१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

बेबारिसेको अस्पताल नै घर

फातिमा बानु

काठमाडौँ — अस्पतालबाट डिस्चार्ज हुने दिन नजिकिँदै गर्दा ४६ वर्षीय हरिबहादुर मिजार रातभरि निदाउन सकेका छैनन् । डिस्चार्ज भएपछि कहाँ जाने, के खाने, औषधि कसले दिन्छ ? यस्तै कुरा मनमा खेलेर उनलाई सताइरहेको छ । एक महिनादेखि राजधानीको ट्रमा सेन्टरमा उपचाररत उनलाई अस्पतालका नर्स, गार्ड र सहजकर्ता नै परिवार हुन् जस्तो लाग्न थालेको छ । किनकि अस्पतालमा उनलाई हेरचाह गर्ने, औषधि खुवाउने अनि शौचालयसम्म लैजाने नर्स र गार्डले गरिरहेका छन् ।

बेबारिसेको अस्पताल नै घर

अरू बिरामीकाको उनका कुरुवा छैनन् । हलचल गर्नै नसक्ने अवस्थामा अस्पताल भर्ना हुँदा पनि भेट्न आउने कोही आफन्त छैनन् । अस्पतालको भाषामा उनी बेवारिसे बिरामी हुन् । एक महिनाअघि प्रहरीले उनलाई घाइते अवस्थामा ट्रमा सेन्टरको इमर्जेन्सी वार्डमा छोडेर गए । ‘म कसरी घाइते भएँ । कहिले मेरो अप्रेसन भयो मलाई केही याद छैन,’ उनले भने । वर्षौंदेखि सडकमा खाने र सुत्ने गर्दै आइरहेको उनले बताए । पाँचखालका उनका दाजुभाइ, दिदीबहिनी काठमाडौंमै बस्छन् तर उनको वास्ता गर्दैनन् । आमाबाबुको मृत्यु भएपछि उनी एक्लो छन् । ‘न त जग्गा छ न पढाइलेखाइ छ,’ उनले चिन्ता पोखे, ‘दाजुभाइले सम्पत्तिजति सबै आफ्नो नाममा गरेछन् । मैले होटलमा भाँडा माझेर गुजारा गर्थें अब त कमजोर भइहाले कसरी पेट पाल्ने पीर लाग्छ ।’


आफन्त नभएकै कारण ३८ वर्षीय भीमबहादुर राउतले ट्रमा सेन्टरको बेडमै ज्यान गुमाए । घाइते हुँदा डेढ वर्षसम्म अस्पताल र प्रहरीले उनको घरठेगाना र आफन्त खाजे तर भेटिएनन् । गाडीको ठक्कर दिएपछि घाइते अवस्थामा उनलाई प्रहरीले अस्पतालमा छाडेका थिए । घाउ निको भए पनि अस्पताल नै घर सम्झेर बसे । गत फागुनमा उनको अस्पतालमै मृत्यु भयो । शव जिम्मा लिने कोही नभएपछि अस्पतालले प्रहरीको जिम्मा लगाइदियो । यी दुई जस्तै ट्रमा सेन्टरको बेडमा बेवारिसे बिरामी खाली हुँदैनन् । कहिले प्रहरीले बिरामी छाडेर जान्छन् कहिले नागरिकले बिरामी ल्याउँछन् त कसैलाई भने आफन्तले अस्पतालमै छोडेर भाग्छन् । यस्ता बिरामीलाई अस्पतालको सामाजिक सेवा एकाईमार्फत् नि:शुल्क उपचार गर्ने गरेको ट्रमा सेन्टरका सामाजिक सेवा एकाई प्रमुख अर्जुन भेटवालले बताए । ‘अस्पतालको फार्मेसी भएको औषधि दिन्छौं । एकाईका सहजकर्ता ती बिरामीको कुरुवा बस्छन्,’ उनले भने ।


उपचार गर्दागर्दै खर्च सकिएका, निजी अस्पतालमा उपचार गरेपछि पैसा सिध्याएका बिरामी पनि बेवारिसे भएर वीर र ट्रमामै आउँछन् । भेटवालले भने, ‘अस्पतालले कसैलाई उपचारबिना फर्काउँदैन । आफन्त नभेटिएसम्म अस्पतालले नै उनीहरूलाई पाल्छन् ।’ बेवारिसे बिरामीको उद्धार गर्न केही संस्था पनि खटिएका छन् । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र, मानव सेवा आश्रम र अपांग सरोकार केन्द्रले अस्पतालमा अलपत्र बिरामी लैजान्छन् । ओछ्यानबाट उठ्नै नसक्ने बिरामी भने यी संस्थाले पनि लिन मान्दैनन् । ती बिरामी अस्पतालमै अलपत्र भइरहेका हुन्छन् । ठेगाना पत्ता लागेका बिरामीलाई भने अस्पतालले गाडी भाडासमेत दिएर घर पठाइदिने गरेको ट्रमाका निर्देशक डा. प्रमोद यादवले बताए । ‘प्रहरी लगाएर बेवारिसे बिरामीको घरठेगाना खोज्छौं । घर नभेटिएका बिरामीको अस्पताल नै घर बन्छ,’ उनले भने ।


वीर अस्पतालको आकस्मिक कक्षमा पनि कम्तीमा ३ जना बिरामी यस्तै बेबारिसे बिरामी हुन्छन् । अस्पताललाई बेवारिसे बिरामीको व्यवस्थापन गर्न सास्ती भएको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले भने, ‘बेवारिसे बिरामीका लागि दुईवटा बेड छन्, हेर्नलाई एक जना कुरुवा राखिएको छ ।’ यस्ता बिरामीका लागि सरकारले छुट्टै नीति बनाएर व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । बलात्कार र शारीरिक हिंसामा परेका बेवारिसे महिलालाई प्रहरीले थापाथलीस्थित प्रसूति गृहमा छोडिदिन्छ ।

प्रकाशित : कार्तिक १, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?