कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

११४ शौचालय चाहिनेमा ३७ मात्रै

सीमा तामाङ

काठमाडौँ — जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले काठमाडौंमा पर्याप्त सार्वजनिक शौचालयबिनै जिल्लालाई खुला दिसामुक्त घोषणा गरेको छ । 

११४ शौचालय चाहिनेमा ३७ मात्रै

गुठी संस्थाले गरेको सर्भेअनुसार काठमाडौं महानगरमा ३७ स्थानमा मात्रै सार्वजनिक शौचालय छन् । ती शौचालयमा पनि दिसापिसाब गर्न सक्ने अवस्था छैन । काठमाडौं महानगरको तथ्यांकमा भने हाल ४५ शौचालय उल्लेख छ । दुई संस्थाको तथ्यांक नै फरक–फरक छ ।


काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले महानगरमा रहेका सबै शौचालय प्रयोग गर्न योग्य रहेको दाबी गरेका छन् । समितिका अनुसार काठमाडौंमा २ लाख ९५ हजार ४ सय ५२ घर छन् । प्रत्येक घरमा शौचालय भएकाले खुला दिसामुक्त जिल्ला घोषणा गरिएको उनले बताए । जिल्लालाई दिसामुक्त घोषणा गरे पनि सर्वसाधारण भने कार्यालय र होटलतिर धाउनुपर्ने बाध्यता छ । शौचालय जानकै लागि चिया खाजा खाने बाहनामा होटल छिर्नेमा ललितपुर बंगलामुखीकी सनिता महर्जन पनि हुन् । ‘शौचालयकै लागि कहिले होटल, कहिले अस्पतालतिर जाने गरेकी छु,’ उनले भनिन्, ‘अस्पतालको शौचालय पनि छिर्न नसक्ने अवस्थाको छ । त्यसैले शौच गर्न चिया खाने बाहनामा क्याफे जान्छु ।’


सार्वजनिक शौचालय पर्याप्त मात्रामा रहेको काठमाडौं महानगरका प्रवक्ता डंगोलले बताए । ‘काठमाडौंको ठाउँठाउँमा सार्वजनिक शौचालय छन्,’ उनले भने, ‘शौचालय व्यवस्थित नभएको चाहिँ हुन सक्छ ।’ महानगरले गत माघमा बनाएको शौचालय अध्ययन कार्यदलले नै अहिले रहेका सार्वजनिक शौचालय प्रयोग योग्य नभएको प्रतिवेदन बुझाएको थियो । जसका कारण खुला स्थान, आकाशेपुललगायतका ठाउँमा शौच गर्ने गरिएको कार्यदलको निष्कर्ष थियो । कार्यदलको प्रतिवेदनमा शौचालयको अवस्था परिवर्तन तथा सुविधा थप्नुपर्ने सुझाव दिइएको थियो । प्रतिवेदनमा भनिएको छ, ‘अहिले भएका शौचालयमा न सरसफाइ छ, न पानीको प्रबन्ध छ, न त उज्यालो नै । यसरी चलेका शौचालयलाई व्यापारभन्दा सेवाका लागि रूपान्तरण गर्नुपर्छ । पहिलो चरणमा भएकालाई सुधार गर्ने र त्यसपछि क्रमश: नयाँ निर्माण तथा आधुनिक शौचालय थप गर्नुपर्छ ।’ कार्यदलले महानगर क्षेत्रभित्र भएका शौचालयसहित १ सय ५१ आवश्यक भएको औंल्याएको छ ।


गुठी संस्थाले गरेको सर्भेअनुसार काठमाडौंलाई थप ४० सार्वजनिक शौचालयको आवश्यकता देखाएकोले निर्माणको प्रक्रिया अघि बढिसकेको प्रवक्ता डंगोलले बताए । भिजिट २०२० लाई मध्यनजर गर्दै धार्मिक स्थल तथा आन्तरिक तथा बाहृय पर्यटक आवागमन हुने ठाउँमा सार्वजनिक शौचालय बनाउने उनले बताए ।


स्मार्ट शौचालयको डिजाइन तयार भइसकेको र निर्माण चरण अघि बढेको उनले बताए । ‘अब स्मार्ट शौचालय बनाउने र अव्यवस्थितलाई पनि सुधार गर्ने योजना छ,’ उनले भने । तत्काल १२ सार्वजनिक शौचालय निर्माण गर्ने महानगरले जनाएको छ ।


प्रकाशित : आश्विन ५, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?