कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोकथाम नहुँदा छिटो फैलियो डेंगु

चितवन — डेंगु चितवनका लागि नौलो रोग होइन । नेपालमै पहिलोपटक सन् २००४ मा यहाँ डेंगुका बिरामी भेटिएका थिए । त्यो बेला पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराउन आएका एकजना विदेशीलाई डेंगु पुष्टि भएको थियो ।

रोकथाम नहुँदा छिटो फैलियो डेंगु

सन् २०१० मा महामारीकै रूपमा देखापर्‍यो । त्यसपछि प्रत्येक तीन/तीन वर्षमा महामारी फैलिइरहेको छ ।


सन् २०१३ र २०१६ मा चितवनमा डेंगुले महामारीको रूप लिएको थियो । पछिल्ला वर्षको तुलनामा यसपालि डेंगु नियन्त्रणमा आउन गाह्रो भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार सन् २०१० मा ७३९ जनामा, २०१३ मा ३७१ जनामा र २०१६ मा ६८७ जनामा डेंगु संक्रमण भएको थियो । यो वर्ष डेंगु फैलिने मुख्य याम बाँकी नै छ, चितवनमा संक्रमितको संख्या भने १ हजार ८५७ पुगिसकेको छ ।


डेंगु रोग व्यवस्थापनमा लामो अनुभव भए पनि चितवनमा यो वर्ष किन संक्रमण बढ्यो ? जानकारहरूका अनुसार पूर्वतयारीमा नलाग्दा यस्तो अवस्था आएको हो । पहिला तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयको योजनामा डेंगु नियन्त्रणका कार्यक्रम सञ्चालन हुन्थे । अहिले जिल्ला जनस्वास्थ्य कार्यालय खारेज भएको छ । अस्तित्वमा रहेको जिल्ला स्वास्थ्य कार्यालयको भूमिका कटौती भएको छ ।


जनस्वास्थ्य कार्यालय खारेज भएसँगै हरेक स्थानीय तहमा स्वास्थ्य शाखा खडा भए । तिनले जनस्वास्थ्य कार्यालयको जस्तो अभियान चलाउन सक्थे । चितवनमा डेंगुको महामारी फैलिएपछि स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछाने डेंगु रोग नियन्त्रण गर्न भइरहेका कामहरूको अनुगमन गर्न आएका थिए । उनी एक सातासम्म चितवन बसे ।


‘नियन्त्रणका लागि बेलैमा जे काम हुनुपर्थ्यो, त्यो भएन । रोग फैलिएपछि काम सुरु भएको छ, त्यसैले झट्ट नियन्त्रणमा आउन गाह्रो भएको हो,’ लामिछानेले भने । उनी स्थानीय तह बेलैमा सक्रिय हुन नसकेको बताउँछन् । फलस्वरूप टोल विकास संस्था र स्थानीय बासिन्दा जागरुक भएनन् ।


घर–घरमा जागरण नआउँदासम्म डेंगु नियन्त्रणमा गाह्रो हुने उनले बताए । साउन पहिलो सातादेखि डेंगु संक्रमण देखा परेको हो । पहिला भदौ–असोजमा देखा पर्थ्यो । भरतपुरमा मात्रै एक हजार जनामा संक्रमण देखिएको छ ।


महानगरको स्वास्थ्य शाखाका प्रमुख दीपक सुवेदी डेंगुका सन्दर्भमा असारदेखि कार्यक्रम गरेको बताउँछन् । उनले पूर्वतयारी गरे पनि नियन्त्रणमा आउन गाह्रो भएको बताए ।

प्रकाशित : भाद्र ३०, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?