रकम पाएपछि दंग वनकरिया

कान्तिपुर संवाददाता

हेटौंडा — दसैंमा एकै पटक ८४ हजार रुपैयाँ हात पर्दा कान्छीमाया बनकरिया दंग छिन् । दसैंमा सिंगो परिवारले नयाँ लुगाको साथमा मासु–भात खान पाउने भएपछि उनी हर्षित भएकी हुन । सामाजिक सुरक्षा भत्ताबापत् उनको ७ जनाको परिवारले प्रतिव्यक्ति १२ हजार रुपैयाँका दरले ८४ हजार रुपैयाँ पाएका छन् । 

मनहरी गाउँपालिकाको रजैयास्थित बैंकबाट कान्छीमायाको परिवारले बिहीबार उक्त रकम पाए । गत आवसम्म उनीहरूले प्रतिमहिना २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउने गरेका थिए । चालू आवको साउनदेखि प्रतिव्यक्ति प्रतिमहिना ३ हजार रुपैयाँ भत्ता पाउने गरेका छन् । सरकारले यो वर्षदेखि सामाजिक सुरक्षा भत्तामा एक हजार रुपैयाँ थपेको हो ।

वनकरिया समुदायमा सबैभन्दा बढी भत्ता बुझ्ने कान्छीमायाको परिवार हो । कान्छीमायाको घरमा मात्र होइन, वनकरिया बस्तीमै भत्ता भित्रिएको छ । मनहरी—४ मुसेधापमा रहेका १९ घर धुरीले भत्ता पाएका छन् । लोपोन्मुख वनकरिया गाउँमा ९ लाख ४८ हजार रुपैयाँ भित्रिएको छ । वनकरिया बस्तीमा रहेका ७९ जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । गाउँपालिकाले साउनदेखि कात्तिकसम्म चार महिनाको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत् उपलब्ध गराएको छ ।

‘वृद्धवृद्धा, एकल महिला, अपांगता र लोपोन्मुख समुदायलाई दसैंअघि नै भत्ता उपलब्ध गराएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । दसैंअघि नै गाउँपालिकाले भत्ता दिएकाले दसैं मान्न सजिलो भएको वनकरिया समुदायका अगुवा सन्तमाया वनकरियाले बताइन् । सरकारले मुलुकमा रहेका लोपोन्मुख आदिवासीको सूचीकृतमा वनकरिया, कुसुण्डा, राउटे, सुरेल हायू, राजी, किसान, लेप्चा, मेचे र कुशवाडिया आदी १० जाति छन् ।

प्रकाशित : आश्विन १८, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

दसैंँको महत्त्व र उपादेयता 

डा. गोविन्द टन्डन

काठमाडौँ — दसैँ नेपालीहरूको ठूलो चाड हो । एक किसिमले भन्ने हो भने राष्ट्रिय चाड नै । राज्यले दिने सबैभन्दा लामो छुट्टी यही दसैँमा हुन्छ । आ–आफ्नो रीति–स्थिति, परम्परा अनुसार दसैँ पर्व मनाइन्छ ।

काम विशेषले विदेशमा गएकाहरू, लाहुरमा गएकाहरू पनि सम्झी–सम्झी थातथलो फर्कने यसैबेला हो । फर्कन नसक्नेहरू पनि चुकचुकाउँछन् । परदेशमा रहेकाहरू घरका आमा–बाबु, आदरणीयजनहरूको आशिर्वाद थाप्न नपाएकोमा, स्नेहीजनहरूलाई मङ्गलकामना गर्न नपाएकोमा थकथकी मान्छन् । दसैँमा नेपालीहरू रमाएका हुन्छन्, आ–आफ्नै किसिमले । केटाकेटीहरू गाउँघरमा पिङमा, सहरी क्षेत्रमा चङ्गा र अन्य मनोरञ्जनात्मक खेलकुदमा मस्त हुन्छन् । घरका अभिभावक दसैँको जोहो गर्नैमा व्यस्त हुन्छन् ।

कति अभिभावक कसरी दसैँ मनाउने, केटाकेटीहरूलाई खुसी पार्न लत्ता–कपडा के–के किनिदिने, दसैँमा कुन–कुन इष्टमित्रकहाँ जाने योजना बनाउनमा तल्लिन हुन्छन् । कति भने दसैँमा के–कस्तो साधना गर्ने भनी धार्मिक–आध्यात्मिक मान्यता अनुसारका कार्यहरूको तयारीमा हुन्छन् ।

घटस्थापनाबाट सुरु हुने दसैँको नौ दिनलाई नौरथा वा नवरात्र भनिन्छ । नौ दिनसम्म देवी दुर्गाको आराधना गर्ने क्रममा उनका विविध स्वरूपहरूमध्ये शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको क्रमैसँग पूजा–आराधना गरी उनैको प्रसादस्वरूपको टीका र जमरा आफ्ना हजुरबुबा, हजुरआमा, आमा–बाबु, सासु–ससुरा लगायतका अग्रजहरूको हातबाट ग्रहण गरिन्छ । र आफ्ना परिवारजनहरू र घरमा टीका थाप्न आउने आफन्तजनहरूलाई टीका लगाई घरमा तयार खानेकुरा खान दिई अझ मान अनुसार दिनुपर्नेलाई हातमा दक्षिणासमेत दिई आशिर्वाद दिने चलन छ ।

विवाहित छोरीहरूका लागि माइत तथा भान्जा–भान्जीका लागि मामाघर जाने उल्लासको पर्व यही हो । यसरी आश्विन शुक्ल दसमीदेखि सुरु भएको टीका आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । पूर्णिमा तिथिको दिन रातभर जाग्राम बसी, महालक्ष्मीको विशेष रूपले पूजा–आराधना गरी यो पर्व सम्पन्न गरिन्छ । यो पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिन्छ । यस दिन को–को जागेर बसेको छ, कस–कसले पूजा–आराधना लक्ष्मीको गर्‍यो/गरेन, माता महालक्ष्मीले निगरानी राख्नुहुन्छ भन्ने विश्वासले पनि यसको नाम कोजाग्रत भएको भन्ने भनाइ छ । जाग्नुपर्ने अन्तर्चेतना हो, विवेक हो, बुद्धि हो, ज्ञान हो । रातमा जागा बस्नुपर्छ भनेर जुवातासको खालमा रमाएर वा खान हुने/नहुने चिजबिज खाएर बस्नुको कुनै औचित्य छैन, यस अर्थमा ।

दसैँको नौँ दिनको पूजा–अनुष्ठानको मुख्य विषय भन्नु नै आत्मसाधना हो । यसमा व्यक्ति–व्यक्तिको आत्मशुद्धिको उद्देश्य मुख्य रूपमा समाहित छ । आफूमा देखापर्न सक्ने दानवीय प्रभाव र विकृत आचरणमा आधारित चिन्तन, सोच र विचारको कारण आफू, परिवार, समाज र देशमा पर्नसक्ने दुर्घटनाबाट मुक्ति पाउन गलत सोच र कर्म मबाट कहिल्यै नहोस् भन्ने कामना र आभ्यन्तरिक प्रार्थनाको समष्टि रूप नै पूजाको उद्देश्य हो । आफूले प्राप्त गर्नसकेको शक्ति र सिद्धि शिवाशक्ति अर्थात् कल्याणकारी बनोस् र त्यसले मनको माध्यमबाट उब्जने अशिवाशक्ति अर्थात् अकल्याणकारी चिन्तनहरूलाई सदैव परास्त गर्नसक्ने विवेक र बुद्धि माता जगज्जननी देवी दुर्गाले प्रदान गरून् भन्ने अभीष्ट नै बडादसैँभित्र अन्तर्निहित छ । हिजोआज यसमा अर्थको बुझाइ र बुझाउने व्यक्तिहरूको कमीको कारणले गर्दा पनि होला, ‘खाऊँ–पिऊँ मोज गरुँ’ मै दसैँ सीमित हुँदै गइरहेको त होइन भन्नेजस्तो देखिँदै गएको पनि छ ।

इतिहासको कुनै कालखण्डमा राजा–रजौटा, लडाइँ–भिडाइँ र युद्धसँग बढी नजिकिएको विजयादसमीको नाता–सम्बन्ध विस्तारै टुट्दै गएको छ । किनभने अब पहिलेजस्तो भुरे–टाकुरे राजा र रजौटाहरू छैनन् । स–साना राज्य प्राप्तिको लागि ‘सीमोलङ्गन’ गर्नुपर्ने आवश्यकता रहेन । तर त्यसबेलाको धङधङ्ती हातहतियार पूजा, शस्त्रास्त्रको पूजा, मौलो पूजा, कोतपूजाको नाममा हुने पशुबलिको अन्धविश्वास धेरै मात्रामा हट्दै गए पनि अझै केही रहल–पहल बाँकी छ । आफूजस्तै संवेदना र भावना भएको कसैलाई पशुबलिको नाममा मार्ने, काट्ने काम के ठिक गरिरहेका छौँ ? हामीले आफैंलाई सोध्नुपर्छ ।

शास्त्र त महासागरजस्ता हुन्, त्यहाँ डुबुल्की लगाउँदा अमृत पनि पाइन्छ, कालकुट विष पनि । हामीले आफू, परिवार, समाज र राष्ट्रलाई कस्तो देख्न चाहेको हो ? हिंसै–हिंसाले ग्रस्त समाज बनाउने चाहना हो भने जे पहिले रीतिरिवाज, संस्कृतिको नाममा चले ती ठिकै हुन् भनेर आँखा चिम्लिदिए हुन्छ । होइन शान्त, समुन्नत, खुसी र आनन्दले समृद्ध देख्न चाहने हो भने संस्कृतिको नाममा भित्रिएका अनेक यस्ता विकृतिहरूलाई हटाउँदै, घटाउँदै, पन्छाउँदै नजाने हो भने अज्ञानता र अन्धविश्वासकै भुमरीमा अल्मलिएर बस्नेछौँ ।

इतिहासमा गोपाल, महिषपाल, किरात कालमा दसैँ कसरी मनाइन्थ्यो, प्रमाणहरू अभाव छ । लिच्छवि कालका बारेमा पनि त्यति थाहा लाग्दैन । मध्यकालका छिटपुट उदाहरण पाइन्छ । ने.सं. ७९८ (वि.सं. १७३५) को विजयादसमीको दिन काठमाडौँका मल्ल राजा नृपेन्द्र मल्ल र गोरखाली राजा पृथ्वीपति शाहले हनुमानढोकाको मोहनचोकमा मीत लगाएको उल्लेख पाइन्छ । उनीहरू दसैँको अवसर पारेर दीक्षा लिन्थे ।

उल्लेखनीय कुनै काम गर्नुपर्‍यो भने विजयादसमीको साइत कुरेर बस्थे भन्ने कुरा त्यसबेलाका केही टिपोट र ठ्यासफुमा आउने उल्लेखहरूबाट थाहा हुन्छ । ने.सं. ७८६ (वि.सं. १७२३) को सुवर्णपत्रमा आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाको दिन श्रीनिवास मल्लले आफ्नो दरबारमा मूलचोक तयार पारी त्यसको माझमा महानवमीको साइतको दिन आफ्नो इष्टदेवताको लागि मन्दिर बनाई पूजा गरेको उल्लेख पाइनाले सद्सङ्कल्पका असल र राम्रा कार्यहरू दसैंमा गर्नुपर्छ भन्ने भावना त्यसबेला रहेको थाहा पाइन्छ ।

परिवारजनहरूसँगको भेटघाट, मिलन र पुनर्मिलन, मान्यजनहरूको आशिर्वाद, नाता सम्बन्धको नवीकरण, आत्मीयताको विकास तथा उत्सव र मनोरञ्जनको माहोल पनि प्रमुख विशेषता हो भन्नैपर्छ, दसैँको । यसैले दसैँको छुट्टीको मज्जा नै अलग्ग हुन्छ । वर्षातपछि विस्तारै चिसो–चिसो हुँदै घमाइलो हुँदै गएको मौसम । घाम प्यारो बन्दै जाने अवस्था । बाहिर केही कुहिरो हो कि जस्तो देखिने हुस्सुको च्यादर र त्यसले बनाउने बिहानपखको अँध्यारो रमाइलो लाग्दो हो, सबैलाई । परिवारजनहरूसँगको भेटघाट र नाता–सम्बन्धको विकास र नवीकरण दसैँको अविष्मरणीय पक्ष हो । आत्मोपलब्धिको साधकहरूका लागि त यो ठूलो अवसरै हो भन्दा हुन्छ ।

काठमाडौँ खाल्डोको नेवार बस्तीहरू हुन् कि बाहिरका नेवार बस्तीहरू हुन् । नौरथादेखि नै बाँसुरी बाजा, मोहाली बाजा, झ्याम्टे बाजा र धिमे बाजाको धुनले दसैँलाई सम्झाइहाल्छ । बाजा बजाउँदै मन्दिर–मन्दिरको दर्शनमा लामबद्ध भई हिँड्ने जत्थाहरू बिहान सखारै ठाउँ–ठाउँमा जम्काभेट हुनु पहिले सामान्यजस्तो लाग्थ्यो । आजकाल आक्कल–झुक्कलमात्र देख्ने अवसर पाइन्छ । अझ पुराना बस्तीहरूका मठ–मन्दिरहरूतिर बज्ने मालश्रीको राग पनि कम रोचक हुँदैन । हिजोआज उत्तराधिकारी अभाव, सिक्ने इच्छा राख्नेहरूको खडेरीले गर्दा तिनले धेरै समयको निरन्तरता पाउने कमै सम्भावना छ ।

हिजो तिनको जगेर्नाका लागि अनेक किसिमले गुठीको व्यवस्था गरिएको हुन्थ्यो, राज्यले सहुलियत दिएको हुन्थ्यो र पो त्यस्ता सांस्कृतिक परम्पराहरू चलेका थिए । न सरकारको सहयोग न जनताको इच्छा छ, अहिले । जसले गर्दा लरखरिएको अवस्थामा छ, यी मूर्त र अमूर्त सम्पदाहरूको अवस्था । आफ्नो–आफ्नो गक्ष र क्षमता अनुसार मनाइन्छ, दसैँ । हुनेले तडक–भडकसाथ नहुनेले जसोतसो । कतिको लागि ‘दसैँ आयो ढोल बजाई, गयो दसैँ ऋण बोकाई’ हुन्छ । नेपालमा कत्ति यस्ता दुर्गम ठाउँहरू छन्, जहाँ एकछाक मिठो–मसिनो खान दसैँ नै कुर्नुपर्छ ।

दसैँभित्र –१) पूजा–अर्चना, साधना –२) टीका –३) आपसी सद्‌भाव, सम्मान र साथसाथै मनोरञ्जन पनि गाँसिएको छ । तर यसभित्र समेटिएको साधना पक्ष अहिले झन्डै विलुप्तको अवस्थामा छ । नवरात्रभरि महादुर्गा, महालक्ष्मी र महासरस्वतीको पूजा–आराधना गरी आफूमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता अवगुणहरूलाई त्यागेर त्यसमाथि विजय पाउने र आफूले आफैंलाई जित्ने पर्वको गुढ रहस्यलाई बुझ्न नसक्दा यो पर्वमा विकृति भित्रिँदैछ । हामीभित्र भएको पशुताको त्यागले असल व्यक्ति बनाउँछ । पशुतालाई आफैंभित्र राखेर जति नै पशुको बलि दिए पनि पशुता मासिन्न, यो विचारणीय कुरा छ ।

समग्रमा आफूमा व्याप्त दोष र दुर्गुणहरूलाई हटाई असल आचरण, सत्यप्रतिको निष्ठा, सबैकाप्रति सद्भाव र सबैले सबैको सुख, समृद्धि, आरोग्य र सफलताको कामना गर्नुमै प्राप्त शक्तिको सही सदुपयोग हुने स्पष्ट छ । यसका लागि हरेकले आफूभित्र उदात्त मानवीय गुणको अभिवृद्धि गर्नुपर्ने सन्देश पनि दसैं पर्वमा समाहित छ । शक्तिको मदमा डुबेर कसैले पनि अभिमान र अहंकार देखाएर म नै सर्वेसर्वा हुँ भन्ने किसिमको घमन्ड र मैपनाले आसुरी प्रवृत्तिलाई हुर्काउने–बढाउने हुन्छ ।

त्यसले व्यक्ति, समाज र राष्ट्रमा अनावश्यक द्वन्द्व र परस्परमा शत्रुतालाई वृद्धि गर्छ । त्यसबाट मुक्ति पाउन उदात्त मानवीयतामा आधारित ‘म पनि बाँचुँ, अरू पनि बाँचुन्’ भन्ने ‘वसुधैव कुटुम्वकम’को कल्याणकारी दृष्टि र भावनाको विकास नै दुर्गा आराधनाको गुढ अर्थ र उद्देश्य हो भन्ने मनन गर्नु जरुरी छ ।

प्रकाशित : आश्विन १८, २०७६ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्