कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुदान लिए, पार्क बनाएनन्

काठमाडौं महानगरपालिकाले छिमेकी नगरलाई समृद्ध बनाउन १० नगरपालिकालाई गत वर्ष एक/एक करोड अनुदान दिएको थियो
सीमा तामाङ

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले पार्क बनाउन प्रत्येक नगरपालिकालाई गत वर्ष एक करोड अनुदान दिए पनि ६ वटा नगरपालिकाले अझै काम गर्ने सुरसार गरेको छैन । नगर साझेदारी कार्यक्रमअन्तर्गत छिमेकी नगरलाई समृद्ध बनाउने लक्ष्य राखेर काठमाडौंको १० वटै नगरपालिकालाई पार्क निर्माण गर्न महानगरपालिकाले गत वर्ष एक/एक करोड रुपैयाँ उपलब्ध गराएको थियो । बजेट लिनेमध्ये किर्तिपुर, टोखा, चन्द्रागिरी र गोकर्णेश्वर नगरपालिकाले मात्रै काम सुरु गरेको छ । 

डीपीआर तयार नहुँदा पार्क निर्माण गर्न नसकेको शखंरापुर नगरपालिकाका प्रशासकीय अधिकृत प्रमोद सिंखडाले बताए । ‘पार्क बनाउने क्षेत्रको मन्दिर परिसरमा पुरातत्त्व विभागले पूर्ण निर्माण गरिरहेको हुँदा सम्झौता गरेर मात्र काम अघि बढाउनुपर्छ,’ उनले भने, ‘पार्कको डीपीआर नै तयार भएको छैन ।’


‘छिमेकी नगर समृद्ध भए मात्र महानगर समृद्ध’ नारा पूरा गर्न महानगरले नगरपालिकालाई पार्क बनाउन बजेट उपलब्ध गराएको सूचना अधिकारी बसन्त आचार्यले बताए । ‘नगरलाई हरियाली प्रवर्द्धन र सार्वजनिक जग्गा संरक्षणका सहयोग रकम दिइएको थियो । त्यसमध्ये कतिपय योजना अझै पनि कार्यान्वयनमा आउन सकेको छैन,’ उनले भने । गत वर्ष उपलब्ध गराएको बजेट खर्च नभएकै कारण यस वर्ष थप बजेट दिन नसकिएको उनले बताए ।


महानगरले कहाँ कस्तो पार्क बनाउने भन्ने सम्झौता गरेर अनुदान उपलब्ध गराएको थियो । अनुदान लिने नगरपालिकाले पार्क निर्माणको अध्ययन भइरहेको भन्दै पन्छिने गरेका छन् ।


अनुदान दिँदा पार्क निर्माणका लागि कम्पनी तथा ठेकेदार छनोट गरिसकेपछि कति वर्षमा सक्ने ? पार्कको काम सुरु भएपछि जानकारी गराउनुपर्ने सर्त रहेको प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘नगरपालिका १ करोडमा मात्र सीमित रहेर काम गर्दैन,’ उनले भने, ‘रकम थपेर बहुवर्षीय योजना पनि तयार गर्छन् तर महानगरलाई काम सुरु गरेको र सकेको भएको जानकारी गराउनुपर्छ ।’ महानगरले दिएको रकम केमा कति खर्च भयो भनेर प्रतिवेदनसमेत बुझाउनुपर्ने सर्त रहेको उनले बताए ।


सबै नगरापलिकाले यस वर्ष नै काम सक्ने गरी योजना अघि सारेको बताएका छन् । उपत्यकावरिपरिका १० नगरपालिकामा ज्येष्ठ नागरिक, बालबालिका तथा युवायुवतीको लागि पार्क तथा धार्मिकस्थलको संरक्षण तथा निर्माण कार्य सुरु महानगरले उपलब्ध गराएको अनुदान खर्च गर्ने योजना भने बनाएको छ । टोखा, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, नागार्जुन, बूढानीलकण्ठ नगरपालिकामा पार्क निर्माण हुँदै छ । शंखरापुर, कागेश्वरी मनोहरा, तारकेश्वर, दक्षिणकालीमा धार्मिकस्थलको संरक्षण र प्रवर्द्धन गर्न थप संरचना निर्माण गर्ने योजना बनाएको छ ।


कहाँ कुन पार्क ?

महानगरको उपलब्ध गराएको अनुदानले नगरपालिकालाई चिनाउने पार्क बनाउने खाका तय गरेको छ । कीर्तिपुर नगरपालिकाले गत वर्ष नै ‘युद्ध स्मारक पार्क’ निर्माण कार्य सुरु गरिसकेको छ, जुन अहिले निमार्णधिन अवस्थामा छ । पार्कले नगरपालिकाको वडा नम्बर १, २ र १० को सार्वजनिक जग्गालाई संरक्षण गर्नेछ । करिब ५५ रोपनी जग्गामा उक्त पार्क निर्माण हुँदै छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठनको मूर्तिकला विभागसँग सहकार्य गरेर पार्क निर्माणस्थलमा नेपाल एकीकरणको बेला योगदान पुर्‍याउने योद्धाहरूको ढुंगाको मूर्ति तयार भइसकेको नगरपालिकाका उपमेयर सरस्वती खड्काले बताइन् । पार्क परिसरमा बाउन्ड्री वाल (गारो) समेत लगाइसकेको उनले बताइन् ।


गोकर्णेश्वर नगरपालिकाले वडा नम्बर ९ स्थित जगडोलको राष्ट्रिय सहिद तथा शान्ति पार्कभित्रै गोकर्णेश्वर पार्क नर्मिाण गर्ने भएको छ । पार्कको डीपीआर बन्दै गरेको नगरपालिकाले जनाएको छ । नगरपालिका र राष्ट्रिय सहिद तथा शान्ति पार्क निर्माण तथा व्यवस्थापन समितिबीच मिति २०७५ माघ महिनामा नै सम्झौता भइसकेको छ । पार्कमा ज्येष्ठ नागरिक आराम कक्ष, रेलिङसहितको अपांगतामैत्री पदमार्ग, बालबालिका मनोरञ्जन क्षेत्र, अन्तर्क्रिया कक्ष, सेवा कक्ष, शौचालय तथा खाजा/खाना खाने क्षेत्रलगायत संरचना निर्माण गरिनेछ ।


चन्द्रागिरीमा ‘मदन भण्डारी पार्क’ बनाउन लागिएको छ । उक्त पार्कलाई स्थानीयले सूर्य पार्क भनेर पनि चिनिए पनि हाल मदन भण्डारी पार्क नामकरण गरिएको छ । नगरपालिकाको वडा नम्बर १३ कंकाली मन्दिरको अगाडि पार्कमा भ्यु टावर तथा बगैंचाहरू निर्माण गरिनेछ । करिब २६ रोपनीको जग्गामा पिकनिक स्पोट, भ्यु टावर, बगैंचाहरू निर्माण हुनेछ । भ्यु टावर करिब पाँच तलाको बन्ने भए पनि ३ तलासम्मको ढलानसमेत गरिसकेको उपप्रमुख लिसा नकर्मीले बताइन् । शंखरापुरले बज्रयोगिनी मन्दिर परिसरमा बगैंचा बनाउने भएको छ । सार्वजनिक जग्गालाई संरक्षण गर्दै मन्दिरसम्म पुग्ने सिँढी निर्माण गर्ने योजना बनाए पनि काम सुरु गर्न बाँकी रहेको नगरका प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिंखडाले बताए ।


कागेश्वरी मनहराले ‘कागेश्वरी धाम’ निर्माण गर्ने भएको छ । नगरपालिकाले वडा नम्बर १ मा रहेको कागेश्वरी धाम वरपर निर्माण कार्य गर्ने योजना बनाएको छ । साँढे ५ करोडको लगानीमा धाम निर्माण गर्ने डीपीआर बनाएको छ । कागेश्वरी मन्दिर, गागलफेदी र ढकालगाउँको ५५ रोपनी क्षेत्रमा सहिद पार्क, अड्डापाटीलगायतका क्षेत्र समेटेर धाम बनाउन लागिएको हो ।


तारकेश्वर नगरपालिकाले पनि धामलाई प्रवर्द्धन गर्ने भएको छ । वडा नं. ३ स्थित सार्वजनिक जंगलको बीचमा १० रोपनी जग्गामा तारकेश्वर धाम निर्माण गर्न महानगरले अनुदान खर्च गर्न लागेको हो । अहिले भएका धामको कुटीलाई पुनर्निर्माण गर्ने, तारकेश्वर मन्दिरअगाडिको पोखरीलाई पनि निर्माण गरी पार्क बनाउने नगरपालिकाले जनाएको छ । निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढाइसकेको छ ।


दक्षिणकाली नगरपालिकाले महानगरले दिएको बजेटले गोरखनाथ डाँडा र पुरानो दक्षिणकाली मन्दिरलाई जोड्न सिँढी निर्माण गर्ने भएको छ । वडा नम्बर ५ स्थित करिब २० रोपनी जग्गामा नगरपालिकाले मन्दिर जोड्ने सिँढी, पार्क र भ्यु टावरसमेत निर्माण गर्न लागेको हो ।


नागार्जुन नगरपालिकाले वडा नम्बर ६ स्थित डाँडापौवामा गणेशमान स्मृति पार्क निर्माण कार्य सुरु गरिसकेको छ । करिब १७ रोपनी सार्वजनिक जग्गामा पार्क निर्माणको काम थालिएको हो । यो पार्कमा नगरपालिकाले वडा नम्बर १ देखि १० मा रहेका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक विशेषताहरू झल्कने आकृतिहरू निर्माण गरिनेछ । बूढानीलकण्ठ नगरपालिकाले वडा नम्बर ८ हात्तीगौडामा बूढानीलकण्ठ पार्क निर्माणको काम सुरु गरिसकेको छ । १४ रोपनी जग्गामा यो पार्क निर्माण गर्न लागेको हो । पार्कमा सबै प्रदेशका अलगअलग डिजिटल बोर्ड रहनेछन् । जसमा सम्बन्धित प्रदेशअन्तर्गतका जिल्लाहरू, स्थानीय तहहरूसमेतको सिमाना, नाम, क्षेत्रफल, प्रशासनिक एकाइ र ती क्षेत्रहरूको मुख्यमुख्य धार्मिक तथा पर्यटकीय क्षेत्रहरू उल्लेख गरिएको सूचना सहितको डिजिटल नक्सा रहनेछ ।


टोखा नगरपालिकाले झोरमा बालमैत्री पार्क र शौचालय निर्माण गरिरहेको छ । वौडेश्वर महादेव मन्दिर परियोजनाअन्तर्गत पहिलो चरणमा बालमैत्री पार्क र शौचालय निर्माण सुरु गरेको हो । करिब ३ हजार वर्ग किलोमिटर क्षेत्रफलमा बन्ने बालमैत्री पार्कमा बालबालिकालाई लक्षित गरी पिङ, चिप्लेटीलगायत अन्य संरचना निर्माण हुनेछ ।


संघीय सरकारको विशेष अनुदान र काठमाडौँ महानगरको नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत नगरपालिकाले पार्क तथा शौचालय निर्माणका लागि ३ करोड ८५ लाख बजेट विनियोजन गरेको छ ।


कहाँ कुन पार्क ?

र्कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’

गोकर्णेश्वरमा ‘गोकर्णेश्वर पार्क’

चन्द्रागिरीमा ‘मदन भण्डारी पार्क’

शंखरापुरमा ‘बज्रयोगिनी मन्दिर वरिपरि बगैंचा’

कागेश्वरी मनहरामा

‘कागेश्वरी धाम’

तारकेश्वरमा ‘तारकेश्वर धाम’

दक्षिणकालीमा ‘गोरखनाथ धाम’

नागार्जुनमा ‘गणेशमान स्मृति पार्क’

बूढानीलकण्ठमा ‘बूढानीलकण्ठ पार्क’

टोखामा ‘बालमैत्री पार्क’


प्रकाशित : आश्विन २९, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?