कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तातोपानीमा नुहाउनेको भीड

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — शरीरको छालासम्बन्धी विभिन्न रोग निको हुने विश्वासमा अहिले भोटेकोसी गाउँपालिका—२, तातोपानीस्थित तातोपानी धारामा नुहाउनेको भीड बढेको छ ।

चीन जोड्ने सस्माक्षेत्र तातोपानी बजारमा रहेको अविरल तातोपानी धारामा सडक, बिजुली, होटलजस्ता सबै पूर्वाधार सहज भएपछि नुहाउन आउने तीर्थालु र पर्यटक बढेको हो ।


काठमाडौं भक्तपुरबाट परिवारसहित आएका सुरबहादुर श्रेष्ठले आफ्नो छालासम्बन्धी रोगका लागि तातोपानी धारामा नुहाउन आएको बताए । ‘यहाँ नुहाएर छाला, हड्डीको समस्या निको भएको मान्छे भेटे, त्यसैले पनि परिवारसँगै नुहाउन भनेर आएको हुँ, साह्रै आनन्द लागेको छ,’ तातोपानी धारामा नुहाइरहेका उनले भने । शरीरको हाडजोर्नी र छाला दुखेपछि उनले स्वास्थ्यकर्मीको सल्लाह पनि लिएको सुनाए ।


तातोपानी धारामा नुहाएर फर्केका धेरैको अनुभव सुनेपछि श्रेष्ठ प्रयोगात्मकका लागि भने पनि परिवारसाथ आए । छिमेकीको दस जनाको समूहसँगै तातोपानी नुहाउन आएका चितवन गवाईका महेश भण्डारीले तातोपानीमा नुहाएपछि शरिर हलुका भएको महसुस गरे । ‘शरीरको माथिल्लो भाग दुखिरहन्थ्यो, नुहाएपछि एकदमै फुर्तिलो लागिरहेको छ, साँच्चिकै नुवाएलगत्तै दुखाइ हराएको छ,’ उनले भने ।


प्राकृतिक रूपले नै ४४ डिग्री सेन्टिग्रेडको तातोपानी आउने यहाँको पानीमा स्नान गर्न भनेर आउने विदेशीभन्दा स्वदेशीको संख्या दिनहुँ बढ्दो छ । दिनहुँ तीन सयभन्दा बढी पर्यटक नुवाएर फर्कने भएकाले त्यसको व्यवस्थापनमा जुटिरहेको तातोपानी धारा निर्माण सुधार समितिका अध्यक्ष अमृत खड्काले बताए । ०५० देखि हालसम्म अध्यक्ष बनेका खड्काका अनुसार पारिवारिक, सामूहिक रूपमा नुहाउन ७ वटा धारामध्ये महिला र पुरुषको लागि अलग रहेको छ । ‘बाथरोगी, अलग्गै नुवाउन इच्छुकलाई स्विमिङ पुलको समेत व्यवस्था गरिएको छ,’ उनले भने ।


भूकम्पअघि तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउनेजाने गर्थे । जसमध्ये ४० हजारभन्दा बढी पर्यटक चीनका हुन्थे । तातोपानी नाका बन्द भएपछि सो बाटो भएर भारतलगायत मुलुकका तीर्थयात्रीले चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोबर भ्रमण गर्न पाएका छैनन् ।


भूकम्प, भोटेकोसी बाढीपछि बर्सेनि ठूलो संख्यामा तातोपानी धारा नुवाउन आउने आन्तरिक पर्यटकको संख्यामा भारी गिरावट आएको थियो । अघिल्लो वर्ष पाँच हजार आन्तरिक पर्यटकले तातोपानी धारामा मेला भरेको तातोपानी धारा निर्माण सुधार समितिले जनाएको छ ।


‘अब भने पर्यटक आउने क्रम पुरानै अवस्थामा फर्केको छ,’ उनले भने । भूकम्प र भोटेकोसी बाढीले तातोपानी धारा क्षतिग्रस्त भएसँगै यहाँ भागभाग मच्चिएको थियो ।

प्रकाशित : कार्तिक ४, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?