कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाम खुलाउन अप्रेसन टोली

धादिङ प्रहरीले दसैं, तिहारलगायत चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष कार्ययोजना बनाएको छ
हरिहरसिंह राठौर

(धादिङ) — राजमार्गलाई सहज बनाउन प्रहरीको अप्रेसन टोली खटिएका छन् । नौबिसे–नागढुंगा सडक खण्डमा सवारी जाम नियन्त्रण गरी सुरक्षित र सहज यात्रा बनाउन जिल्ला प्रहरीले राजमार्ग अप्रेसन टोली परिचालन गरिएको हो । 

जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारको नेतृत्वमा गठन गरिएको टोलीमा प्रहरी नायव उपरीक्षक रुपक खड्का, गजुरी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्का, गजुरीस्थित जिल्ला ट्राफिक इन्चार्ज प्रहरी निरीक्षक नेत्रप्रसाद भट्ट र खानीखोला प्रहरी निरीक्षक रुकबहादुर खड्का छन् । जिल्ला प्रहरीले यात्रामा कुनै पनि असहज महसुस भए वा अकारण सवारी जाम भए तत्काल प्रहरीलाई खबर गर्न यात्रुहरूलाई आग्रह गरेको छ । सडकमा ओभरटेकको समस्या देखिएकाले प्रत्येक सय मिटरमा प्रहरी परिचालन गरी सवारी अनुशासनलाई कडाइ गरिएको र प्रहरीलाई समन्वयात्मक भूमिकाको जिम्मेवारी दिइएको छ । यस सडकखण्डमा ‘नो–ओभर ट्र्याक जोन’ को रूपमा पनि घोषणा गरिएको छ ।


धादिङ प्रहरीले दसैं, तिहारलगायतका चाडपर्वमा बेला हुन सक्ने आपराधिक गतिविधिहरू रोकथाम तथा नियन्त्रणका लागि विशेष कार्ययोजनासमेत निर्माण गरेको छ । सुरक्षाका लागि जिल्लाका विभिन्न स्थानमा ६ वटा मोबाइल गस्ती एवं २७ वटा पैदल गस्ती दैनिक रूपमा परिचालन गरेको छ । थाक्रेको महादेवबेंसी बजारदेखि नागढुंगा क्षेत्रका विभिन्न स्थानमा १५ वटा मोटरसाइकल गस्ती गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले बताए । अघिल्ला वर्षहरूमा घटस्थापनादेखि राजमार्गमा सवारी चाप वृद्धि हुने गरेको थियो । यस वर्ष त्यस अगावै जाम सुरु भएपछि प्रहरीलाई सवारी व्यवस्थापनमा हम्मे परेको थियो ।


यता, पृथ्वीराजमार्गमा नियमित चल्ने ठूला मालबाहक साधनको प्रवेशमा रोक लगाएपछि नौबिसे–नागढुंगा खण्डमा आवागमन केही सहज भएको छ । सवारी चापले आजित बनेको यो सडक खण्डमा प्रहरी जनशक्ति बढाएर ठूला मालबाहक सवारीसाधन प्रवेशमा रोक लगाएपछि सवारी जाम केही हटेको हो । साँघुरो र घुमाउरो मोडमा मापदण्डविपरीत बढी भार बोकेका लरी, ट्रक र कन्टेनरहरू ढिलो गुड्ने, सडकमै बिग्रने र बिग्रेका साधनलाई तुत्कालै हटाउन नसक्दा घण्टौं सवारी जाम हुने गरेको थियो ।


सवारी जामले बिरामीको समेत मृत्यु भएपछि आइतबारबाट ठूला मालबाहक साधनलाई बढी सवारी चाप हुने समयमा रोक लगाएइको हो । १० चक्केमाथिका मालबाहक साधनलाई खानीखोलाभन्दा तलतिरका खाली स्थानमा रोक्ने र १८ चक्के सवारीलाई भने चितवनदेखि नै रोकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । ‘चाडपर्व मनाउन राजधानीबाट बाहिरिने सवारीको चाप बढेका कारण ठूला मालबाहक सवारी प्रवेशमा रोक लगाएको हो,’ उनले भने, ‘यात्रुहरूलाई सहज र सजिलैसँग गन्तव्यमा पुर्‍याउन विभिन्न स्थानमा प्रहरी परिचालन गरेका छौं ।’


चाडपर्व नजिकिएसँगै त्रिभुवन राजपथको नौबिसे–नागढुंगा सडकखण्डमा सवारीको चाप अत्यधिक बढ्न थालेपछि कंलकीदेखि धादिङको सिम्लेसम्म सवारीको जाम लाग्ने गरेको थियो । यो दूरी करिब ३० किलोमिटर हो । जसका कारण बिरामी, अत्यावश्यक साधन र विदेश यात्रा गर्न हिँडेकाहरू बढी मारमा परेका थिए । चाडपर्व लागेपछि समयमै सडकको मर्मतसम्भार गर्न नसकेका कारण, खाल्डाखुल्डीले सडक दुर्घटनाको जोखिम बढाएको छ ।


राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिने साधनहरूको चाप अत्यधिक हुने र मालबाहक सवारीका कारण यो खण्डमा जाम हुने गरेको हो । यात्रुहरूलाई सुरक्षित र समयमा नै गन्तव्यमा पुर्‍याउन विभिन्न स्थानमा प्रहरी पनि परिचालन गरिएको छ । मालबाहक साधनहरूले क्षमताभन्दा बढी भार बोकेर राजधानी प्रवेश गर्ने गरेका छन् । बढी भार बोकेर काठमाडौं प्रवेश गरेका मालबाहक सवारीसाधन उकालोमा बिग्रने गरेर जाम लाग्ने गरेको छ । जसका कारण राजमार्ग हुँदै राजधानीबाट बाहिरिने र भित्रने सयौं सवारीका हजारौ यात्रुहरूले यात्राका क्रममा अनावश्यक झन्झट बेहोर्नुपरेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए । सवारीजामको फाइदा उठाएर स्थानीय होटलहरूले पनि ग्राहकहरूलाई चर्को मूल्य लिएर ठगी गर्ने गरेको गुनासो आएको बताउँदै सादा पोसाकमा प्रहरी परिचालन पनि गरिने बताए । ‘निर्माण सामग्री बोकेका लरी नागढुंगाको उकालो तथा मोडहरूमा बिग्रने र मोडहरूमा साइड नै नपुग्दा सवारी जाम हुने गरेको छ,’ उनले भने, ‘चाडपर्वमा निर्माण सामग्रीको आवश्यकभन्दा पनि यात्रुहरूलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था मिलाएका छौं ।’


ठूला साधन चल्न रोक लगाएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी चाप आधा घटेको छ । जिल्ला प्रहरी कार्यालयले घटस्थापनादेखि एक साताका लागि ठूला मालबाहक सवारीसाधन प्रवेशमा रोक लगाएको हो । जाम हुन नदिन तत्कालका लागि सडकमा भइपरी आउन सक्ने समस्याका लागि क्रेन र डोजरजस्ता उपकरण तयारी अवस्थामा राखिएका छन् । १२ चक्के सवारीलाई असोज १८ गतेसम्म निश्चित समयमा मात्र प्रवेश गर्न पाउने गरी व्यवस्थापन गरिएको छ ।


ठूला १२ चक्केभन्दा माथिका सवारीलाई सवारी चाप हेरेर मात्रै रातको ९ बजेपछि मात्र प्रवेश अनुमति दिइने छ ।


प्रकाशित : आश्विन १४, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?