ब्युँतिएन रामेछाप पदमार्ग
(रामेछाप) — सगरमाथा आधार शिविरतर्फ पदयात्रा जाने मुख्य सिजन सुरु भएको एक महिना बितिसक्दा पनि रामेछापको पदमार्ग सुनसान छ । उक्त क्षेत्र पर्यटन बोर्डले केही वर्षअघि प्रवर्द्धन गरेको नयाँ गन्तव्य हो ।
‘दिनको १०–१५ जनाको टोली उता गइरहेको छ,’ गौरीशंकर संरक्षण क्षेत्रको चेकपोस्टका आङछिरी शेर्पाले भने, ‘संरक्षण क्षेत्रको नुम्बु चिज सर्किट जानेको संख्या भने निराशाजनक नै छ ।’ उनका अनुसार यो सिजनमा जम्मा १५ जनाले नुम्बुर चिज सर्किटको यात्रा तय गरेका छन् ।
चेकपोस्टको तथ्यांकमा एक महिनाको अवधिमा करिब दुई सय पर्यटकमात्र पदमार्ग भएर सोलुतर्फ उक्लिएका छन् । १५ वर्षअघि यही बाटोमा अनगन्ती पर्यटहरू हिँड्थे । भरिया, गाइड र विदेशीले खचाखच बाटोको रौनक नै बेग्लै हुन्थ्यो । अहिले पर्यटक हेर्न ‘गौंडो’ कुर्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन् ।
मन्थलीबाट लुक्लाका लागि निजी क्षेत्रका विमानले पर्यटक ओसार्न थालेपछि शिवालयको बाटोबाट सोलु भित्रिने गरेका पर्यटक स्वाट्टै घटेका हुन् । स्थानीय राजन कार्की भन्छन्, ‘पहिले विदेशीले बास पाउन मुस्किल हुन्थ्यो, अहिले कोही आइदिए हुन्थ्यो भनेर कुर्नुपर्ने बेला आयो । धेरैका लज खाली छन् । बजार सुनसान छ ।’ कार्कीका अनुसार जिरीसम्म सडक यातायातबाट आउने पर्यटक पहिलो दिन रामेछापको शिवालयमा बास बस्थे ।
शिवालयमा पर्यटककेन्द्रित होटल तथा लज निर्माण गरिएका छन् । तर ती सुनासानजस्तै हुन्छन् । बजारमा पर्यटक लक्षित झन्डै दुई दर्जन लज छन् ।
विगतमा पर्यटक नआउनुको मुख्य कारण तत्कालीन सशस्त्र द्वन्द्व थियो । त्यसबेला पर्यटकसँग पैसा असुल्ने, सामान खोस्ने गलत क्रियाकलाप भएकाले उनीहरू बिच्किएको स्थानीय शंकर कार्की बताउँछन् । ‘त्रासमा हिँड्नुभन्दा विमानबाट सोझै लुक्ला जाने पर्यटक बढेका हुन् । शान्ति स्थापना भएपछि पनि पदमार्ग गुल्जार हुनै सकेन ।’
शिवालयदेखि रामेछापको बाम्तीसम्मका प्रायः सबै ठाउँमा होटल र पसल थिए । अहिले त्यहाँका होटल विस्थापित हुँदै छन् । ‘त्यस्तो दिन अब आउँदैन होला,’ देउरालीका व्यवसायी बाबुकाजी शेर्पाले भने, ‘त्यसबेला त यहाँ खचाखच पाहुना आउने र जाने भइरहन्थ्यो । विदेशी र भरियाको लर्को, भरिया, खच्चर र धपाउने गोठाला, नेपाली पथ प्रदर्शकको ताँती नै लाग्थ्यो ।’
पर्यटकको चाप हुँदा स्थानीय सामानले पनि बजार पाएको थियो । चौंरीको चिज, आलु, खोर्सानी, टिम्बुरजस्ता उत्पादनबाट कृषकले फाइदा लिन्थे ।
खानेबस्ने ठाउँ महिनौंअघि नै बुक गर्नुपर्ने शेर्पा सम्झन्छन् । ‘केही त बास नपाएर बाम्तीतिरै झर्थे । व्यापार मज्जाको थियो । खानाका परिकार विदेशी शैलीमै बन्थे,’ उनले भने । अब त्यो अवस्था रहेन । हिउँदमा मोटर बाम्ती हुँदै सोलुसम्मै पुग्छ । वर्षायाम सडक अवरुद्ध हुँदा मात्र अलि चहलपहल बढ्ने शेर्पाले बताए । वर्षमा ८/१० समूहमा आउने पर्यटकले मात्रै पदमार्ग पछ्याइरहेका छन् ।
शिवालय र देउरालीको मात्र व्यवसाय सुकेको छैन, नेपालको स्विट्जरल्यान्ड भनेर चिनिने दोलखाको जिरीको व्यापार पनि स्याप्पै सुकेको छ । सगरमाथाको आधार शिविर जाने एक मात्र पदमार्ग जिरीदेखि माली, शिवालय, साङ्वाडाँडा, देउराली, भण्डार, किन्जा, जुनबेँसी त्यसैगरी सुकेका छन् ।
सरकारले दोलखा र रामेछाप जिल्लालाई समेटेर गौरीशंकर संरक्षण क्षेत्र बनाइदियो । संरक्षण क्षेत्रकै बाटो भएर हिँड्नुपर्दा त्यसका लागि पूर्वअनुमति लिनुपर्ने, बीचबीचमा जाँच गराउनुपर्ने अनि शुल्कसमेत तिर्नुपर्ने भएकाले पर्यटकहरूले पदमार्गलाई भुल्दै गएका हुन् ।
संरक्षण क्षेत्रमा प्रवेश गर्ने पर्यटकले प्रतिव्यक्ति तीन हजार रुपैयाँ बुझाउनुपर्छ । यो प्रक्रिया झन्झटिलो पनि छ । सगरमाथा राष्ट्रिय निकुञ्ज यही बाटामा पर्छ ।
प्रकाशित : कार्तिक १८, २०७६ ०८:१३