कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतिमा शिक्षक : अख्तियारले थाल्यो कारबाही

मकवानपुर — नेपाल कम्युनिस्ट पार्टीको मकवानपुर जिल्ला कमिटी सदस्य बनेका पाँच शिक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही प्रक्रिया सुरु गरेको छ । 

शिक्षा ऐनविपरीत शिक्षकले कार्यकारिणी पदमा नियुक्ति लिएपछि आयोगको हेटौंडा कार्यालयले उनीहरूलाई कारबाहीका लागि शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरलाई पत्र लेखेको हो ।


अख्तियारको पत्र पाएसँगै समन्वय एकाईले हेटौंडा–२ स्थित सिद्धार्थ माविका प्रधानाध्यापक मोहनप्रसाद शर्मा, हेटौंडा–१५ स्थित चुरियामाई माविका प्रधानाध्यापक विष्णु परियार, हेटौंडा–१० स्थित ज्ञानदा माविकी शिक्षक पदमा पौडेल, हेटौंडा–६ स्थित वंशगोपाल माविका शिक्षक तारानाथ खतिवडा र थाहा नगरपालिकास्थित इन्द्रायणी मावि आग्रा मोरियाका शिक्षक कल्याणविक्रम घलानलाई लिखित स्पष्टीकरण मागेको छ ।


उनीहरूले केही दिनअघि एकाईमा लिखित स्पष्टीकरण बुझाएको जिल्ला समन्वय एकाई मकवानपुरका प्रमुख लीलानाथ गौतमले जनाए । ‘हामीले अख्तियारको पत्र पाएसँगै उहाँहरूबाट लिखित स्पष्टीकरण लिएका छौं, अब नेकपाको जिल्ला पार्टी कार्यालयमा पनि जिल्ला सदस्यको नामावली उपलब्ध गराउन पत्र काटेका छौं, नामावली आएपछि स्पष्टीकरण र जिल्ला सदस्यमा रहेको नामावलीसहितको पत्र अख्तियारमा पठाउने छौं,’ गौतमले भने ।


एक सय ४५ जना जिल्ला सदस्यमध्ये नेकपाले ५ जना शिक्षकलाई सदस्यको जिम्मेवारी दिइएको छ । शिक्षा ऐन २०२८, ९ औं संशोधनको दफा १६ ‘ङ’ शिक्षक युनियन, शिक्षक तथा कर्मचारीको पदीय आचारण तथा व्यवस्थाको खण्ड ५ (छ) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षकलाई पदबाट हटाइने व्यवस्था छ ।

प्रकाशित : भाद्र २८, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?