वर्कसपलाई दर्ता अनिवार्य

कान्तिपुर संवाददाता

मकवानपुर — सवारी मर्मत, सर्भिसिङ तथा बडी मर्मत गर्ने वर्कसपहरूले अब प्रदेशअन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालयमा अनिवार्य दर्ता हुनुपर्ने भएको छ । यसअघि संघीय यातायात व्यवस्था कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान रहे पनि हेटौंडा तथा आसपासमा सञ्चालित अधिकांश सवारी वर्कसपहरू दर्ता भएका थिएनन् ।

प्रदेशले संशोधनसहित पारित गरेको सवारी ऐनमा प्रदेशस्थित यातायात व्यवस्था कार्यालयमा वर्कसपहरू अनिवार्य दर्ता हुनुपर्ने प्रावधान राखेपछि अब वर्कसपहरू नियमन हुने भएका हुन् । ‘हेटौंडा तथा चितवनका अधिकांश वर्कसपहरू यातायात कार्यालयमा दर्ता नै नभई सञ्चालनमा छन्, उनीहरूलाई अब हाम्रो कार्यालयले नियमन गर्छ । त्यसका लागि नियमावली निर्माणको काम भइरहेको छ,’ यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका प्रमुख पोषण थापाले भने । प्रदेशअन्तर्गतका यातायात कार्यालयमा दर्ता हुँदा लाग्ने शुल्क र जरिवानाको विषयमा नियमावली बनाउँदै गरिएको बताउँदै प्रमुख थापाले यसै वर्षभित्र सबै वर्कसपहरूको नियमन गरिने बताए ।

वर्कसपहरू दर्ता नहुँदा यसअघि करोडौं राजस्व गुम्ने गरेकोमा अब प्रदेश मातहतको यातायात कार्यालयले प्रदेशले बनाएको ऐनको कडाइका साथ पालना गर्ने तयारी गरिएको छ । मकवानपुर र चितवन जिल्ला हेर्ने गरी स्थापित यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले यसअघि गरेको अनुगमनका क्रममा मकवानपुरमा चितवनमा गरी करिब दुई सय ५० वटाभन्दा बढी वर्कसप यातायात कार्यालयबाट अनुमति नलिई सञ्चालन गरेको पाइएको कार्यालय प्रमुख थापाले बताए ।

साना तथा ठूला सवारीको मर्मत, इन्जिन मर्मत, सर्भिसिङ लगायतका काम गर्ने वर्कसपहरूले स्थानीय तह वा घरेलुबाट स्वीकृत लिई कर कार्यालयमा दर्ता हुनुको साथै यातायात व्यवस्था सेवा कार्यालयबाट पनि स्वीकृति लिनुपर्ने व्यवस्था रहेकोमा यसअघि कडाइका साथ नियमन गरिएको थिएन । ‘हेटौंडामा मात्र होइन देशभर यस्तो समस्या छ, कुनै पनि वर्कसपले यातायात कार्यालयबाट अनुमति लिने गरेका छैनन्, यसले सरकारको करोडौंको राजस्व गुमिरहेको छ अब यातायातसम्बन्धी काम प्रदेश मातहत हुने भएपछि हामी कडाइका साथ नियमन गर्ने तयारीमा छौं,’ थापाले भने ।

यसअघिको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १५९ अनुसार सवारीसाधन मर्मत, बडी निर्माण, सर्भिसिङ, यातायात प्रशिक्षण केन्द्र सञ्चालन लगायतका काम गर्ने वर्कसपहरूले अनिवार्य रूपमा यातायात कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । सो ऐनमा अनुमति प्रदान गरेबापत् यातायात कार्यालयले वर्कसपको लगानी हेरेर बढीमा ४ हजार रुपैयाँसम्म राजस्व लिन पाउने व्यवस्था रहेको छ । अब प्रदेशमै कानुन बनेकाले राजस्वबारे नियमावलीमा निर्धारण गरिनेछ ।

‘बडी बनाउनेदेखि मोटरसाइकलको ट्युब टाल्नेले समेत यातायात कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था कानुनमा भए पनि कार्यान्वयन भने हुन सकेको छैन, अब हामी कडाइका साथ त्यस्ता वर्कसपहरूलाई कानुनी दायरामा ल्याउँछौं । अबको केही समयमा नियमावली बनेपछि हामी कडाइ गर्छौं,’ यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका प्रमुख थापाले भने । ३ नम्बर प्रदेशअन्तर्गत रहने गरी १० वटा कार्यालय स्थापना गरिएका छन् । ती कार्यालयले सवारी दर्तादेखि चालक अनुमतिपत्र वितरण तथा नवीकरणसम्मको अधिकार पाएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७६ ०८:५७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

न्याय खोज्दाखोज्दै मारिइन् आमा

जनकराज सापकोटा, शिव पुरी

(रौतहट) — बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा हालेर मारिएको घटनाको अनुसन्धानमा कांग्रेस नेता एवं पूर्वमन्त्री आफताब आलम पक्राउ परेलगत्तै दुर्गाभगवती गाउँपालिका–४ छतौना टोलकी रुबी खातुन न्याय पाउने आशामा छिन् । उनले २०६४ चैतयता ३४ महिनाको अन्तरमा दाइ ओसी अख्तर र आमा रुक्साना खातुन गुमाइन् ।

राजनीतिक शक्तिको दबाबमा १२ वर्षसम्म थन्किएको मुद्दाको अनुसन्धान पुन: सुरु भएपछि दाइको सँगै आमाको हत्याको अन्तर्य पनि खुल्ने विश्वास उनमा बढेको छ ।

ओसी बम विस्फोटमा पर्दा रुबी करिब १३ वर्षकी मात्रै थिइन् । उनको त्यतिबेलै बिहे भएको थियो । उनी गौना नभएकाले माइतमै बसिरहेकी थिइन् । केही वर्षपछि उनको गौना भयो । दाइको हत्या घटनाको न्यायका निम्ति दौडधुप गरिरहेकी उनकी आमा रुक्सानाको गोली हानी हत्या भयो । आमाको हत्याको दिन २२ दिनको सुत्केरी रहेकी रुबीले त्यतिबेला घटना कसरी भयो, कसले गरायो, केही मेसो पाइनन् । समयान्तरमा उनलाई लाग्यो, दाइको जस्तै आमाको घटना पनि रहस्यमै हराउने भयो । ओसीको हत्या घटनाको १२ वर्षपछि अनुसन्धान सुरु भएसँगै उनले भनिन्, ‘हमर अम्मीको हत्यारा पत्ता लगेके चाही । ओकर कडा से कडा सजाय होएके चाही ।’

आलमको चुनावी प्रचारमा हिँडेका रुबीका दाइ ओसी २०६४ चैत २७ गते साबिक राजपुर गाविसको राजपुर फरदहवा टोलमा भएको बम विस्फोटमा परेका थिए । भोलिपल्टको संविधानसभा चुनाव बिथोल्न भन्दै आलमका मान्छेहरूले बम बनाउने क्रममा भएको विस्फोटमा ओसीसहित अन्य घाइते भएका थिए । घटनाको पोल खुल्ने भन्दै आलमका मान्छेहरूले घाइते ओसीसहितलाई इँटाभट्टामा हालेर मारेको भन्दै परेको उजुरीमा प्रहरीले वर्षार्ैंपछि यतिबेला अनुसन्धानलाई तीव्रता दिएको छ । छोराको मृत्युपछि विचलित भएकी रुक्सानाले जसरी भए पनि न्याय पाइछाड्ने भन्दै दौडधुप सुरु गरेकी थिइन् । आफैं पनि स्थानीय राजनीतिमा सक्रिय रहेकी रुक्साना त्यतिबेला तत्कालीन माओवादीको भोजपुरा राज्य कमिटी सदस्य थिइन् । त्यही घटनामा मारिएका सरुअठाकै पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायणसँग मिलेर उनले न्यायका लागि दौडधुप गरेकी थिइन् । आर्थिक प्रलोभन, धम्की र दबाबका बाबजुत पनि रुक्साना पछि हटेकी थिइनन् । ‘आमा जसरी पनि दाइको हत्या घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने पक्षमा हुनुहुन्थ्यो,’ रुक्सानाकी छोरी रुबीले कान्तिपुरसित भनिन् ।

छोराको हत्यापछि रुक्सानाले श्रीनारायणसँग मिलेर जिल्ला प्रहरी कार्यालयमा आलमसहित ५ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले दर्ता नगरेपछि उनले हुलाकबाट जाहेरी पठाएर बल्लतल्ल दर्ता गराइन् । जाहेरी दर्ता भए पनि राजनीतिक शक्तिको आडमा आलममाथि मुद्दा नचल्ने ठहर जिल्ला सरकारी वकिलको कार्यालयले गर्‍यो । २०६५ असार १९ गते यही निर्णय महान्यायाधिवक्ताको कार्यालयले सदर गर्‍यो । तर पनि रुक्साना विचलित भइनन् ।

उनी श्रीनारायणसँगै काठमाडौं गइन् र सर्वोच्च अदालतमा महान्यायाधिवक्ताको निर्णयउपर निवेदन गरिन् । स्थानीय जानकारहरूका अनुसार न्यायको दौडधुपमा रुक्सानालाई स्थानीय माओवादी नेताहरूले पनि केही भरथेग गरेका थिए । राजनीतिक पृष्ठभूमिकै कारण रुक्सानाको दौडधुप न्यायको सवाल मात्रै नभएर राजनीतिक द्वन्द्वको मुद्दा पनि बन्यो । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहेका श्रीमान् शैष जौबेरको अनुपस्थितिमा रुक्सानाले स्थानीय राजनीति र न्यायको खोजी सँगसँगै जारी राखेकी थिइन् ।

छोराको हत्यापछि रुक्साना सुरक्षित थिइनन् भन्ने कैयौं घटनाक्रमले देखाउँछन् । सम्धिनी असुरक्षित रहेको थाहा पाएका समसुल मियाँले उनलाई भनेका थिए,‘जुनसुकै बेला पनि खतरा छ । केही भइहाल्यो भने मलाई मिसकल मारिहाल्नू ।’

मृतक ओसीका काका जाजुल मियाँका अनुसार गाउँघरमै असुरक्षाको महसुस भएपछि त्यतिबेला प्रशासनले रुक्सानाको घरमै केही प्रहरी बस्ने व्यवस्था मिलाइदिएको थियो । जाजुलले घरको छतमा झन्डै ५ महिनासम्म प्रहरी बसेको सुनाए । प्रहरी फर्केको केही दिनमै रुक्सानामाथि घरमै बसेका बेला आक्रमणको प्रयास भयो । जाजुलका अनुसार एक रात करिब ११ बजेतिर रुक्साना सुत्ने कोठालाई लक्षित गरी भेन्टिलेसन फुटाएर त्यहींबाट भित्र गोली हान्ने प्रयास भएको थियो । भेन्टिलेसन फुटाउन नपाउँदै घटना थाहा भएर मान्छे कराउन थालेपछि गोली हान्न आएकाहरू भागे । एउटा अनिष्ट टर्‍यो । जाजुलले त्यही घटनापछि भेन्टिलेसनमा सिमेन्टको जाली हटाएर इँटा लगाएको भाग देखाए । एक तले घरमा रुक्साना बस्ने कोठाको भेन्टिलेसनमा पछि इँटा लगाइएको सजिलै चिनिन्छ ।

२०६७ माघ १० गतेको कुरा हो । रुक्साना साउदी अरबमा रहेका भाइ अलाउद्दिन सवारी दुर्घटनामा परेको र लगत्तै सम्पर्कविहीन भएको घटनाबारे बुझ्न माइती गाउँ दुर्गाभगवती गाउँपालिका–४ छतौना पुगिन् । रुक्सानाका सम्धी समसुलका अनुसार भाइकै विषयलाई लिएर उनी ११ गते सम्धिनी र सम्धीसँगै सिरहाको मिर्चैयामा रहेको एक जना झारफुक गर्न जान्ने मान्छेकहाँ जाने योजनामा थिइन् । सम्धी समसुलले रुक्सानालाई सुरक्षा खतरा हुने भन्दै साँझ परेपछि नहिँड्न भनेका थिए । तर माइती घर पुगी भाइको सबै हालत बुझेर उनी साँझ करिब साढे ५ बजेतिर सम्धिनी साहजहान खातुन र जमिला खातुनसँगै घर फर्कंदै थिइन् । झाँझ खोला आफ्नै गतिमा बगिरहेको थियो । उखुबारीका पातहरू हावाको सुरमा बजिरहेका थिए । गाउँबाट अलिक परको सुनसान ठाउँमा त्यही बेला उखुबारीबाट नकाब लगाएका केही मान्छे फुत्त निस्किए । उनलाई च्याप्प समाते र बन्दुकको कुन्दाले टाउकोमा हाने । एकैछिनमा तिनीहरूले उनको टाउकोमा गोली प्रहार गरे । हठात् आइपरेको यो घटनाबाट होस गुमाएकी साहजहान र अकी सम्धिनी कसो कसो फुत्केर बारी नै बारी कुद्दै गाउँतिर पुगे ।

उनीहरूले नै कराउँदै घटनाबारे बताएपछि गाउँले भेला भए । प्रहरी आयो, घटनास्थल मुचुल्का उठायो, शवको पोस्टमार्टम गर्‍यो । शव परीक्षण रिपोर्टमा रुक्सानाको टाउकोमा गोली लागी अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको उल्लेख छ । साउदी अरबका गैरकानुनी कामदारको हैसियतमा रहेका बेला दुर्घटनामा परी सम्पर्कविहीन भएका भाइ अलाउद्दिन कहाँ छन्, अहिलेसम्म कसैलाई पत्तो छैन । भाइको हालत बुझ्न हिँडेकी रुक्साना पनि रहिनन् न उनले छोराको हत्यारा पत्ता लगाउने लडाइँ नै पूरै लड्न पाइन् ।

छोराको न्यायको खोजीमा दौडादौड गरिरहेकै बेला रुक्सानाको मृत्यु भएपछि सिंगो सरुअठा गाउँ त्रसित भयो । यमुनामाई गाउँपालिका–४ को वडा सदस्यसमेत रहेका समसुलले सम्धिनीको मृत्युपछि साँझ घर बाहिरै निस्कन डरमर्दो भएको सुनाए । घटनाको प्रत्यक्षदर्शी रहेकी उनकी श्रीमती साहजहान घटनापछि मानसिक रूपमा बिमारी नै परिन्, जुन अझै कायम छ । समसुलले श्रीमतीको उपचारमा कैयौं पैसा खर्चिसकेको र कैयौं अस्पताल धाइसकेको सुनाए ।

रुक्सानाको हत्या कसले किन गर्‍यो ? छोराको न्यायको खोजीमा भौंतारिरहेका बेला भएको उनको हत्यापछि शंकाको सुई आलम समूहतिर नै सोझियो । रुक्सानाकी छोरी रुबीलाई अहिलेसम्म पनि आमाको हत्यामा आलमकै मान्छेको हात छ भन्ने लाग्छ । उनी र यस्तो विश्वास गर्ने अन्य गाउँलेसँग पनि यस्तो शंकाको प्रमाण भने छैन । रुक्सानाको हत्या भएको एक महिनापछि साउदीबाट घर फर्केका देवर जाजुलले घटनाबारे अनेकन कुरा सुने तर सत्य पहिल्याउन सकेनन् ।

जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान सुरु गर्‍यो र लगत्तै असलम मियाँ कवाडी, अली महमद मियाँ कवाडी र अद्दु मियाँलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढायो । पक्राउ परेकामध्येको एक अद्दु रुक्सानाकै देवर हुन् । देवर अद्दुसँग रुक्सानाको घरायसी विवाद थियो । केही गाउँलेले त्यही विवादकै कारण अद्दुले नै हत्या गरेको पनि शंका गरेका थिए । तर प्रहरीको अनुसन्धानले यस्तो शंकालाई पुष्टि गर्न सकेन । केही महिना थुनामा बसेर अद्दुसहितका तीनैजना जिल्ला अदालत रौतहटबाट साधारण तारेखमा छुटे । बारम्बार बदलिरहने जिल्ला प्रहरी कार्यालयको नयाँ नेतृत्वले घटनाको अनुसन्धानलाई त्यसपछि भने गम्भीरतापूर्वक अगाडि बढाएन । समयक्रममा रुक्सानाको हत्या कसले र किन गर्‍यो भन्ने प्रश्न विस्तारै रहस्यको गर्भमा हराउँदै गयो ।

रुक्सानाको हत्याको १६ महिनापछि ओसी र त्रिलोक हत्याको घटनामाथि मुद्दा नचल्ने भन्दै जिल्ला सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरिदियो । मुद्दाको अनुसन्धान गर्ने बाटो त खुल्यो तर छोराको हत्याबारे अनुसन्धानको बाँकी काम रुक्सानाले पूरा गर्न पाइनन् ।

रुक्सानाको हत्या भएको एक महिनापछि नै उनका श्रीमान् शैष जौबरले दोस्रो बिहे गरे र फेरि साउदी अरब नै गए । चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाने मूलबाटो ३५ किलोमिटर दक्षिण छिचोलेर एक किलोमिटर कच्ची बाटो पूर्व छिरेपछि आउने झाँझ खोलाको डिलमा रहेको एकतले घरमा अहिले शैषकी कान्छी श्रीमती बस्छिन् । ओसीकी श्रीमती अमना खातुन दुई छोरा हुर्काइरहेकी छन् । उनी कहिले माइत त कहिले सोही घरमा बस्छिन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले जिल्लामा नसुल्झिएका कैयौं घटनाको फाइल रहेको र रुक्सानाको हत्या पनि त्यहीमध्येको एक भएको सुनाए । उनले समयक्रममा आफूहरूले नसुल्झेका गम्भीर प्रकृतिका घटनामाथि पुन: अनुसन्धान थाल्ने बताए ।

प्रकाशित : कार्तिक ३, २०७६ ०८:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×