छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

रासस

चितवन — पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तामाङको मृत्यु भएको हो। यस्तै कालिका नगरपालिका–७ गैँडाखोलामा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो।
प्रहरीका अनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको युपी२१सीएन ३१८८ जी नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना१२प ४९०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करका कारण मोटरसाइकल चालक घाइते तामाङको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै सोही मोटरसाइकलमा सवार राप्ती नगरपालिका–१ का १४ वर्षीय उत्सव श्रेष्ठ घाइते भएका छन्। घाइते श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने अवस्था मध्यम छ।
यस्तै कालिका नगरपालिका–७ गैँडाखोलास्थित भित्री सडकखण्डमा जुटपानीबाट क्लबचोकतर्फ आउँदै गरेको ना३त १३३५ नंको ट्र्याक्टरले विपरीत दिशातर्फ गइरहेको ना४१प ९८४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको मृत्यु भएको हो। श्रेष्ठको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सोही स्थान बस्ने ३० वर्षीय मुकेश पौडेल घाइते भएका छन्।

घाइते पौडेलको अवस्था खतरामुक्त रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवै दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित : भाद्र २९, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

इन्टरको लगातार तेस्रो जित

एएफपी

मिलान — इन्टर मिलानले इटालीको सिरी ए मा १० खेलाडीमा सीमित युडिनेजीलाई शनिबार १–० ले हराएर शीर्ष स्थानमा आफ्नो कब्जा कायम राख्यो ।

यसअघि चोटका कारण च्याम्पियन्स लिगको ठीक अगाडि तीन खेलाडी गुमाएको युभेन्ट्स फियोरेन्टिनाको घरमा गोलरहित बराबरीमा रोकिएको थियो ।

इन्टरको जितमा भने स्टेफानो सेन्सीले निणार्यक गोल गरे । एन्टोनियो कोन्टेको इन्टरले तीन खेलमा हात पारेको यो लगातार तेस्रो जित हो । अर्को महत्वपूर्ण खेलमा नेपोलीले साम्पडोरियामाथि २–० को जित निकाल्यो । त्यसमा ड्रिस मार्टेन्सले दुई गोल गरे । बराबरीले भने युभेन्ट्स सात अंकमै रोकियो ।

प्रकाशित : भाद्र २९, २०७६ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्