८ केजी चरेससहित युवती पक्राउ


हेटौंडा — तस्करहरुले सामान्य खालका युवतीहरुलाई गाँजा र चरेस बोकाउन थालेका छन। उनीहरुलाई राम्रै ज्याला रकम दिने प्रलोभनमा पारेर चरेस र गाँजाहरु बोकाउने गरेका छन ।

तस्कहरुले पर्सा पटेर्वा सुगौली नगरपालिका-१ की २४ वर्षीया गिता राईलाई राम्रै रकम ज्याला दिने भनेर प्रलोभनमा पारेर चरेस बोकाएका थिए । तर उनी मकवानपुरमा प्रहरीको फन्दामा परिन् । वीरगन्जसम्म चरेस पुर्याएको २० हजार रुपैयाँ ज्याला पाउने लोभमा उनले बोकेकी थिइन् ।
राईले ८ केजी १ सय ६० ग्राम चरेस धादिङबाट झोलामा हालेर ल्याएकी थिइन् । प्रहरीले हेटौंडा उपमहानगरपालिका १० बसपार्कस्थित धरानतर्फ जानका लागेको बा४ख ८०६० नम्बरको बसमा जाँच गर्ने क्रममा राईले बोकेको झोला खानतलासी गर्दा चरेस फेला परेको प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए ।
'राईको झोलामा प्लाष्ट्रिकको ८ वटा पाकेटमा प्याक गरिएको ८ केजी १ सय ६० ग्राम चरेस फेला पर्यो,' उनले भने । पक्राउ परेको युवती भरियामात्र भएको प्रहरीले जनाएको छ । यसैगरी प्रहरीले भक्तपुर ठिमीबाट हेन्डिल लक तोडी चोरे ल्याउँदै गरेको लु५४प ६०९८ नम्बरको मोटसाइकलसहित रौतहट चन्दपुर नगरपालिका-८ का १८ वर्षीय अविनाश चौधरीलाई पक्राउ गरेको छ ।
प्रकाशित : आश्विन ९, २०७६ १५:४८