आत्महत्या दुरुत्साहन : पतिलाई नौ महिना कैद

रमेशकुमार पौडेल

(चितवन) — छोरा–छोरीसहित सामूहिक आत्महत्या गरेकी महिलाका पतिलाई आत्महत्या दुरुत्साहन मुद्दामा नौ महिना कैद फैसला सुनाइएको छ । चितवन जिल्ला अदालतले यो घटनामा अन्य तीन जनालाई पनि दोषी ठहर गर्दै जेल र जरिवानाको सजाय गरेको हो । जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उक्त सजाय सुनाएको अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए । 

गत चैत २२ गते बिहान भरतपुर महानगरपालिका–१८ शशिनगरमा ३१ वर्षकी बुद्धिमाया आले, उनका १४ वर्षीया छोरी विनिता र ११ वर्षका छोरा विवश घरभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । यो घटनामा मृतक महिलाका दाजु र सासूले आत्महत्या दुरुत्साहनमा छुट्टाछुट्टै तीनवटा उजुरी दर्ता गराएका थिए । मृतकका श्रीमान्, जेठाजु र अन्य दुईजना छिमेकीविरुद्ध जिल्ला अदालतमा वैशाख २४ गते मुद्दा परेको थियो ।

स्रेस्तेदार गिरीका अनुसार मृतक बुद्धिमायाका श्रीमान् नरबहादुर आलेलाई अदालतले नौ महिना कैद र नौ हजार रुपैयाँ जरिवाना गरेको छ । त्यसैगरी मोतीकुमार श्रेष्ठलाई ६ महिना कैद र ६ हजार रुपैयाँ जरिवाना भएको छ । भीमबहादुर लामा तमाङ र शेरबहादुर आलेलाई तीन/तीन महिना कैद र तीन/तीन हजार रुपैयाँ जरिवाना गरिएको छ । शेरबहादुर मृतक बुद्धिमायाका जेठाजु र मोतीकुमार र भीमबहादुर छिमेकी हुन् । बुद्धिमायाका पति नरबहादुर नेपाली सेनामा कार्यरत छन् । उनको जेठाजुको घर पनि आडैमा छ । नरबहादुर घरदेखि बाहिर रहँदा अन्य पुरुषसँग सम्बन्ध राखेको भन्ने लाञ्छनाले आत्महत्यासम्म गर्नुपरेको जिकिरका साथ दुरुत्साहन मुद्दा दायर भएको थियो ।

गत भदौ २९ गते राति छिमेकी मोतीकुमार बुद्धिमायाको घरभित्र बसेका बेलामा भीमबहादुरले बाहिरबाट ढोकाको चुकुल लगाएर गाउँमा हल्ला गरेका थिए । यही हल्लाको बद्नामी र पीडाले बुहारीले आत्महत्या गरेको सासू नरमायाको उजुरीमा उल्लेख छ । बुद्धिमायाका दाइले यसमा श्रीमान् र जेठाजुको पनि दोष भएको भन्दै थप उजुरी दिएका थिए ।

चौथो फैसला
गत वर्षको भदौदेखि दर्ता हुन थालेको आत्महत्या गर्न बाध्य पार्ने अर्थात् दुरुत्साहन मुद्दामा चितवन अदालतले गरेको यो चौथो फैसला हो । नयाँ मुलुकी संहिता जारी भएपछि जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा अहिलेसम्म सातवटा मुद्दा दायर भएको सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाले बताए ।

चितवन अदालतमा माधव न्यौपानेविरुद्ध आत्महत्या दुरुत्साहनको पहिलो मुद्दा दायर भएको थियो । पहिलो फैसला पनि सोही मुद्दामा भएको थियो । अदालतमा अब आत्महत्या दुरुत्साहनका तीनवटा मुद्दा विचाराधीन छन् ।

प्रकाशित : कार्तिक २०, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्

सुकुटेमा यात्रुबस दुर्घटना : माग पूरा नभए पनि शव बुझेर दाहसंस्कार

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको सुकुटेमा यात्रुबस दुर्घटना हुँदा ज्यान गुमाएका १८ जनाका आफन्तले शव बुझेर दाहसंस्कार गरेका छन् । 


अरनिको यातायातसमक्ष २० बुँदे माग राख्दै उनीहरूले सोमबार बाह्रबिसेदेखि सुकुटे क्षेत्रसम्म यातायात अवरोध गरेका थिए । शव दुर्गन्धित बन्न थालेपछि सबैको आग्रहमा शव बुझेर सद्गत गरेको सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् । मृतकहरूको शव बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको थियो ।

मृतकका आफन्तले प्रतिपरिवार २० लाख क्षतिपूर्ति, घाइतेको उपचार, पुराना बस हटाउनुपर्ने, दुर्घटनाको छानबिनलगायत माग राख्दै शव नउठाउने अडान लिएका थिए । अरनिको यातायात कम्पनीका प्रतिनिधि, दोलखाका सांसद पार्वत गुरुङ, प्रदेश सांसदद्वय पशुपति चौलागार्इं र विशाल खड्काले पीडित पक्षको मागबारे सम्बोधन गरेका थिए । अरनिको यातायात कम्पनीका अध्यक्ष चित्र कुँवर उपस्थित नभएपछि सोमबार राति १० बजे वार्ता समिति बनाइएको थियो । सांसद, दोलखा र सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र मृतकका परिवारबीच मंगलबार ३ बजेसम्म भएको छलफलमा पनि सहमति नजुटेको दोलखाका प्रदेश सांसद विशाल खड्काले बताए । ‘शवको अवस्था हेरेर उहाँहरूले बुझ्दै सद्गत गर्नुभएको छ, यसबारे पीडित परिवार र कम्पनीबीच सहमति गराउन थप वार्तामा जानेछौं,’ उनले भने ।

आइतबार दिउँसो दोलखाबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबस सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–सुकुटेमा दुर्घटना भएको थियो । बस सुनकोसी नदीमा खस्दा १५ जनाको घटनास्थलमै र उपचार क्रममा दुई जनाको मृत्यु भएको थियो । हराइरहेका उदयपुर चौदण्डी नगरपालिका–६ का २३ वर्षीय विजय तामाङको शव सोमबार सुनकोसी बगरमा शव फेला परेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

सोमबार दिउँसो नाराबाजीसहित आन्दोलनमा उत्रिएका पीडित परिवारले अरनिको कम्पनीका सबै यात्रुबस जलाउने धम्की दिएका थिए । आक्रोशित परिवारले सुकुटे क्षेत्रमा ४ घन्टा सवारीसाधन ठप्प पारे । ‘ठूलो दुर्घटना र क्षति धेरै भएकाले राज्यले तोकेबमोजिम क्षतिपूर्ति दिने कुरा छलफलमा राखेका छौं,’ अरनिको यातायात कम्पनी प्रालिका अध्यक्ष चित्र कुवँरले भने, ‘प्रतिपरिवार किरियाखर्चसहित ५ लाख ४० हजार दिने निश्चित गरेका हौं, तर उहाँहरूले मान्नुभएको छैन ।’

बन्यो छानबिन समिति
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार लगातार भइरहेको यात्रुबस दुर्घटनाको छानबिन समिति बनाएर अनुसन्धान सुरु गरिएको छ । यात्रुबसमा ओभरलोड, यान्त्रिक गडबडीदेखि ट्राफिक अनुगमन, सचेतनाजस्ता कुरालाई मुख्य मुद्दा बनाएर समितिले अनुसन्धान गर्नेछ । ‘अब यस्तो दुर्घटना नदोहोरिन दिन सुरक्षा संयन्त्र र अनुमगनको पाटोलाई नयाँ ढंगबाट लैजानेछौं,’ प्रहरी उपरीक्षक महर्जनले भने । उक्त क्षेत्रमा दुर्घटना भइरहने गरेका छन् ।

प्रकाशित : कार्तिक २०, २०७६ ०९:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT