कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विमानस्थलमा यात्रु ठगिँदै

यात्रुबाट सादा खानाको साढे चार सय, एक कप कालो चियाको सय र एक बोटल पानीको ८० रुपैयाँ लिने गरेको छ 
टीकाप्रसाद भट्ट

(रामेछाप) — सोलुको लुक्लाका लागि १५ दिनयता उडान हुँदै आएको रामेछाप विमानस्थलमा यात्रुहरू ठगिँदै आएका छन् । विमानस्थल बाहिर सामान बिक्री गर्नेदेखि पर्यटकलाई टिकट बिक्री गर्ने र उडाउनेसम्मले यात्रुहरूलाई ठग्ने गरेको पाइएको हो । 

विमानस्थलमा यात्रु ठगिँदै

विमानस्थल बाहिरका पसल तथा होटलमा अचाक्ली मूल्य रहेको गुनासो बढेपछि अनुगमनका लागि बिहीबार पुगेकी रामेछापकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले पर्यटक र सर्वसाधारणको ढाड सेक्ने गरी खाद्य सामग्री र होटलले पैसा असुल्ने गरेको पाइएको बताइन् । ‘तेब्बरसम्म पैसा असुलेको पाइयो,’ उनले भनिन्, ‘एक प्रकारको लुट्नै चलेको रहेछ ।’ पाण्डेका अनुसार अनुगमनका क्रममा एउटा पसलमा प्रशासनले सिल गरेको छ । आफूखुसी खाद्य सामग्रीको प्याकेटमा गरेको लेबल र खानयोग्य अवधिसमेत उल्लेख नगरी बजार मूल्यभन्दा धेरै लिएर बिक्री गरेको पाएपछि पसलमा सिल गरिएको उनले बताइन् । प्रजिअ पाण्डेका अनुसार केहीले अन्यत्र दर्ता गरेर, मौका छोप्न विमानस्थल पुगेका र केहीले सामान्य मापदण्डसमेत पूरा नगरेको पाइएको छ ।


विमानस्थल आसपास खोलिएका होटल तथा चिया पसलले समेत सुविधाबिनै धेरै मूल्य लिएको गुनासो थियो । ‘अनुगमनका क्रममा सादा खानाको ४ सय ५० रुपैयाँसम्म लिएको भेट्यौं,’ पाण्डेले भनिन्, ‘खानाको गुणस्तर राम्रो भए पनि त्यति धेरै पैसा लिनुपर्ने अन्य पूर्वाधार छैन । पर्यटक लक्षित होटल तथा रेस्टुरेन्टले पूरा गर्नुपर्ने न्यूनतम मापदण्डसमेत नभएका त्यस्ता होटलहरूमा कालो चिया १ सय, एक बोटल पानी ८० रुपैयाँ लिने गरेको रहेछ ।’


अनुगमनपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले विमानस्थल आसपासका होटल तथा पसलले लिएको मूल्य चाहिनेभन्दा धेरै बढी भएकाले त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा सहभागीले सुझाव दिएका थिए । होटल संघले तोकेको दर रेटभन्दा बढी भाउ लिएको पाएमा कानुनबमोजिम कारबाही गर्नुपर्नेमा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जोड दिए । ‘हाम्रो नगरको सन्देशबाहिर नराम्रो जानु हुँदैन,’ उनले भने, ‘केही दिन विमानस्थल चल्दा फेरि कोही फर्केर नआउने गरी सेक्नु राम्रो होइन ।’


विमान कम्पनी पनि पर्यटक ठग्दै

विमानस्थल बाहिर खोलिएका होटल र पसल मात्र पर्यटक ठग्नेमा छैनन् । रामेछापबाट लुक्लाका लागि उडान गर्दै आएका हवाई कम्पनीले पनि पर्यटकलाई ढाड सेक्ने मोल लिएका छन् । कागजमा काठमाडौं–लुक्लाको उडान तालिका राखेका हवाई कम्पनीहरूले हवाई भाडा पनि काठमाडौंबाट लुक्लाका लागि तोकिएको भाडाकै हाराहारीमा लिने गरेका छन् । हवाई कम्पनीका वेबसाइडमा रामेछापबाट लुक्लाका लागि उडान तालिका राखेको देखिँदैन । उडान तालिका नभएको स्थानमा उडान गर्न नागरिक उडड्यन प्राधिकरणले दिएको अनुमतिमाथि पनि प्रश्न उठ्न थालेको छ । रामेछाप विमानस्थलमै विमानहरू राखेर सीता, तारा र समिट एयरले लुक्लाका लागि उडान थालेका हुन् । असोज १४ गतेदेखि रामेछाप विमानस्थलबाट त्यस्तो सेवा थालिएको हो ।


काठमाडौंबाट लुक्ला पुग्ने उडान अवधिको करिब आधा छोटो पर्ने रामेछाप विमानस्थलबाट उडान गर्दा पनि हवाई कम्पनीले काठमाडौंकै हाराहारीमा भाडा लिन्छन् । जुन उडान समयका हिसाबले महँगो हो । तारा एयरले काठमाडौंबाट १ सय ७९ डलरमा पर्यटक लुक्ला लान्छ भने रामेछापबाट १ सय ३९ डलर लिने गरेको छ । यो दर काठमाडौंभन्दा केवल ४० डलर मात्र कम हो । त्यसैगरी, सीता एयरले काठमाडौंबाट १ सय ७९ डलर र रामेछापबाट १ सय ४० डलर लिने गर्छ । गाडीको सुविधा लियो भने १ सय ५० डलर लिने गरेको कम्पनीले जनाएको छ । निजी क्षेत्रको अर्को विमान कम्पनी समिट एयरले रामेछापबाट लुक्लाका लागि सबैभन्दा महँगो भाउ तोकेको छ । समिट एयरका शिवराम थापाले लुक्लाको भाडामा १ सय ५४ डलरको टिकटमा थप १५ डलर लिने गरेको जनाएका छन् । काठमाडौंबाट बिहान करिब २ बजे गाडीमा राखेर ४ घन्टा सडक मार्ग हुँदै रामेछाप लगिने पर्यटकले विकल्प खोज्न पाएका छैनन् । काठमाडौंभन्दा आधा छोटो हवाई दूरीको यात्राका लागि ४ घन्टा कष्टकर सडक यात्रा गरेर पनि काठमाडौंकै हाराहारीमा टिकटको पैसा तिर्न बाध्य छन् । त्यसका अतिरिक्त विमानस्थलमा विदेशी पर्यटकलाई कुनै सुविधासमेत छैन । शौचालय, प्रतीक्षालय र आरामकक्ष नभएको विमानस्थलमा पर्यटकहरू उभिन बाध्य छन् ।


प्रकाशित : कार्तिक ३, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?