जाडो छल्न झरे कर्याङकुरुङ
(धादिङ) — नीलो आकाशमा कर्याङकुरुङको आवाज आयो भने बिहान चिसो हावा चल्न थाल्छ । जाडोयाममा यो चिसो अझ बढ्ने संकेत पनि हो । साइबेरियामा चिसो निकै बढेपछि जाडो छल्न कर्याङकुरुङ चराका बथान नेपाली आकाश हुँदै भारत जान सुरु गरेका छन् ।
समूहमा उडान भर्ने चराका बथानलाई मौसमी अवरोध नभई बीचमा आपत्कालीन अवतरण जरुरी छैन । बीचमा कतै बास बस्न नरोकिने बथान मौसम बिग्रे मात्रै माथिल्लो मुस्ताङ, कालीगण्डकी र भेरी करिडोरमा रोकिन्छन् । मौसममा सुधारको समय पर्खन्छन् । सारस प्रजातिका यी चरा भारतको राजस्थान र गुजरातको केचन सिमसार क्षेत्रमा जाडो मौसम बिताउन पुग्छन् । गर्मी बढेसँगै फेरि चिसो ठाउँ फिर्छन् ।
नेपाल भएर हुने उडानको चराविद्हरू अध्ययन गरिरहेका छन् । पन्छीविद् मित्र पाण्डे र हिरूलाल डंगौराको अध्ययन टोली असोज १२ देखि माथिल्लो मुस्ताङमा छ । कर्याङकुरुङका बथानमा संख्या गणनाको एकमहिने काम लिएर टोली त्यहाँ पुगेको हो । यो प्रजातिको संख्या हाल संसारका विभिन्न भूभागमा गरी २ लाख ३० हजारदेखि २ लाख ६१ हजारसम्म रहेको अनुमान छ । मुस्ताङमा दिउँसो १२ बजेदेखि वेगले हावा चल्छ । रूस र मंगोलियाको साइबेरियन क्षेत्रबाट उडेको समूहले हावा चल्न सुरु हुनुअघि नै माथिल्लो मुस्ताङ नाघ्छन् । यसपटक गत मंगलवार बिहान ११ बजे ६ वटा ठूला बथान मुस्ताङको आकाश छिचोल्दै भेरी नदी करिडोर भएर भारत पस्यो । कालीगण्डकी करिडोरमा मौसम बिग्रेपछि माथिल्लो डोल्पा हुँदै कर्याङकुरुङका बथान भेरी करिडोर पसेको नेपाल पन्छी संरक्षण संघका कार्यक्रम निर्देशक कृष्ण भुसालले बताए ।
‘साइबेरियाबाट कर्याङकुरुङ भित्रिने मुख्य आकाश मार्ग कालीगण्डकी नै हो । त्यसपछि ठूलोभेरी र कर्णाली नदी हो,’ अध्ययनकर्ता मित्र पाण्डे भन्छन्, ‘मंगोलिया र चीनको तिब्बत हुँदै माथिल्लो मुस्ताङ र कालीगण्डकी उपत्यकामा बथानमा भित्रिने कर्याङकुरुङ मौसम बिग्रेको बेला मात्रै नेपालका नदी किनारहरूमा बास बस्छन् र अर्को दिन इण्डियाको गुजरात र राजस्थानतिर लाग्छन् ।’ योपल्ट बथानले नेपाली भूभागमा बास गरेका छैनन् । अध्ययनअनुसार तिब्बतबाट बिहान उडेका कर्याङकुरुङ दिउँसो १२ बजेतिर मुस्ताङ आइपुग्छन् । अनि सरासर भारततिर जान्छन् । ‘संघले २०७३ देखि गरिरहेको ५ वर्षे अध्ययन पूरा हुने चरणमा छ,’ संघका अधिकृत भुसालले भने, ‘हाम्रो रैथाने चरा प्रजातिमा नपरे पनि यसको अध्यनन हिउँदमा विचरण गर्ने अरू प्रजातिका लागि पनि उपयोगी छ ।’ जाडो सुरु हुनुअघि मंगोलियादेखि उड्न सुरु गर्ने कर्याङकुरुङ चीन, तिब्बत, माथिल्लो मुस्ताङ, धौलागिरि र नीलगिरि चुचुरो नाघ्दै राजस्थानको किचनगाउँ र गुजरातको कचन जाने गरेका छन् । भारतका किसान कर्याङकुरुङलाई औधि माया गर्छन् । सेप्टेम्बर–अक्टोबरमा जाडो छल्न बसाइँ सर्ने चराका यी प्रजाति काजस्कितान र अफगानिस्तान हुँदै अप्रिल र मेमा फेरि मंगोलिया र रूसतिर फर्कन्छन् । फर्कने बेलाको बथान सानो सानो संख्याको हुन्छ । कर्याङकुरुङ अफ्रिका, टर्कीको एटलास माउन्टेन, काजकिस्तान, चीन र रूसमा पाइन्छ । अग्लो खुट्टा र लामो घाँटी हुने सारस प्रजातिका यी चरा मूलत: सिमसारमा आसपास बस्छन् । विश्वमा पाइने १५ प्रजातिका सारसमध्ये नेपालमा चार प्रजाति देख्न पाइन्छन् । कालो टाउके र सारस क्रेन नेपालमै गुँड लगाउने भए पनि लक्ष्मण सारस र कर्याङकुरुङलाई उडेको मात्रै देख्न पाइन्छ ।
पशुपन्छीमाथिको संकटको अवस्था जनाउने आईयूसीएनको ‘रेड लिस्ट’ मा संवेदनशील प्रजातिमा राखिएका कालो टाउके सारस र सारस विश्वमै दुर्लभ पन्छी हुन् । सारस क्रेन नेपालको पश्चिम तराईमा वर्षैभरि पाइने रैथाने हो भने कालो टाउके सारस आक्कलझुक्कल देखिनेमा पर्छ । उक्त चराको अध्ययनले हुम्लाको लिमी उपत्यकामा प्रजनन् गरेको पाइएको उल्लेख गरेको छ । लक्ष्मण र कर्याङकुरुङ सारस हिउँदे आगन्तुक बटुवा पन्छी हुन्, जो उत्तरी ध्रुवमा हिमपातको सुरुवातसँगै अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा बर्सेनि नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत र श्रीलंकातिर जाने गर्दछन् । नेपाल पन्छी संरक्षण संघको चार वर्षको मुस्ताङ अध्ययनअनुसार बर्सेनि करिब २० हजार कर्याङकुरुङ कालीगण्डकीको आकाश हुँदै यात्रा गर्छन् । सिमसार राम्रो रहेको सूचक प्रजाति सारसले सर्पहरूको संख्या नियन्त्रण गर्नुका साथै बालीनालीका कीरा र अन्य साना जीवहरूलाई खाइदिएर किसानलाई सघाएका हुन्छन् । सारसले बाघ र चितुवाजस्ता जनावरहरू नजिक आउन लागे कराएर जानकारी दिने गर्छन् ।
प्रजनन् समयमा देखिने सारसको विशेष आकर्षक नृत्य र बसाइँसराइका क्रममा आकाशमा देखिने सुन्दर ताँती अत्यन्तै मनमोहक हुन्छ । धेरै उचाइबाट उड्ने सारसका प्रजातिमध्ये फिरन्तेहरू अरू चराका तुलनामा सर्वाधिक माथि उड्न सक्छन् । ७ हजार ९ सय मिटरसम्मको उचाइमा उडेको अभिलेख छन् ।