कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निकुञ्जमा राहत माग्ने बढ्दै

रसुवा — निकुञ्जका वन्यजन्तुले अन्नबालीमा क्षति गरेको भन्दै राहतका लागि निवेदन दिनेको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको दुई महिनामा रसुवा जिल्लाका मात्रै २० जना कृषकले राहतका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज निवेदन दिएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्ज रसुवा, नुवाकोट र सिन्धुपाल्चोकसहित तीन जिल्लामा फैलिएको छ ।

नुवाकोटबाट अघिल्लो र चालू आर्थिक वर्षमा १ सय १७ जना कृषकको निवेदन परेको निकुञ्जले बताएको छ । धेरैजसो कृषकले जंगली बँदेलले अन्नबाली क्षति गरेको भन्दै निवेदन दिएका छन् । भालुले मानवीय क्षति गरेको र चितुवाबाट पशुको क्षति भएको निवेदन पनि परेको छ ।


वन्यजन्तुबाट अन्नबाली र पशुपन्छी क्षति गर्ने क्रम बढ्दै गएको छ । निकुञ्जले अहिलेसम्म ४० जना कृषकलाई ५ लाख ५ हजार १ सय राहत रकम वितरण गरिसकेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए । ‘निवेदन दिएकाहरूको हकमा पनि राहत दिने तयारी भइरहेको छ,’ उनले भने । हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँचितुवा, जंगली बँदेल, ध्वाँसे चितुवा, जंगली कुकुर, अर्ना, मगर गोही, गौरी गाई र अजिंगरले क्षति गरे राहत पाउने व्यवस्था वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ को दोस्रो संशोधन २०७४ मा रहेको छ ।


निर्देशिकामा मानवीय, पशुधन, घरगोठ, भण्डारण गरेको अन्न र खाद्यान्न बालीको क्षतिका लागि राहत दिने व्यवस्था छ । वन्यजन्तुबाट हुने क्षतिको राहत पाउने कुरा थाहा पाएपछि निवेदन दिनेको संख्या बढ्दै गएको लाङटाङ राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् ।


वन्यजन्तुपीडित भएकाहरूले निकुञ्जबाट राहत पाउने व्यवस्था समुदायमा पुगेर प्रचारप्रसार गरिएको उनले बताइन् । क्षतिको राहत सहयोग निर्देशिकाको दोस्रो संशोधन २०७४ अनुसार सरकारले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिको परिवारलाई क्षतिपूर्तिबापत् बढीमा १० लाख रुपैयाँसम्म दिने व्यवस्था गरेको छ ।


सामान्य घाइतेलाई २० हजार र सख्त घाइतेका लागि प्रकृति हेरी प्रेषित कागजात र विशेषज्ञ चिकित्सकको सिफारिसका आधारमा बढीमा दुई लाखसम्मको उपचार खर्च दिने व्यवस्था रहेको छ । घररगोठ र खाद्यान्नबालीको क्षतिका लागि बढीमा १० हजार रुपैयाँसम्म दिने व्यवस्था रहेको छ । पशुधनमा वयस्क भैंसी, जोत्ने उमेरको राँगा, गोरु वा उन्नत जातका गाई वा साँढेको मृत्यु भएमा बढीमा ३० हजार रुपैयाँसम्म दिने व्यवस्था छ ।


बाँदरले मकैलगायत अन्य बाली नष्ट गर्न थालेपछि जिल्लाको दक्षिण भेग उत्तरयगा, कालिका र नौकुण्डका किसान भने हैरान छन् । बाँदरले अन्नबालीमा क्षति पुर्‍याएबापत् पीडितले राहत पाउने व्यवस्था निर्देशिकामा छैन ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको राहत अक्षयकोषको ब्याजबाट राहत वितरण गर्ने गरिएको निकुञ्जले बताएको छ । मानव–वन्यजन्तुबीच हुने द्वन्द्वका कारण संरक्षणमा चुनौती सिर्जना हुने भएकाले पीडितलाई थोरै भए पनि राहत दिँदा संरक्षणमा योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित : भाद्र ३१, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?