कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दस हजारले लिए प्यान 

मकवानपुर — आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट दुई महिनाको अवधिमा ९ हजार ६ सय ६२ जनाले स्थायी लेखा नम्बर (प्यान) र भ्याट प्रमाणपत्र लिएका छन् ।

दस हजारले लिए प्यान 

व्यक्तिगत रूपमा पारिश्रमिकमार्फत् आयआर्जन गर्ने तथा व्यावसायिक रूपमा गरिएका अर्थोपार्जनका गतिविधिको विवरण चुस्तदुरुस्त बनाउनका लागि सरकारले जेठ १५ देखि प्यान र भ्याट अनिवार्य गरेपछि प्रमाणपत्र लिनेको संख्यामा उल्लेख्य वृद्धि भएको हो । कार्यालयका नायब सुब्बा सागर पन्थीले हेटौंडा प्रदेश राजधानीसमेत भएकाले प्यान लिनेको संख्या अत्यधिक रहेको बताए ।


सरकारले चालू आर्थिक वर्षको बजेट भाषण गर्दा नै प्यानलाई अनिवार्य गरेपछि प्यान लिनेको घुइँचो लाग्न थालेको थियो । तर पनि सरकारले चालू आर्थिक वर्षको साउन १ बाट प्यान अनिवार्य आवश्यक भनेपछि हालसम्म पनि कर कार्यालयमा प्यान लिनेको भीड लागेको छ । पन्थीका अनुसार हालसम्म सबैभन्दा धेरै व्यक्तिगत प्यान ७ हजार ३ सय ६७ जनाले लिएका छन् ।


त्यस्तैगरी आयकर प्यान १ हजार ४ सय ८०, मूल आयकर प्यान ६ सय २५ , अन्त:शुल्क प्यान १ सय ८१ र सरकारी प्यान ९ वटाले लगेका छन् । गत आर्थिक वर्ष ०७५/७६ मा जम्मा ८ हजार ६ सय ७८ जनाले प्यान नम्बर लिएका थिए । चालू वर्ष भने २ महिना नपुग्दा नै ९ हजारभन्दा धेरैले प्यान नम्बर लिएको आन्तरिक राजस्व कार्यालय हेटौंडाले जनाएको छ ।



सरकारले प्यानलाई अनिवार्य रूपमा लागू गर्दा दैनिक मजदुरी गरेर खानेलाई समस्या पर्ने भन्दै विरोध भइरहँदा पनि प्यान लानेको संख्या भने गत वर्षको यही अवधिको तुलनामा कैयौं गुणा बढी रहेको छ । गत वर्ष ४ हजार २ सय ७३ जनाले व्यक्तिगत प्यान नम्बर लिएका थिए ।

प्रकाशित : आश्विन २, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?