कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिशूली-नारायणी जलयात्रा सुरु

रमेशकुमार पौडेल

चितवन — त्रिशूली नदीको कालीखोलादेखि नारायणी नदीको मंगलपुर सानोगढीसम्म जलयात्रा सुरु भएको छ । १० सिट र १४ सिटका दुई वटा मोटरबोटले त्रिशूली र नारायणी नदीमा साढे ४५ किलोमिटर दूरी पार गर्नेछन् । 

त्रिशूली-नारायणी जलयात्रा सुरु

मुग्लिन नारायणगढ सडकमा पर्ने इच्छाकामना गाउँपालिका–६ कालिखोलादेखि त्रिशूली नदीमा सुरु हुने जलयात्रा भरतपुर महानगरपालिका–१६ मंगलपुर सानोगढी नजिक नारायणी नदीमा पुगेर सकिने छ । ‘नेपाल सरकारले स्वीकृति दिएको यो नै अहिलेसम्मकै लामो जलयात्रा हो’ मोटरबोट सञ्चालक कम्पनी आयुश्मा मोटरबोट प्रालिका अध्यक्ष विजयचन्द्र अधिकारीको दाबी छ । शुक्रबार प्रदेश–३ का सांसद घनश्याम दाहालले मोटरबोटको उद्घाटन गरे । त्रिशूली नदीमा साहसिक जलयात्रा गर्न रुचाउने पर्यटकले र्‍याफ्टिङ गर्दै आएकोमा अब अन्य पर्यटकले पनि मोटरबोटमार्फत जलयात्राको आनन्द लिन पाउने दाहालले बताए ।्


‘चितवनमा अनेक पर्यटकीय गतिविधि भइरहन्छन् । त्रिशूली नदीमा यो खालको जलयात्रा नौलो कार्यक्रम हुन सक्छ । पर्यटन वर्षलाई सफल बनाउन यस्तो कार्यक्रमले सहयोग गर्ने छ’ प्रदेश सांसद दाहालको भनाइ थियो । कम्पनीले हाललाई कालीखोलादेखि सानोगढीसम्म मोटरबोट चलाए पनि छिट्टै यो दूरी थप्ने योजना बनाएको अध्यक्ष विजयचन्द्र अधिकारीले बताए । दुई महिनाभित्रै ४० सिटको सानो क्रुज थप्ने उनले बताए ।


‘कुरिनटारदेखि सानोगढीसम्म सानो क्रुज चलाउने योजना बनाउँदै छौं । त्यसो गर्दा जलयात्राको दूरी ६८ किलोमिटर हुने छ’ कम्पनीका उपाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए । २१ जना शेयरधनीले मोटरबोट सञ्चालन गरेका हुन् । सानो क्रुज सञ्चालन गर्दा तीनदेखि ५ करोड रुपैयाँसम्म लगानी थप्नु पर्ने उनले बताए । पर्यटन र जलयात्राको राम्रो सम्भावना देखेर यसमा हात हालेको उनको भनाइ छ ।


कम्पनीका बजार प्रबन्धक समिर श्रेष्ठ जलयात्रा गर्ने पर्यटकलाई होटलमा खाने बस्ने सुविस्तासहित प्याकेज उपलब्ध हुने बताउँछन् । ‘प्रतिव्यक्ति ३५ सय रुपैयाँ तिरेमा नारायणगढ र गैंडाकोट क्षेत्रका होटलमा एक रात बस्न, साँझको खाना (डिनर) र बिहानको नास्ता (ब्रेकफाष्ट) सहित जलयात्रा गर्न पाइन्छ । दुई जना आए यसमा १० प्रतिशत छुट हुन्छ’ श्रेष्ठले जानकारी दिए ।


नारायणगढ वा सौराहा आएर बस्ने, जलयात्रा गर्ने, जंगल पनि घुम्ने कार्यक्रम बनाएर आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरेर प्याकेज बनाएको र त्यही अनुसार बजार प्रवर्द्धनका कार्यक्रमहरु गरेको उनले बताए । नदीको तेज धार र लामो दूरीलाई ख्याल राखेर सुरक्षामा पनि यथेष्ट विचार पुर्‍याएको अध्यक्ष अधिकारीको दाबी छ । उनका अनुसार मोटरबोटमा नै एक उद्धारक (लाइफगार्ड) रहने छन् ।

प्रकाशित : आश्विन १७, २०७६ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?