छुरा प्रहार गरी वृद्धको हत्या

रासस

धनुषा — धनुषामा आइतबार साँझ धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको  मिथिला विहारी नगरपालिका–९ कटरैत बस्ने ६५ वर्षीय रामवरण शर्माको हत्या गरिएको हो । 

अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तारापट्टी बजारबाट बेलुकी करीब ८ः१५ बजे तरकारी किनेर घर फर्किदै गर्दा मिथिला विहारी नगरपालिका–८ कचुरी सडकखण्डमा मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले शर्माको घाँटीमा छुरा प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थल पुगी प्रकृति मुचुल्का उठाएर मृतकको शव परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल पठाएको छ । शर्मालाई कसले र किन हत्या गरेकोबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

प्रकाशित : भाद्र २३, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

रासस

जुम्ला — तिलागुफा नगरपालिकाका–७ टाकुल्ला कालीकोटस्थित अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन भएको छ । शुक्रबार राति आएको बाढीले कालीकोट खण्डको उक्त राजमार्ग अवरुद्ध भएको थियो ।

आइतबार सडक डिभिजन कार्यालय जुम्ला र कालीकोटबाट आएको जेसिबीले दिनभरि बाटो निर्माण गरेपछि बेलुका ६ बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।

राजमार्ग अवरुद्ध भएपछि शनिबारदेखि अलपत्र परेका यात्रुले खान, बस्न र खानेपानी पाउन निकै गाह्रो भएको यात्रु रमाकान्त न्यौपानेले बताए ।

सडक सञ्चालन भएपछि आइतबार बेलुका यात्रु गन्तव्यस्थलतिर लागेका थिए । शुक्रबार रातिको बाढीले टाकुल्लाको विद्युत्‌गृह, धानबालीमा समेत क्षति पुर्‌याएको स्थानीय लालकौरा शाहीलेबताए । निर्माणाधीन टाकुल्लाको पुलमा पनि क्षति पुगेको छ भने त्यहाँस्थित घर पनि उच्च जोखिममा रहेको छ । उक्त राजमार्ग ३६ घण्टा अवरुद्ध भएको थियो ।

प्रकाशित : भाद्र २३, २०७६ ०९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्