आत्महत्या दुरुत्साहन : पतिलाई नौ महिना कैद
(चितवन) — छोरा–छोरीसहित सामूहिक आत्महत्या गरेकी महिलाका पतिलाई आत्महत्या दुरुत्साहन मुद्दामा नौ महिना कैद फैसला सुनाइएको छ । चितवन जिल्ला अदालतले यो घटनामा अन्य तीन जनालाई पनि दोषी ठहर गर्दै जेल र जरिवानाको सजाय गरेको हो । जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उक्त सजाय सुनाएको अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।
गत चैत २२ गते बिहान भरतपुर महानगरपालिका–१८ शशिनगरमा ३१ वर्षकी बुद्धिमाया आले, उनका १४ वर्षीया छोरी विनिता र ११ वर्षका छोरा विवश घरभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । यो घटनामा मृतक महिलाका दाजु र सासूले आत्महत्या दुरुत्साहनमा छुट्टाछुट्टै तीनवटा उजुरी दर्ता गराएका थिए । मृतकका श्रीमान्, जेठाजु र अन्य दुईजना छिमेकीविरुद्ध जिल्ला अदालतमा वैशाख २४ गते मुद्दा परेको थियो ।
स्रेस्तेदार गिरीका अनुसार मृतक बुद्धिमायाका श्रीमान् नरबहादुर आलेलाई अदालतले नौ महिना कैद र नौ हजार रुपैयाँ जरिवाना गरेको छ । त्यसैगरी मोतीकुमार श्रेष्ठलाई ६ महिना कैद र ६ हजार रुपैयाँ जरिवाना भएको छ । भीमबहादुर लामा तमाङ र शेरबहादुर आलेलाई तीन/तीन महिना कैद र तीन/तीन हजार रुपैयाँ जरिवाना गरिएको छ । शेरबहादुर मृतक बुद्धिमायाका जेठाजु र मोतीकुमार र भीमबहादुर छिमेकी हुन् । बुद्धिमायाका पति नरबहादुर नेपाली सेनामा कार्यरत छन् । उनको जेठाजुको घर पनि आडैमा छ । नरबहादुर घरदेखि बाहिर रहँदा अन्य पुरुषसँग सम्बन्ध राखेको भन्ने लाञ्छनाले आत्महत्यासम्म गर्नुपरेको जिकिरका साथ दुरुत्साहन मुद्दा दायर भएको थियो ।
गत भदौ २९ गते राति छिमेकी मोतीकुमार बुद्धिमायाको घरभित्र बसेका बेलामा भीमबहादुरले बाहिरबाट ढोकाको चुकुल लगाएर गाउँमा हल्ला गरेका थिए । यही हल्लाको बद्नामी र पीडाले बुहारीले आत्महत्या गरेको सासू नरमायाको उजुरीमा उल्लेख छ । बुद्धिमायाका दाइले यसमा श्रीमान् र जेठाजुको पनि दोष भएको भन्दै थप उजुरी दिएका थिए ।
चौथो फैसला
गत वर्षको भदौदेखि दर्ता हुन थालेको आत्महत्या गर्न बाध्य पार्ने अर्थात् दुरुत्साहन मुद्दामा चितवन अदालतले गरेको यो चौथो फैसला हो । नयाँ मुलुकी संहिता जारी भएपछि जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा अहिलेसम्म सातवटा मुद्दा दायर भएको सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाले बताए ।
चितवन अदालतमा माधव न्यौपानेविरुद्ध आत्महत्या दुरुत्साहनको पहिलो मुद्दा दायर भएको थियो । पहिलो फैसला पनि सोही मुद्दामा भएको थियो । अदालतमा अब आत्महत्या दुरुत्साहनका तीनवटा मुद्दा विचाराधीन छन् ।
प्रकाशित : कार्तिक २०, २०७६ ०९:१०