कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक्लोपन बिर्साउन रोटीको व्यापार

प्रमिता ढकाल

भरतपुर — भरतपुरकी आशा श्रेष्ठ अधिकारीले ठूलो बाटामा ४५ किलो मैदा मुछिन् । मुछेको पिठोलाई छोपिन् र अर्को भाँडोमा अर्सा बनाउनका लागि ठिक्क पारेको मिश्रण हेरिन् । भेलीमा चामलको पिठो हुँडलेर ठिक्क पारेको मिश्रणबाट उनले अर्सा पकाउन सुरु गरिन् । 

एक्लोपन बिर्साउन रोटीको व्यापार

तिहार नजिकिँदै गर्दा अधिकारीको दैनिकी यस्तै व्यस्ततामा बितिरहेको छ । बिहान सबेरैदेखि उनी तिहारका परिकार बनाउनमै कस्सिन्छिन् । राति अबेर निद्रा नलागुन्जेल पनि काममै खटिन्छिन् । एकल महिला र घरमा सहयोगका लागि अन्य सदस्य कोही नहुँदा पनि समय व्यवस्थापन भने उनी निकै चनाखो छिन् ।


उज्यालोको पर्वसमेत भनिने तिहार मिठामिठा परिकारका लागि पनि प्रिय छ । तिहारलाई स्वादिलो बनाउन यतिबेला अधिकारीलाई भ्याइनभ्याई छ । ‘घरमा सघाउने अरू कोही छैन,’ उनले भनिन्, ‘बिहानदेखि बेलुकासम्म केके पकाउने, त्यहीअनुसार मात्रै तयारी गर्छु ।’


लक्ष्मीपूजाअघि उनलाई पाँचपाँच सय वटा अर्सा र अनरसाको अर्डर पूरा गर्नुछ । एउटै ग्राहकले दिएको यो अर्डर पूरा गरेपछि तिहारका लागि आएका अन्य अर्डर बाँकी नै रहेको उनले बताइन् । अर्सा, अनरसा, फिनी र सेल प्रतिगोटा ३० रुपैयाँमा बिक्री हुन्छ । निम्किन दुईदेखि चार सय रुपैयाँ प्याकेट र खुर्मा चार सय प्रतिकेजी बिक्री हुने गरेको अधिकारीले सुनाइन् ।


‘रोटीका परिकारका लागि चितवनमात्र नभई काठमाडौं र पोखराबाट पनि अर्डर आउने छ,’ उनले भनिन् । तिहारका लागि रोटी अर्डर गर्न उनको घरमै पुगेकी भरतपुर– २ की सुस्मिता लुइँटेलले ३०/३० वटा अर्सा, अनरसा र फिनी अर्डर गरिन् । ‘तिहारमा यी सबै रोटी नभए खल्लो लाग्छ,’ लुइँटेलले भनिन्, ‘घरमा बसेर सबै परिकार बनाउन फुर्सद नै पाइन्न ।’


उनी स्टाफ नर्स हुन् । लक्ष्मीपूजाको दिन पनि ड्युटी हुन सक्ने भएकाले घरमा सबै तयार पार्न गाह्रो पर्ने उनले बताइन् । उनीजस्तै अधिकांश जागिरे महिलाले तिहारका लागि अर्डर दिने गरेको अधिकारीको अनुभव छ । ‘पहिलाजस्तो घरमा आमा, दिदीबहिनी सबै जम्मा भएर तिहारका रोटी बनाउने फुर्सद आजकल कसलाई हुन्छ र,’ उनी हाँस्दै भन्छिन्, ‘उनीहरूको बेफुर्सदिलो जागिरका कारण मैले पनि त जागिर पाएँ ।’


५५ वर्षर्यीा अधिकारीले रोटीका परिकारको व्यवसाय सुरु गरेको आठ वर्ष पूरा भयो । घरायसी सामान किनेमलका लागि नारायणगढको सपिङ मार्टमा पुगेकी उनले मार्टमा बिक्रीका लागि प्याकेजिङ गरी राखिएको खुर्मा देखिन् । घरमा खाजाको लागि प्रयोग गर्दै आएको खुर्मा बिक्रीका लागि राखिएको देख्दा उनलाई अनौठो लाग्यो । मार्टका सञ्चालकसँग सोधखोज गरिन् ।


सञ्चालकले उनलाई पोखरादेखि ल्याइने प्याकेट खुर्माको विकल्प चितवनमै पाए सहज हुने प्रतिक्रिया दिए । त्यसपछि पाँच किलो मैदा र सुजी किनेर खुर्मा बनाएकी आशाको व्यावसायिक यात्रा त्यहीँबाट सुरु भएको हो ।


१७ वर्षयता एकल जीवन बिताइरहेकी आशाको यो यात्रा सहज थिएन । सपिङ मार्टमा निरन्तर खुर्मा पुर्‍याउन सके जीविकोपार्जन सहज हुने देखेपछि समूहबाट १० हजार ऋण लिएरै यो व्यवसाय सुरु गरेको उनी बताउँछिन् । एक्लोपन बिर्साउनकै लागि पनि व्यवसाय सुरु गरेको उनको भनाइ छ ।

प्रकाशित : कार्तिक ९, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?