कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

देखिए तेन्जिङ र हिलारी

राजेन्द्र मानन्धर

जिरी, दोलखा — रातो कपडा उघारेर दुई वटा अर्धकदका मूर्तिहरु शनिबार जिरीमा सार्वजनिक गरिए । जिरी एयरर्पोट नजिकैको घाँसे मैदानको पूर्वी भेगमा अनावरित ती मूर्तिहरुले जिरीलाई पुराना सुनौला दिनहरुका सम्झना गराउॅछ, जतिबेला जिरी विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेश गर्ने एकमात्रै मूलढोका थियो ।

देखिए तेन्जिङ र हिलारी

यहीँबाट छिरेर मानिसहरु सर्वोच्च शिखर चुम्न पदयात्रा गर्थे ।


पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शनिबार अनावरण गरेपछि पार्कभित्र स्वर्गीय तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको मूर्ति देखिए । जिरी नगरपालिकाका मेयर टंक जिरेलले उक्त दुई पात्रको मूर्ति स्थापनाले जिरीमा नोर्गे र हिलारी फेरि आएको अनि खचाखच विदेशीको घुइँचो लागेको जिरी जस्तो सम्झना आइरहेको बताए ।


पटकपटक जिरी आएका हिलारीले एकपटक जिरीको एउटा छाप्रोमा बसेर चिया पिएका थिए । भर्खरै जिरी बहुउद्देश्सीय विकास कार्यक्रम सञ्चालन गर्न स्वीट्जरल्याण्डबाट आएका स्वीसहरुका साथमा उनले त्यहाॅ रात पनि बिताएका थिए । त्यो बेला स्वीसका लागि क्यान्टिन बनाइएका उक्त छाप्रोसहितको क्षेत्रलाई पर्खालले घेरेर तेन्जिङ हिलारी स्मृति पार्क निर्माण गरिएको हो । त्यहाॅको छाप्रोलाई संग्रालय बनाउनका लागि क्यान्टिन अन्यत्र सारिने मेयर जिरेलले बताए ।


सन् १९५३ को मे २९ का दिन तोन्जिङ र हिलारीले जिरीबाट थप १४ दिन पदयात्रा गरिकन सगरमाथामाथि पहिलो मानव पाइला बजारेका थिए । विजयको त्यो पहिलो उत्सवको सन्दर्भमात्रै हैन जिरीसॅग हिलारीको नाता गहिरो छ । पछिपछि तेन्जिङ नदेखिए पनि हिलारी भने सन् १९७६ सम्म पटकपटक जिरीको विभिन्न स्थानमा देखिएका थिए । प्लेनको सुविधा नभएसम्म उनीहरुलाई काठमाडौंबाट जिरी आउन नै ६ दिनको पदयात्रा गर्नुपर्थ्या । तथापी, सोलुखुम्बुका विभिन्न क्षेत्रमा सञ्चालन गरेको मानवीय सहायता र शिक्षा विकाससम्बन्धी कार्यक्रमका लागि उनी पटकपटक जिरी आउनुपर्थ्यो ।


पहिलो सफल सगरमाथा आरोहण दल प्रमुख कर्णेल हण्टको नेतृत्वमा आएका हिलारी र सहयोगी तेन्जिङसहितको टोली सिक्री गाउॅ किनारबाट बग्ने खोला छेऊमा पालको ओतमा बास बसेका थिए । उक्त गाउॅका लालबहादुर जिरेल उक्त दलमा भारी बोक्ने कार्यमा सहभागी भएका थिए ।


प्रदेश सरकारको बजेटमा बनाइएको पार्कमा रहेको छाप्रोलाई संग्रहालय बनाउने सोच नगरपालिकाको छ । म्युजियममा उनले सन् १९७० को डिसेम्बर ८ का दिन जिरी जिरी हाइस्कुलमा हस्ताक्षरसहित लेखिएको सम्झनाको प्रतिलिपि पनि राखिने छ ।


स्वीट्जरल्याण्डको जुरिक, याक चिज र सगरमाथा प्रवेशद्वारले परिचित जिरीलाई पुरानै अवस्थाको चर्चित र चहलपहल गराउने जिरी नगरपालिकाकाले योजना अघि सारेको छ । ‘क्लिन, ग्रीन र अर्गानिक जिरी’को नारा दिएर कार्य थालेको नगरपालिकाले पछिल्लोपटक तेन्जिङ हिलारी पार्कलगायत पर्यटन प्रर्वद्धनका लागि कार्य अघि बढाइरहको मेयर जिरेलले बताए ।


हिलारीले जिरीको शिक्षा र अन्य अवस्थाको हस्ताक्षरसहितको लिखत । तस्बिरः राजेन्द्र मानन्धर/कान्तिपुर

सन् १९६० को दशकदेखि सुरु भएको तर हाल बन्द भएको एयरपोर्ट पुनः सञ्चालन, प्राकृतिक जिरी ताल निर्माण, स्वीस राष्ट्रपति ओर्लिएको स्थलमा आर्नोल्ट कोलार पार्क निर्माण र अग्लाअग्ला स्तुपा निर्माण लागि योजना बनाइरहेको उनले जानकारी दिए ।

उक्त विकासको प्रस्तावलाई प्राथमिकतामा राख्न सरकारलाई ध्यानाकर्षण गारउने पूर्वप्रम तथा नेकपा अध्यक्ष दाहालले बताए । उनले जिरी नगरपालिका भवन उद्घटान र जिरी सामुदायिक एफएमको दोस्रो वार्षिक उत्सवलाई सम्बोधन गरेका थिए ।

प्रकाशित : आश्विन ११, २०७६ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?