कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुल्क विवाद सुल्झाउन नागरिक समाजको ज्ञापनपत्र

कान्तिपुर संवाददाता

चितवन — मेडिकल कलेजको समस्या समाधान गर्न माग गर्दै जिल्लास्थित नागरिक समाजले बुधबार चितवन जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्थाले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएको हो । विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्ने सहमति चितवन मेडिकल कलेजले पालना नगरेको भन्दै विद्यार्थीले फेरि आन्दोलन सुरु गरेपछि समाजले चासो राखेको हो ।

सरकारले तोकेभन्दा बढी शुल्क कलेजले लिएको भन्दै विद्यार्थीले गत भदौदेखि आन्दोलन सुरु गरेका थिए । असोज ४ गते चितवन जिल्ला प्रशासन कार्यालयमा विद्यार्थी, अभिभावक र चितवन मेडिकल कलेजका सञ्चालकबीच वार्ता र सहमति भएको थियो ।


कात्तिक १८ भित्र बढी लिएको शुल्क विद्यार्थीलाई फिर्ता वा समायोजन गर्ने सहमति भए पनि कार्यान्वयन नभएपछि विद्यार्थीले कात्तिक २४ गतेदेखि फेरि कलेजमा तालाबन्दी गरेका छन् । ‘कलेज पक्षबाट उक्त निर्णयविपरीत कार्य गरी बेवास्ता गरेको सम्बन्धमा नागरिक निगरानी संस्था चितवनको ध्यानाकर्षण भएको छ,’ ज्ञापनपत्रमा उल्लेख छ । संस्थाका अध्यक्ष तथा राष्ट्रियसभाका पूर्वसदस्य भीमबहादुर श्रेष्ठले प्रशासन कार्यालयमा भएको वार्ताबाट आएको सहमति पालना नहुनु दु:खद भएको बताए ।


ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले संस्थाका पदाधिकारीसँग अन्तक्रिया गरे । सरकारले प्रमुख जिल्ला अधिकारीलाई शैक्षिक सत्र ०७५/७६ मा भर्ना भएका विद्यार्थीको शुल्कका विषयमा मात्रै हेर्न भनेको बताउँदै उनले थपे, ‘हामीले हेर्ने गएको शैक्षिक सत्रको मात्र हो, विद्यार्थीले ०७२/७३ देखिको खोजेका छन् । कलेज सञ्चालकहरूको त्यसमा विमति छ ।’ ०७५/७६ मा डिन कार्यालयले कुनै पनि शुल्क लिन नपाइने भने पनि कलेजहरूले ६ लाख २५ हजार रुपैयाँसम्म लिएको स्वीकार गरेको प्रजिअ बस्नेतले बताए ।

प्रकाशित : कार्तिक २८, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?