कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले झस्काइरहन्छ

अनिश तिवारी

सिन्धुपाल्चोक — चट्याङको ठूलो आवाजसँगै एक्कासि असिना पानी दर्किएपछि भोटेकोसी गाउँपालिका–१ लिस्तीकोट पाउँगुम्बाका कामी शेर्पा आत्तिँदै क्षतिग्रस्त नोकाङडाँडातिर फर्के । थोरै झरेको नोकाङडाँडाको माटो सम्झँदै शेर्पाले पहिरोमुनि निर्माणाधीन घर देखेर चिन्तित भए । ‘अन्यत्र जग्गा नभएपछि पहिरोमुनि ऋण गरेर घर बनाउँदै छु, पानी परेपछि पहिरोको डरले भाग्नुपर्ने बनाउँछ,’ शेर्पाले दुःखेसो पोखे । 

छिमेकीसँग २४ प्रतिशत ब्याजमा चार लाख ऋण लिएर घर बनाइरहेका शेर्पाको आवास निर्माणलाई पहिरोले अन्योलग्रस्त बनाएको छ । ‘पहिरोमुनि घर किन बनायो भन्छन्, नबनाईकन टहरामुनि पनि कतिन्जेल बस्ने त ?,’ उनले प्रश्न गरे ।


दसैं नजिकिँदै गर्दा घर बनाउन हतारिएकी भोटेकोसी चौकीडाँडाकी मकुजा श्रेष्ठ पहिरोले बस्ती धरापमा पारेपछि आत्तिएकी छन् । घर बनाउने योजनामा रहेकी उनको परिवारलाई पहिरोले बस्ती ढाक्न थालेपछि विस्थापित हुने अवस्थामा पुगिसकेको उनले भनिन् । ‘आवास बनाउन पहिरोले रोक्यो, टहराबाटै लखेटिनुपर्ने भयो, दसैं कहाँ मनाउने हामी अन्योलमा परेका छौं,’ उनले भनिन् ।

बाह्रबिसे नगरपालिका गाती सिर्गाचेकी सुनिमा तामाङ माथिल्लो डाँडो भास्सिएपछि आवास पुनर्निर्माण गर्ने नगर्ने अन्योलमा परेकी छन् ।


माथिल्लो डाँडोमा धाँजाधाँजा फाट्दै आएपछि कहिले भागाभाग गर्नुपर्ने भन्ने डरले उनले घर बनाउने कामलाई हालै थाती राखेको उनले सुनाइन् । ‘टहरामा बसेर यो दसैं कटाइने भइयो, घर बनाउन पहिरोले समस्या र डर दुवै बनायो,’ उनले भनिन् । भूकम्पको परकम्पबाट आएको पहिरोले गर्दा अन्योलमा परेका भूकम्पपीडितको भोगाइको यी केही उदाहरण मात्रै हुन् ।


जिल्लाको भोटेकोसीको लिस्तीकोट, मार्मिङ, झिर्पू, तातोपानी, दुगुना हुँदै बाह्रबिसे नगरको सिर्गाचेदेखि जुगल गाउँपालिकाको बराम्चीको दर्जनौं गाउँक्षेत्रका हजारौं परिवार अझै पहिरोमुनि बस्न बाध्य छन् । विस्थापित र पहिरोमुनि बसिरहेका पीडितलाई पहिचान गरेर निषेधित क्षेत्र तोकिए पनि स्थानन्तरण र पुनःस्थापनाको काम अझै हुन सकेको छैन । जिल्लाभरको पुनर्निर्माणको तथ्यांकमा पहिरोले अवरोध बनाएको भोटेकोसी क्षेत्रबाहेक अन्यत्र पुनर्निर्माणले गति लिएको पाइएको जिल्ला आयोजना कार्यान्वयन एकाई (भवन) ले जनाएको छ ।


‘जथाभावी गएको पहिरोले जिल्लाको पुनर्निर्माणलाई एकदमै पछाडि धकेलेको छ, पहिरोमुनि आवास बनाइसकेका पीडित पनि के गर्ने अन्योलमा छन्,’ जिल्ला आयोजना कार्यान्वयन एकाई (भवन) का प्रमुख सन्तोष निरौलाले भने । भोटेकोसी गाउँपालिकाक्षेत्रमा ४ हजार २ सय २६ लाभग्राहीमा हालसम्म अनुमानित २ हजार मात्रै घर बनेको उनले सुनाए ।


जिल्लाभरका ९ सय १३ जना विस्थापितमा २ सय ३२ परिवारका लागि मात्रै विभिन्न स्थानमा जग्गा खरिद प्रक्रिया सकिएको छ । त्यसबाहेक १ सय ५४ विस्थापित परिवारले पहिरोमुनि आवास बनाइसकेकाले के गर्ने अन्योल बनेको छ ।


७० हजारले बनाए घर

जिल्लाभरका ८८ हजार २ सय ४९ भूकम्पपीडितमा झन्डै ७० हजार भूकम्पपीडितले आवास ठड्याइसकेका छन् । जसमा गैरसरकारी संस्थाको सहयोगमा झन्डै ५ हजार घर भूकम्पपीडितको घर बनिसकेको जिल्ला आयोजना कार्यान्वयन एकाई (अनुदान तथा पूर्वाधार) ले जनाएको छ । पहिचान लाभग्राहीमा ८५ हजार ५ सय २३ ले सम्झौता सकेर पहिलो किस्ता लगिसकेका छन् ।


प्रकाशित : आश्विन १७, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?