कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शैक्षिकस्तर बढाउन प्रदेशको तत्परता

मकवानपुर — सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुदृढीकरणमा प्रदेश सरकारले तत्परता देखाएको छ । प्रदेशभर रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुदृढीकरणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न योजना अगाडि सारेको छ ।

मन्त्रालयले प्रदेशभरका उत्कृष्ट १३ विद्यालयका शिक्षकबीच अन्तरक्रिया, भौतिक पूर्वाधार विकास, पुस्तकालयको स्थापना, शिक्षक दरबन्दी मिलान तथा विद्यालय खेलकुद गतिविधिलाई अगाडि सारेको हो ।


प्रदेशभरका उत्कृष्ट सामुदायिक विद्यालयहरूको अन्तर–क्रियामा संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक सुध्रे सामुदायिक विद्यालयको शिक्षाको स्तर बढ्दै जाने दाबी गरे । ‘शिक्षक सुध्रिए विद्यालय सुध्रिन्छ । गुणस्तरीय शिक्षा दिइरहेका सामुदायिक विद्यालयले अहिले पनि विद्यार्थीको चाप थेग्न सकिरहेका छैनन्,’ मन्त्री पोखरेलले भने ।


उनले शिक्षकहरू राजनीतिक दलको कमिटीमा बस्दासम्म सामुदायिक विद्यालयको स्तर बढ्न नसक्ने टिप्पणी गरे । ‘अब संघ, प्रदेश र स्थानीय सरकार मिलेर शिक्षाको सबलीकरण वर्षको रूपमा अगाडि बढ्न जरुरी रहेको छ,’ उनले थपे ।


सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्नका लागि ११९ स्थानीय तहमा एक विद्यालय एक नर्स कार्यक्रम लागू गरेको मन्त्रालयले चालू आर्थिक वर्ष ०७६/७७ मा करिब १७ करोड रुपैयाँ शिक्षाको सबलीकरणमा खर्च गरिने प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।


उनका अनुसार शिक्षामा सबलीकरण गर्न मन्त्रालयसँग विभिन्न शीर्षकमा १७ करोड ३० लाख रुपैयाँ रहेको छ । मन्त्रालयले प्रदेशको सामुदायिक विद्यालयको गुणस्तर सुदृढीकरण सबलीकरण अनुदानका लागि मात्रै ११ करोड विनियोजन गरेको छ ।


प्रदेशको पाँचवटा विद्यालयमा ई–लाईब्रेरी सञ्चालनका लागि ३ करोड ३० लाख, आवासीय विद्यालय सञ्चालन तथा व्यवस्थापन गर्न ३ करोड रुपैयाँ र छोरीबुहारी उच्चा शिक्षा छात्रवृत्तिका लागि १ करोड रुपैयाँ छुटयाएको उनले बताए ।

प्रकाशित : भाद्र २९, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?