कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी राजमार्गमा थेगिनसक्नु चाप

कान्तिपुर संवाददाता

सिन्धुली — सिन्धुलीमाढीबाट काठमाडौं जान कमलामाई नगरपालिका ४ का बुद्ध कार्कीलाई निकै सास्ती भयो  । सामान्यतया ४ घण्टामा पार हुने दूरी आठ घण्टा लाग्यो  ।

बिहान हिँडेका कार्की परिवारसहित साँझ मात्र पुगे । काठमाडौंको कोटेश्वरबाट सिरहा यात्रु लिएर हिँडेका टाटासुमोका चालक बोधराज श्रेष्ठलाई सदरमुकाम सिन्धुलीमाढी आइपुग्न ७ घण्टाभन्दा बढी समय लाग्यो । कोटेश्वरबाट सिन्धुली १४८ किमि दूरीमा छ ।

बीपी राजमार्गको कालोपत्रे सडकमा सरकारी गति प्रतिघण्टा ४० किमिका दरले गुडाउने हो भने तीन घण्टा र केही मिनेट लाग्नुपर्ने हो । ट्राफिक पोष्टमा आफ्नो सवारी इन्ट्रि गराइरहेका उनले उक्त समय छिटो भएको बताए । बीपी राजमार्गको नागबेली सडक र त्यसमा परेको खाल्डाखुल्डी ढिलो हुने त छदैछ, उनले भने, ‘त्यसमा पनि साँघुरो सडक भएकाले जाम खपिसक्नु हुँदैन ।’ झन चाडबाडको समयमा सवारीसाधनको चाप थेगिनसक्नु छ ।

साना सवारीसाधन चल्दा त योबिघ्न जाम हुन्छ, झन ठुला सवारी साधन चल्न थाले भने दोहोरो पास हुनसमेत मुस्किल छ अर्का चालक रेशम दर्लामीले थपे । साना गाडीमात्र चल्दा कम्तीमा दिनको दुई तीनवटा सवारी दुर्घटना हुन्छ, त्यसमाथि ठूला सवारीसाधन चलाउने हो भने के हुने हो जिल्ला ट्राफिक प्रहरी कार्यालयका रामेश्वर पाण्डेले चिन्ता व्यक्त गरे । भन्छन, ‘घुमाउरो सडक र सिंगल लेनको भएकाले गाडी पास गराउन नै मुस्किल हुन्छ ।’ ठूला सवारीसाधनलाई रातको समयमा मापदण्ड हेरेर चल्न दिइएको छ । चाडबाडको समयमा मोटरसाइकलबाहेक दैनिक १० हजारभन्दा बढी सवारीसाधन बीपी राजमार्ग भएर ओहोरदोहोर गर्ने पाण्डेले जानकारी दिए । उनले भने, ‘चाडबाडबाहेक पनि छोटो दूरी पर्ने भएकाले चाप कम छैन ।’

सिंगल लेनको सडक भएकाले दोहोरो गाडी पास हुन हरेक डेढ सय मिटरमा डबल लेन बनाइएको छ । राजमार्गको १ सय २३ किमि सडक खण्ड सिंगल लेनको छ । सदरमुकाम सिन्धुलीमाढीदेखि खुर्कोट सम्मको ३९ किमि सडक धेरै घुम्ती छ । खुर्कोटबाट मध्यपहाडी राजमार्ग हुँदै पूर्व जाने तथा रामेछाप, दोलखा जाने सवारी साधनसमेत आउने भएकाले कमिलाको ताँती सरह नै हुने शित्तलपाटीका नवीन पौडेलले बताए ।सिन्धुली सदरमुकाम हुँदै बर्दिवास भएर पूर्वी नेपाल जाने र मध्येपहाडी हुँदै जाने सवारी साधन खुर्कोटसम्म सँगै हुने भएकाले चाप बढी हुने उनको अनुभव छ ।

यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रुहरूको गुनासो र दुर्घटना न्यूनीकरणका लागि नियम उलंघन गर्ने सवारी साधनलाई कारबाही गरेको छ । कार्यालय प्रमुख विष्णु बस्नेतका अनुसार चाडबाडको समयमा बढी भाडा लिइएका १ सय ३१ जना यात्रुको २९ हजार ६ सय रुपैयाँ सवारी चालकबाट फिर्ता गराइएको छ । उक्त रकम असुल गर्ने १२ वटा सवारी साधनलाई छुट्टै १८ हजार जरिवाना समेत गरिएको छ । त्यस्तै यात्रुलाई टिकट नदिएकोमा १०६ सवारीसाधनबाट १ लाख ६ हजार जरिवाना गरिएको छ ।

प्रकाशित : आश्विन २८, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?