कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरमा पुलुकिसी जात्रा

भक्तपुर — इन्द्रजात्राको अन्तिम दिन बुधबार भक्तपुरको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइएको छ । पुलुकिसी जात्रासँगै भक्तपुरमा इन्द्रजात्रा सम्पन्न गरिन्छ । 

स्थानीय लाकुलाछें टोलबाट सुरु गरिने पुलुकिसी जात्रामा बुलुचा, नासमना, वंशगोपाल, इताछें, दरबार स्क्वायर, भोलाछें, महालक्ष्मीस्थान, थालांछें, गछें, सूर्यमढी, तचपाल, इनाचो, गोल्मढी, सुकुलढोकालगायत स्थानमा परिक्रमा गर्ने प्रचलन छ । भक्तपुर नगरको लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँडसमेत राखी पुलुकिसी तयार गरिन्छ । पुलुकिसीलाई चार जना मानिसले बोक्ने र एक जनाले पुलुकिसीभित्र घण्टा बजाएर स्थानीय तौमढीमा रहेको शक्तिशाली आकाश भैरव मन्दिर अगाडि तीनपटक घुमेर जात्रा सुरु गरिन्छ । देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीको रूपमा लिइने पुलुकिसीलाई वंशगोपाल, इताछें, चोछें, भोलाछेंलगायतका दोबाटो, चौबाटोमा धान खुवाउने, दरबार स्क्वायरको डबलीमा आगो तपाउने, सूर्यमढीको तला तुन्छी (इनार) मा पानी खुवाउने प्रचलन रहेको छ । जात्राको क्रममा पुलुकिसीको सुँडले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुसिकी आउँदा सुँडले छुन्छ कि भनी मानिस परपर भाग्ने गर्दछन् । त्यसैगरी, बुधबार पुलुकिसी जात्रासँगै तौमढीको आकाश भैरवको अर्को स्वरूप श्मसान भैरवको खट जात्रासमेत गरिन्छ ।


खट जात्रामा नायखिङ (खड्गी समुदायको विशेष) बाजा बजाएर गुठी संस्थाबाट भैरवलाई विधिवत् रूपमा बलिसहितको पूजा गरी खटजात्रा सुरु गरिन्छ । जात्रासँगै स्थानीय तल्लो टोलका मानन्धर समुदायले बुलुचास्थित ढुंगेधारा अगाडि दुईवटा या:मता (आकाशदीप) बाली तीन दिन मनाइने मूपात्र जात्रासमेत सम्पन्न गरिन्छ । जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै बात नलाग्ने स्थानीय बासिन्दा बताउँछन् । त्यसै कारण पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा सुरु गरिन्छ । देवी पुराणअनुसार इन्द्रजात्रासँग सम्बन्धित पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाइने गरेको संस्कृतिकर्मी ओम धौभडेल बताए ।


प्रकाशित : आश्विन २, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?