर्न प्रशिक्षण कार्यक्रम गरिएको हो,’ प्रशिक्षण विभागका प्रमुखसमेत रहेका निधिले भने ।


दुईदिने प्रशिक्षणमा रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका दुई सय ९० महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय सदस्यको सहभागिता थियो । सहभागीलाई प्रतिष्ठानका प्रमुख निधि, सदस्य एवं राष्ट्रिय योजना अयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल, डा. जगदीशचन्द्र पोखरेल, प्रशिक्षण विभागका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, प्रतिष्ठानका सदस्य डा. आरजु देउवा, खिला दाहाल र राजु नेपालले सहजीकरण गरेका थिए ।






प्रकाशित : कार्तिक २८, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?