कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश सरकारले २२ सय ४६ घर निर्माण गर्ने

कान्तिपुर संवाददाता

हेटौंडा — प्रदेश ३ सरकारले चालू आर्थिक वर्षमा १० जिल्लामा जनता आवास निर्माण कार्यक्रमलाई अगाडि सारेको छ । प्रदेश ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयले चालू वर्षमा १० जिल्लामा २ हजार २ सय ४६ घर निर्माण गर्ने भएको हो । उक्त कार्यक्रमका लागि सरकारले ४३ करोड बजेट विनियोजन गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर सुजन खतिवडाले बताए ।

गत आवमा जनता आवास निर्माणका लागि प्रदेश सरकारले २८ करोड ४४ लाख ७४ हजार बजेट विनियोजन गरेकोमा १३ करोड ४२ लाख ५८ हजारमात्र खर्च भएको थियो । चालू आवमा मकवानपुर जिल्लामा ६ सय ५०, चितवनमा ७ सय ६६, सिन्धुपाल्चोकमा ५०, काभ्रेमा ५०, दोलखामा ५०, सिन्धुलीमा ५०, रामेछापमा ५०, नुवाकोटमा २ सय, धादिङमा ३ सय ३० र रसुवामा ५० वटा घर निर्माण गर्ने योजना रहेको छ । यसैगरी काभ्रेमा ज्येष्ठ नागरिक भवन निर्माणका लागि प्रदेश सरकारले यस आवमा १ करोड बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले उक्त भवन निर्माणका लागि ३ करोड बजेट विनियोजना गरेको भए पनि कुल १ करोड ५७ लाख ४३ हजारमात्र खर्च भएको थियो । प्रदेश सरकारले जनता आवास निर्माण कार्य प्रभावकारी बनाउन काठमाडौं, मकवानपुर, चितवन, नुवाकोट, काभ्रे र सिन्धुलीमा भवन कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिरहेको छ ।


प्रदेश सरकारलाई संघले जिम्मेवारी हस्तान्तरण गरेसँगै जनता आवास कार्यक्रमको कार्यविधि बनाई प्रदेशले सञ्चालन गरिरहेको छ । २०७४ साउन २२ गतेभन्दा अगाडि छनोट भएका लाभग्राहीहरूले आवास कार्यक्रमबाट अनुदान प्राप्त गरेका छन् । नेपाल सरकारले गरिब, दलित, लोपोन्मुख, सीमान्तकृत तथा विपन्न नागरिक लक्षित गरी जनता आवास कार्यक्रम ल्याएको हो । प्रदेश सरकारले हाल ३ किस्तामा आवास निर्माण रकम उपलब्ध गराउँदै आएको छ । लाभग्राही सूचीमा रहेकाहरूले कुल ३ लाख ५० हजार रकम अनुदान प्राप्त गर्नेछन् ।


सरकारले पहिलो किस्ताबापत् २५ प्रतिशत, जगको काम भएपछि ६० प्रतिशत र घरमा झ्याल, ढोका र अन्य काम सम्पन्न भएपछि १५ प्रतिशत रकम उपलब्ध गराउँदै आएको छ । यसैगरी प्रदेश सरकारले काठमाडौं जिल्लाका बस्ती व्यवस्थित गर्न सहरी गरिब एवं न्य्नू आय भएका परिवारका लागि अपार्टमेन्ट निर्माणका लागि १ करोड बजेट विनियोजन गरेको छ ।


जनता आवास कार्यक्रम जनशक्ति अभाव, कार्यविधि र कर्मचारी हेरफेरले गर्दा पनि प्रभावकारी बन्न नसकेको छैन । संघ, प्रदेश र स्थानीय तहको संरचनापछि मन्त्रालयले समन्वय गर्ने काम गर्दै आएको आवास निर्माणका इन्जिनियर खतिवडाले बताए । जिल्लामा भएको भवन शाखाले कुन क्षेत्रमा निर्माण भएको हो, त्यसको किस्ता रकम दिनेसँगै अनुगमन, प्रगति विवरणको प्रतिवेदन तयार गर्नुपर्छ ।


भौतिक मन्त्रालयले दिएको जानकारी अनुसार जनता आवास निर्माण कार्यक्रमको कार्यविधि संशोधन गर्ने तयारी भइरहेको छ । मकवानपुरमा ६ सय ५० घर निर्माण हुन बाँकी रहेका छन् । यसका लागि १५ करोड रकम चालू आर्थिक वर्षमा छुट्याइएको छ ।


प्रकाशित : कार्तिक ६, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?