कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालमै आत्महत्या

रमेशकुमार पौडेल

(चितवन) — अघिल्लो वर्ष प्रेमविवाह गरेका लमजुङ दूधपोखरी गाउँपालिका–२ का विष्णुबहादुर सुनार ससुराली गाउँ चितवन इच्छाकामना गाउँपालिकाको दाहखानीमा बस्दै आएका थिए । तीन महिनाअघि छोरो जन्मियो । श्रीमती सुजिता बिरामी भएपछि अघिल्लो आइतबार उपचारका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । सुजिता निको हुँदै थिइन्, तर विष्णुले शुक्रबार राति अस्पतालमै आत्महत्या गरे ।

श्रीमतीको उपचार भइरहेको भरतपुर अस्पतालको मेडिकल वार्डको भर्‍याङको रेलिङमा झुन्डिएको अवस्थामा मृत फेला परे । सुत्केरी भएपछि विष्णुकी श्रीमती सुजिताको मुटुनजिक छातीमा पानी जम्ने समस्या थियो । ‘उपचार राम्रै भइरहेको थियो । शनिबार/आइतबार घर पठाउँदै पनि थियौं,’ अस्पतालका सूचना अधिकारी लीला पौडेलले भने ।


श्रीमतीको उपचार त्यति खर्चिलो पनि थिएन । ‘उहाँ कुखुरा फार्ममा काम गर्नुहुन्थ्यो । पैसा भए पनि नभए पनि हामीले सहयोग गरेकै थियौं,’ मृतक विष्णुका साढुभाइ अनिल सुनारले भने, ‘खै के सोच्नुभएर यस्तो निर्णय लिनुभयो ।’ अस्पतालमा विष्णुको सासूसँगै साली र साढुभाइ पनि बिरामी कुर्न बसेका थिए ।


पर्वका बेला २० जनाले ज्यान फाले

जिल्लामा सडक दुर्घटना वा अन्य दुर्घटनामा परेर भन्दा आत्महत्या गरेर ज्यान गुमाउनेहरूको संख्या धेरै छ । दसैं/तिहारका बेला चितवनमा आत्महत्याका कारण २० जनाको ज्यान गएको चितवन जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।


कार्यालयले असोज १२ देखि कात्तिक १५ गतेसम्म चाडपर्वलक्षित जिल्ला सुरक्षा योजना बनाएको थियो । यो अवधिमा विभिन्न घटनामा ४८ जनाको ज्यान गएको छ । जसमध्ये सबैभन्दा धेरै आत्महत्या गर्नेहरू नै छन् ।


प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) एकनारायण कोइरालाका अनुसार ११ जना पुरुष, आठजना महिला र एकजना बालिकासहित असोज १२ देखि कात्तिक १५ गतेसम्म आत्महत्याका कारण २० जनाको निधन भएको छ । जब कि यो अवधिमा कर्तव्य ज्यान अर्थात् हत्याका कारण ज्यान गुमाउने एकजना मात्रै छन् । गाडी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या सात छ ।


‘परामर्श आवश्यक’

मान्छेलाई रमाइलो वा उराठलाग्दो वातावरण दुवैले आत्महत्याका लागि प्रेरित गर्न सक्ने चितवनका मनोरोग चिकित्सक डा. सीपी सेढाई बताउँछन् । ‘रमाइलो माहोलमा पनि मान्छे अनेक तनावले घेरिएको हुन सक्छ । यस्तो बेला रक्सीजस्ता नशालु पदार्थ सेवन गरेर फ्याट्ट आत्महत्या गर्न सक्छ,’ उनले भने । आत्महत्याको प्रमुख कारण डिप्रेसन भएको उनको भनाइ छ । मान्छे ससाना कुराले पनि डिप्रेसनमा जाने र आत्महत्या गर्नेमध्ये ८० प्रतिशत डिप्रेसनकै बिरामी भएको उनले बताए । ‘यो उपचार हुने समस्या हो । तर समस्यामा परेका व्यक्तिको चिकित्सकसम्म पहुँच छैन,’ उनी भन्छन् ।


यस्ता घटना बढिरहँदा परामर्श आवश्यक पर्ने व्यक्तिलाई चिकित्सकसम्म कसरी पुर्‍याउन सकिन्छ भनेर सबैले सोच्नुपर्ने बेला आएको डा. सेढाईले बताए ।

प्रकाशित : कार्तिक २४, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?