कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१९,९०० ले अनुदान लिए, घर बनाएनन्

लीला श्रेष्ठ

भक्तपुर — भक्तपुरमा निजी आवास पुनर्निर्माणका लागि अनुदान लिएका १९ हजार ८ सय ९७ लाभग्राहीले अझै घर बनाउने सुरसार गरेका छैनन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुर (जीएमएएलआई) का अनुसार २९ हजार १ सय २८ लाभग्राहीमध्ये अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिएर १५ हजार ६ सय ४१ ले पुनर्निर्माण गरेका छैनन् ।


भूकम्पपीडित लाभग्राही सूचीमा परेका ४ हजार २ सय ५६ ले पुनर्निर्माणका लागि अनुदान सम्झौतासमेत गरेका छैनन् । ‘कतिपय लाभग्राहीको अर्को स्थानमा बसोबासयोग्य घर रहेको र केही भत्केकै घरमा बस्ने गरेकाले पुनर्निर्माणमा चासो कम देखिएको छ,’ जीएमएएलआईका सूचना व्यवस्थापन विज्ञ भोजराज भट्टले भने, ‘जग्गासम्बन्धी मुद्दा मामिला, स्वामित्व विवाद तथा पारिवारिक झैझगडाका कारण पुनर्निर्माण प्रभावित भएको पाइएको छ ।’


पुरानो बस्तीमा जग्गाको क्षेत्रफल सानो भई संयुक्त नक्सापास भएका र तला–तलाको लालपुर्जा लिई बसोबास गरेकाले पनि पुनर्निर्माणमा समस्या देखिएको जीएमएएलआई भक्तपुरले जनाएको छ । भूकम्प प्रभावितले तोकिएको मापदण्ड तथा स्वीकृत नक्सा अनुसार घर नबनाएका कारण अनुदानमा समस्या आएको समेत भट्टले बताए ।


प्राधिकरणले २०७६ कात्तिक मसान्तभित्र दोस्रो किस्ता लिइसक्न अनुरोध गरेको छ । लाभग्राहीको सूचीमा परेर पहिलो किस्ता लिई पुनर्निर्माण नगर्नेलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर बनाउन लिएको रकम फिर्ता गर्न अनुरोध गरेको जीएमएएलआई भक्तपुर प्रमुख ध्रुव गैंडाले बताए । हालसम्म भक्तपुरमा १० लाभग्राहीले अनुदानको रकम फिर्ता गरेका छन् ।


४,२५६ लाभग्राही सूचीबाट हटाइने

प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ सम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाउने भएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेलाई पनि लाभग्राहीको सूचीबाट हटाउने जीएमएएलआईले जनाएको छ ।


जीएमएएलआई भक्तपुरका अनुसार अनुदान लाभग्राहीमा परेर पनि जिल्लाका चार नगरपालिकाका ४ हजार २ सय ५६ ले अनुदान सम्झौता गरेका छैनन् । कूल लाभग्राही २९ हजार १ सय २८ मध्ये २४ हजार ८ सय ५९ ले अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेका ९ हजार २ सय २० ले दोस्रो किस्ता र ८ हजार ६ सय ५८ लाभग्राहीले तेस्रो किस्ता लिएको जीएमएएलआई भक्तपुरले जनाएको छ ।


पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यसअघि प्राधिकरणले गरेका निर्णयलाई कार्यान्वयन गर्ने क्रममा समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको नाम लाभग्राहीको सूचीबाट हटाएको जानकारी दिए ।


प्राधिकरणले २०७६ जेठ मसान्तसम्म लाभग्राही सूचीमा समावेश भएकाले अनुदान सम्झौता गर्ने समयसीमा २०७६ असार २१ सम्मलाई तोकेको थियो । यस्तै अनुदान सम्झौता गरेकाले पहिलो किस्ता लिने समयसीमा ०७६ असार मसान्त तोकेको थियो । प्राधिकरणले अनुदान सम्झौता गर्न र पहिलो किस्ता लिन नआएकालाई सुनुवाइको विकल्प दिएको छ, उनीहरूले पर्याप्त कारणसहित स्थानीय निकायमा निवेदन दिन सक्ने छन् र प्राप्त निवेदनको विश्लेषण गरी प्राधिकरणले आवश्यक निर्णय लिने जनाएको छ ।


प्रबलीकरण गरी सुरक्षित रहन आग्रह

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण असुरक्षित भएका घरलाई प्राविधिकको सिफारिस अनुसार प्रबलीकरण (रेक्टोफिटिङ) गरी कम लागतमा पहिलेको भन्दा थप बलियो बनाई सुरक्षित बनाउन आग्रह गरेको छ ।


प्रबलीकरणमा सूचीकृत लाभग्राहीले आ–आफ्नो क्षेत्रमा खटिएका संघसंस्था र प्राविधिकसँग सम्पर्क गरी आफ्नो घरलाई प्रबलीकरण गरी सुरक्षित बनाउन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिहीबार अनुरोध गरे । प्रबलीकरणका लागि लाभग्राहीलाई दुई किस्ता गरी १ लाख रुपैयाँ अनुदानको व्यवस्था गरेको उनले बताए ।


भक्तपुरमा ७ सय २ लाभग्राही प्रबलीकरणको सूचीमा परेका छन् । जसमध्ये ३ सय १८ लाभग्राहीले प्रबलीकरणका लागि पहिलो किस्ताको ५० हजार अनुदान लिइसकेका छन् ।

प्रकाशित : भाद्र २७, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?