कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४०% महिला ‘असुरक्षित सुत्केरी’

कान्तिपुर संवाददाता

हेटौंडा — प्रदेश ३ मा ४० प्रतिशत गर्भवती महिला असुरक्षित ढंगले घरमै सुत्केरी हुने गरेको पाइएको छ । प्रदेश ३ को स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार संघीय राजधानीसमेत रहेको प्रदेश ३ का ६० प्रतिशत महिला मात्र स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेका छन् ।

‘त्यसमध्ये ५७ प्रतिशत तालिमप्राप्त स्वास्थ्यकर्मीबाट सुरक्षित ढंगले सुत्केरी हुने गरेको पाइयो,’ निर्देशनालयका निर्देशक रमेशप्रसाद अधिकारीले भने, ‘अघिल्लो वर्षको भन्दा गत वर्ष स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ ।’ अघिल्लो आवमा ५६ प्रतिशत मात्र स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए भने गत आवमा ६० दशमलव ३ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी भएको निर्देशनालयको तथ्यांक छ ।

हेटौंडामा दुई साताअघि सम्पन्न प्रदेशस्तरीय स्वास्थ्य संस्थाहरूको समीक्षा गोष्ठीमा प्रस्तुत प्रतिवेदनका आधारमा प्रदेश ३ का १३ जिल्लामध्ये सबैभन्दा बढी असुरक्षित ढंगले सुत्केरी हुने जिल्लामा रसुवा, सिन्धुपाल्चोक र रामेछाप रहेका छन् । रसुवामा २६ प्रतिशत मात्र महिला स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गरेका छन् । ७४ प्रतिशत घरमै सुत्केरी हुने गर्छन् । ‘सुत्केरी व्यथा लागेपछि धामीझाँक्री लगाउने चलन छ,’ रसुवाका इन्सेक प्रतिनिधि हेमनाथ खतिवडाले भने, ‘अशिक्षाका साथै रूढिवादी चिन्तन र नजिक स्वास्थ्य संस्था नभएकाले पनि असुरक्षित प्रसूति हुने गरेको हो ।’ रसुवामा थोरै (२० प्रतिशत) ले मात्र परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने गरेका छन् ।

यसैगरी, सिन्धुपाल्चोकका ७३ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेको पाइएको छ । २७ प्रतिशत बर्थिङ सेन्टरमा आउने गरेका छन् । रामेछापमा ७२ प्रतिशत महिला घरमै असुरक्षित ढंगले सुत्केरी हुने गरेका छन् ।

निर्देशनालयका अनुसार २५ प्रतिशतले मात्र परिवार नियोजनका अस्थायी साधन प्रयोग गरेका छन् । सिन्धुलीका ६६ प्रतिशत महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा आउँदैनन् । सबैजसो गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने एक मात्र जिल्ला हो, चितवन । जिल्लामा रहेका शतप्रतिशत महिला स्वास्थ्य संस्था आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बताए । ‘स्वास्थ्य संस्थाको तथ्यांक हेर्ने हो भने जिल्लामा अनुमानित गर्भवतीभन्दा सुत्केरी हुनेको संख्या धेरै छ, चितवनका स्वास्थ्य संस्थामा छिमेकी जिल्लाबाट पनि सुत्केरी हुन आउँछन्,’ उनले भने ।

चितवनपछि स्वास्थ्य संस्थामा सबैभन्दा धेरै सुत्केरी हुन आउनेमा ललितपुर पर्छ । यहाँ ९० प्रतिशत गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेको निर्देशनालयमा स्वास्थ्य शिक्षा अधिकृत वसन्त चालिसेले जानकारी दिए । यस जिल्लाका १० प्रतिशत मात्र असुरक्षित ढंगले घरमा सुत्केरी हुने गरेका छन् ।

संघीय राजधानीसमेत रहेको काठमाडौंका ३० प्रतिशत गर्भवती अझै पनि घरमा असुरक्षित ढंगले सुत्केरी हुने गरेका छन् । जिल्लाका ७० प्रतिशतले मात्र बर्थिङ सेन्टरको सेवा लिएका छन् । मकवानपुरका ५८ प्रतिशत गर्भवती घरमै असुरक्षित ढंगले सुत्केरी हुने गरेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाबाट निर्देशनालयले तथ्यांक संकलन गरेको हो ।

संघीय सरकारले मात्र होइन, स्थानीय तहहरूले पनि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई भत्ताको व्यवस्था गरेका छन् । त्यसको प्रभाव बिस्तारै पर्न थालेको अधिकृत चालिसेले बताए ।

यसैगरी काभ्रेका ४९ प्रतिशत, दोलखाका ५१, धादिङका ६२ र भक्तपुरका ३८ प्रतिशत महिला असुरक्षित ढंगले घरमै सुत्केरी हुने गरेका छन् ।

प्रदेश ३ मातहत ८ वटा अस्पताल, ४२ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ६४२ वटा स्वास्थ्यचौकी, १०३ वटा सहरी स्वास्थ्य केन्द्र, खोपकेन्द्र २ हजार ४८२, गाउँघर क्लिनिक १ हजार ९८३ र महिला स्वयंसेविका ९ हजार ६८१ जना रहेका छन् ।

प्रकाशित : कार्तिक २५, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?